निर्णय पर्खाइमा बुटवल धागो
रूपन्देही : बुटवल धागो कारखानालाई लिजमा चलाउन दिने प्रस्ताव गरिएको छ। निजी क्षेत्रलाई लिजमा चलाउन दिने प्रस्तावसहितको फाइल गत असोज महिनामै मन्त्रिपरिषद्मा पुगेको हो। तर, मन्त्रिपरिषद् बैठकबाट अहिलेसम्म कुनै निर्णय भएको छैन।
‘लिजमा सञ्चालन गर्न दिने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव गएको धेरै भइसक्यो’, उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले भने, ‘निर्णय केही आएको छैन। हामी प्रतिक्षामा छौं।’ लिजमा दिँदा कारखाना पुनः सञ्चालन गर्ने वा भवनलाई अरु प्रायोजनमा प्रयोग गर्ने दुवै विकल्प खुला राखिएको धागो कारखानाका अध्यक्षसमेत रहेका सिटौलाले बताए। मन्त्रिपरिषद्को निर्णय आएपछि मात्रै थप प्रक्रिया सुरु हुने सिटौलाको भनाइ छ।
बुटवल औद्योगिक क्षेत्रको पूर्वपट्टि १२ वर्षदेखि बुटवल धागो कारखाना अलपत्र अवस्थामा छ। २०६४ सालबाट कारखाना पूर्णरूपमा बन्द छ। अध्यारो भवनभित्र करोडौंका मेसिन जीर्ण र बेवारिसे छन्। बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले सरकारले धागो कारखानाबारे छिटो टुंगो लगाउनुपर्ने बताए। ‘लामो समय भयो। गफ मात्र सुनिन्छ। त्यतिका जग्गा र भवन छ’, उनले भने, ‘यहाँ उद्योग गर्न चाहनेले जग्गा पाएका छैनन्। एउटा निर्णय गरेर कि चलाए हुन्थ्यो कि सधैंका लागि बन्द गरे हुन्थ्यो।’ श्रेष्ठले सरकारले निर्णय गरेर दिएमा निजी क्षेत्र चलाउन तयार रहेको बताए। तर, काराखाना सञ्चालन हुन आधुनिक मेसिन आवश्यक पर्ने उनले बताए।
अन्य उद्योग चलिरहँदा धागो कारखानासमेत निजी क्षेत्रले चलाउन सक्ने उद्योगीहरू बताउँछन्। उद्योग चलाउन हाल भएको मेसिन भने उपयोगी हुँदैनन्। नयाँ प्रविधिका मेसिन आवश्यक हुने उनीहरूको भनाइ छ। सरकारले उचित निर्णय गरेमा बुटवलका व्यावसायिक संस्था तथा समूह धागो कारखाना चलाउन तयार रहेको श्रेष्ठले बताए।
२०३९ सालमा स्थापना भएको बुटवल धागो कारखानाले २०४८ सालबाट व्यावसायिक रूपमा धागो उत्पादन सुरु गरेको थियो। घाटामा गएपछि कारखाना संकटमा परेको हो। २०६६ सालमा धागो कारखानाका साढे ४ सय कर्मचारीलाई उनीहरूले पाउने भुक्तानी दिएर विदा गरिएको थियो। १ सय ४४ रोपनी जग्गा र कारखानाको भवन अहिले प्रयोगविहीन जस्तै छ।
धागो कारखाना अवलोकन गर्न थुप्रै उद्योगमन्त्री आए। तर, ठोस निर्णय हुन सकेको छैन। कारखानाका मेसिन वर्षौं पुराना र जीर्ण भइसकेका छन्। मेसिन थपेर कारखाना चल्न सक्ने तर लागत बढी लाग्ने बुटवल धागो कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा बताउँछन्। ‘यथास्थितिमा चल्दैन केही पुराना र बाँकी नयाँ मेसिन थपेर चलाउन सकिन्छ’, उनले भने। बुटवल धागो कारखानामा ६० प्रतिशत सरकारको लगानी छ। ८ प्रतिशत सर्वसाधारणको पनि सेयर छ। बाँकी साल्ट ट्रेडिङ, खेतान समूहलगायतको लगानी छ।
प्रतिक्रिया दिनुहोस !