योमरी कथा

योमरी कथा

काशीराम विरस

धान्यपूर्णिमा अर्थात् योमरी पुन्हीको दिन प्रिज्माको स्कुल बिदा थियो । अरू बिदाभन्दा उनका लागि यो बिदा अलि विशेष थियो । किनकि अरू बिदामा नुहाइधुवाइपछिको घुमाइमात्र हुन्थ्यो, अरू खासै हुँदैनथ्यो । तर त्यस दिन घरमा खास पर्व परेको थियो । विशेषतः नेवार समुदायभित्र प्रचलनमा रहेको योमरी पर्व परेको थियो । त्यसै कारण प्रिज्मा त्यस दिन अलि छिटो ब्युँझिइन् ।

हिजै बेलुकी उनको आमाले यसो भन्नु भएको थियो, ‘भोलि बिहान सबेरै उठ्नुपर्छ है, भोलि योमरी पकाउनु पर्छ । भगवान्लाई चढाउनुपर्छ । अहिले छिटो सुत्नु ।’

हुन्छ आमा भन्दै प्रिज्मा चाँडै नै सुतेकी थिइन् ।

भालेको डाँकसँगै प्रिज्मा आमासँगै उठिन् । हातमुख धोइवरी आमालाई भान्छामा योमरी बनाउने काममा उनी सघाउन थालिन् । यसरी सहयोगी भएर छोरीले मद्दत गरेकोमा आमा पनि खुसी हुनुभयो । प्रिज्मा पनि सहयोगी भएर योमरी बनाउन पाएकोमा मनमनै प्रफुलित थिइन् ।

योमरी बनाउँदै गरेको बेला प्रिज्माको मनमा एउटा जिज्ञासा जाग्यो । ‘यो योमरी बनाएर खाने प्रचलन कहिलेदेखि चलेको होला’ भनेर उनको मनमा उत्सुकता जागिरह्यो । योमरी बनाउन नसकुञ्जेलसम्म उनले यसबारेमा सोचिरहिन् । यसरी मनमा उठेको जिज्ञासा मेटाउन उनले आमालाई सोधिन्, ‘आमा ! आमा ! योमरी बनाएर खाने प्रचलन कहिलेदेखि सुरु भएको होला ! आजको दिन नै किन परेको होला !’ आफ्ना मनका उत्सुकता उनले एकैपटक आमालाई पोखिन् ।

‘ए लौ ! यसले त योमरी बनाउँदा बनाउँदै योमरी पर्वको कथा पो खोतल्न थाली । योमरी बनाउँदै अघिदेखि किन टोलाएर बसी भनेको त कुरो यसो पो रहेछ’ भन्दै आमाले योमरी कथा यसरी सुनाउनुभयो, ‘योमरी नयाँ धानको चामलको पीठोबाट बनाइन्छ भन्ने त तिमीलाई थाहा भइहाल्यो । यसभित्र चाकुमा तिल मिसाइएको बाक्लो लेदो राखेको पनि तिमीले देखेकै छौ । यसरी बनाएको योमरी धानको भकारीमा चढाई पूजा गरिन्छ । घरमा अन्नको अभाव कहिल्यै नहोस् भनेर यसो गर्ने चलन छ । भोकमरी नलागोस् भन्ने हिसाबले पनि योमरीले पूजा गर्ने गरिएको जनविश्वास छ । साँझपख गीत गाउँदै योमरी माग्न आउने प्रचलन पनि रहेको छ । यसले सामूहिक सद्भावको भावना फैलाउनसमेत मद्दत पुगेको छ ।’

उनकी आमाले यसको इतिहास कोट्ट्याउँदै अगाडि भन्नुभयो, ‘यसको थालनी राजा नरेन्द्रदेवको पालामा भएको हो । देशमा आएको अनावृष्टिसँग सम्बन्ध रहेको भन्ने जनधारणा पनि छ । साथै यो सम्बन्धमा एउटा किंवदन्ती पनि रहेको छ ।’ योमरीको कथासँग जोडिएको किंवदन्ती सुनाउँदै आमाले फेरि भन्नुभयो, ‘पापञ्जय गाउँका एक दम्पतीले नयाँ धानबाट बनेको पीठोको रोटी योमरी बाँडेका थिए । यो कुराको चाल पाएका धनका राजा कुबेरले पनि आफू दरिद्र भएर भिक्षा माग्न गए । उनीहरूले निकै दया र मायाका साथ कुबेरलाई सम्मानका साथ आदर सत्कार गरे । योदेखि निकै खुसी भएका कुबेरले आफ्नो स्वरूपमा दर्शन दिई धनधान्यले सम्पन्न हुने वरदान दिएका जनविश्वास छ ।’

नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी रहेकोले योमरी भनेको मनपर्ने रोटी भएको पनि आमाले बताउनुभयो । ‘धान्यपूर्णिमा वा योमरी पुन्हीलाई हेमन्त ऋतुको सुरुआत पनि मानिन्छ । आजको दिनबाटै दिन लामो र रात छोटो हुन थाल्छ’ लौ मैले पनि सुनेको योमरीसम्बन्धी कथा यति हो, तिमीलाई कस्तो लाग्यो त भन्दै आमाले भन्नुभयो ।

‘आहा ! कति राम्रो योमरी कथा त । योमरी कथाको सम्बन्ध हाम्रो सांस्कृतिक जीवन पद्धतिसँग पो जोडिएको रहेछ । यसको बारेमा म आफ्ना साथीहरूलाई भोलि सुनाउँछु । अनि भोलिको टिफिन पनि योमरी नै लिएर जान्छु नि हुन्न आमा !’, प्रिज्माले भनिन् ।

छोरीको कुरामा स्वीकृति जनाउँदै आमाले पनि टाउको हल्लाउनु भयो ।

भोलिपल्ट प्रिज्मा खुसी हुँदै विद्यालय गइन् । त्यस दिन उनले आफ्नो खाजा पनि योमरी लगिन् । सबै साथीहरूलाई योमरी बाँडेर खाने बेलामा उनले यसको कथा पनि सुनाइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.