नेपाली गजलमा ‘जुँगाको लडाइँ’

नेपाली गजलमा ‘जुँगाको लडाइँ’

काठमाडौं : ‘गजलको भित्री र बाहिरी स्वरूप हुन्छ। बाहिरी धेरै आएका छन् भित्री कम। भित्री रूपको झगडा गर्नुपर्छ, दिमागलाई झंकृत गर्ने हुनुपर्छ’, गजलको अवस्था कस्तो हुनुपर्छ भन्ने प्रश्नमा करुण थापा भन्दै थिए, ‘दिललाई हान्ने गजल पनि हुन्छ। एक समूह दिललाई हान्ने लेख्छन् अर्को दिमागलाई। दुवैलाई समेटेर लेखिनुपर्छ। विवाद संरचनामा हो।’

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय युवा परिषद्को सहकार्यमा पहिलोपटक आयोजना गरेको राष्ट्रिय गजल महोत्सव २०७६ मा पुरानो र नयाँ पुस्ताका गजलकारबीच गरमागरम बहस भए। मोतीराम भट्टदेखि सुरु भएको नेपाली गजल बीचमा हराएपछि ज्ञानुवाकर पौडेलले २०३५ सालमा प्रकाशित गरेपछि पुनः लेखनले स्थान लिन थालेको थियो। गजल नेपालबाहिर बढी पढिने विधा हो। ‘गजलमा विवाद होइन, विमर्श गरौं। लयचेतनाबाट विमुख छौं’, ललिजन रावलले भने, ‘लयबिना गजल हुँदैन। युवा यसमा पछाडि छ। यो भएमात्र एक तह माथि उठ्छ।’

प्रणयरागबाट सुरु भएको नेपाली गजल पछिल्लो समय समाज र जनजीवनसँग घुलमिल हुँदैछ। सामान्य मानिससँग पनि नजिकिँदैछ। ‘फल पाकेर देखिन बाँकी छ बोट भने हुर्किरहेको छ’, आवाज शर्माले भने, ‘तर जुँगाको लडाइँ छ। कम ज्ञान हुनु पनि दुर्बल पक्ष हो। कम ज्ञान भएर हो विवाद बढेको।’ नेपाली गजल लेखनमा बहर र बिनाबहर गजल लेख्ने दुई पक्ष भएपछि विवाद बढेको हो। ‘गजल लेखनमा बहर र गैरबहर भनेर लेखकबीच विभाजन नगरौं। अब संरचनाबाट माथि उठ्नुुपर्छ’, थापाले भने। ज्ञानुवाकर पौडेलले विवाद उठाउँदा चाँडै चर्चित भइने लोभले विवाद गरेको हुन सक्ने तर्क राखे। उनले थपे, ‘केही गर्न नजान्नेले हो विवाद उठाउने। हामीले खोजेको विवादले होइन विमर्शले पाइन्छ। तर्कका लागि तर्क नगरौं।’

२०२२ सालदेखि कविता महोत्सव गर्दै आएको प्रज्ञाले यसपटक गजललाई स्थान दिएपछि गजलकारले आफ्नो विधाले राष्ट्रिय मान्यता पाएकोमा खुसी व्यक्त गरेका छन्। आवाजले थपे, ‘लोकप्रिय भइरहेको छ। एउटा तहमा पुगिसक्नुपर्ने हो तर छैन। बहर वा बिनाबहरको पाटो लिएर आकर्षित हुनेहरू छन्। सबै मिलेर जानुपर्छ।’ महोत्सवको अन्तिम दिन बिहीबारको ‘आजको गजल लेखन : चुनौती र दिशा’ परिसंवादमा प्रभाती किरणले सोधे, ‘गजलमा विवाद छ ? ’ डा. साधना प्रतीक्षाले भनिन्, ‘पापी हुनुभन्दा कहलाउने काम भएको छ। विवाद देखिनुको कारण जे भए पनि अनुसन्धान गर्नेहरू एउटा टेबुलमा बसे टुंगिन्छ।’

ललिजनले विवाद आपसमै बढेको बताउँदै गजल गजलजस्तै हुनुपर्नेमा जोड दिए। ‘सौन्दर्य शास्त्रका आधारमा लेखौं, अतीततिर नजाऔं। लय भनेकै बहर हो। गजल गद्यमा हुँदैन, त्यति भए गजलमा विवादै छैन’, उनले तर्क गरे। ज्ञानुवाकरले कवित्व नहुने हो भने गजल डमी हुने बताए। भारतमा गजल सुनाउँदा बहर अनिवार्य रहेको परिसंवादमा जानकारी दिइयो। त्यहाँ शेरलाई गजल बनाउने लय, मिजाज र अनुप्रास विधान गरी तीन कुरा भएको पनि बताइयो।

गद्यमा गजल नहुने तर्क आए। करुणले नजानेका कुरा सिक्ने तर लेख्नेको आलोचना नगर्ने हो भने विवाद नहुने बताए। आफ्ना कमजोरी हटाए समाधान हुने ललिजनको भनाइ छ। डा. नेत्र एटमले विवादले नभई विमर्शले समाधान भेटिने र गजलको गन्तव्य भेटिने तर्क गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.