नगरस्तरीय खेलकुदमा न्यु वेष्ट पोइन्ट च्याम्पीयन

बेनी : बेनी नगरपालिकाले आयोजना गरेको नगरस्तरीय अन्तर माध्यमिक छात्र/छात्रा दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावि च्याम्पीयन भएको छ।
२१ वटा स्वर्ण, ९ वटा रजत र ११ वटा कास्य पदक जितेको वेष्ट पोइन्टले रनिङ्ग शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पचास हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । १६ वटा स्वर्ण, १३ वटा रजत र १० वटा कास्य पदक जितेको माउन्ट एभरेष्ट आवासीय मावि उपबिजेता भएको छ ।
तीन वटा स्वर्ण र एक वटा कास्य पदक जितेको कालीपुलको बालमन्दिर आधारभूत विद्यालय तेस्रो भएको छ । दृतीय र तृतीय हुने विद्यालयले ट्रफि, मेडल र प्रमाणपत्र सहित ३५ हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । गत वर्ष माउन्ट प्रथम र वेष्ट पोइन्ट दोस्रो भएका थिए ।
वेष्ट पोइन्टको जितमा आयुसा केसी एक्लैले चार वटा स्वर्ण पदक दिलाएकी थिइन् । केसीले त्रिपल जम्प, १०० मिटर दौड, हाइजम्प र १०० गुणा ४ को रिले दौडमा स्वर्ण पदक जितेकी हुन् । केसी समग्रमा सर्वोकृष्ट र एथलेटिक्स तर्फ उत्कृष्ट खेलाडी हुदै छ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।
कवड्डीमा वेष्ट पोइन्टका डिप्सन बुढा र भलिबलमा माउन्टकी दिक्षा पाइजाले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उत्कृष्ट खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, नगर प्रमुख हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नगर कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, वडाध्यक्षहरु राजेन्द्र श्रेष्ठ, बेलबहादुर कटुवाल, हिराबहादुर थापा, प्रहरी निरीक्षक डाक्टर चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए।
तीन दिनसम्म चलेको प्रतियोगितामा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आर्ट बिधाका कराते र तेक्वान्दो खेलहरु सञ्चालन भएको थियो । राष्ट्रिय खेलाडी अरुणा शाही, कमला पुन, तारादेवी पुन र बिन्दु पुनलाई नगरपालिकाले नगद पन्ध्र हजार रुपैयाँ सहित पुरस्कृत गरेको थियो।
बिजयी खेलाडीहरुलाई छनौट गरेर फागुन ७ र ८ गते बेनीमा हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने नगरपालिकाले जनाएको छ । प्रतियोगितामा २४ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस !
