कोरोना भाइरसबाट जोगिन हेल्थ डेस्क
राजविराज : सप्तरीमा कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सिमानाकामा हेल्थ डेस्क स्थापना गरी शनिबारदेखि पर्यटकको स्वास्थ्य चेकजाँच गर्न थालिएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीको परिपत्रअनुसार स्थानीय सरकारले राजविराज विमानस्थल तथा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–१ बेल्ही भन्सारस्थित हेल्थ डेस्क परामर्श स्वास्थ्य सेवा स्थापना गरिएको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताएको छ ।
डेस्कमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म स्वास्थ्य जाँच गरिने तथा कोरोनाको लक्षण देखिने व्यक्तिलाई तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तिलाठी कोइलाडी गाउँपालिका स्वास्थ्य संयोजक शैलेश साहले अन्नपुर्णलाई जानकारी गराएका छन्।
बेल्ही नाका भएर दैनिक ५ सय भारतीय आउने गरेका छन् भने राजविराज विमास्थलबाट आउने पर्यटकलाईसमेत परीक्षण गरेर जिल्लामा प्रवेश गराउने उद्देश्यकासाथ हेल्थ हेस्क स्थापना गरिएको जनाएको छ ।