धेरै परीक्षापछि मात्रै पास भइने परीक्षा
बुटवल : परीक्षाको मिति नजिकिएपछि विद्यार्थी खुबै ध्यान दिएर पढ्न थाल्छन्। विषयअनुसार रट्ने र अभ्यासमार्फत पढाइ गर्छन्। पछिल्लो समय मानवजस्तै रोबर्ट र वैज्ञानिक उपकरण आविष्कार गर्ने विद्यार्थी बढेका छन्। यस्ता उपकरण निर्माण भने अन्य विषयको परीक्षा दिएजस्तो होइन। न रटेर बनाउन सकिन्छ, न त अभ्यासमात्रै गरेर।
बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालयका विज्ञान शिक्षक अरविन्द दुवे भन्छन्, ‘विज्ञानसम्बन्धी उपकरण निर्माणका लागि क्रियटिभ हुनैपर्छ। थ्योरी पढ्ने वा कक्षा नै टप गर्नेले रोबर्टजस्ता उपकरण बनाउन सक्छन् भन्ने हँुदैन।’
रोबर्ट आविष्कारका लागि दैनिक सिकाइ र दैनिक परीक्षा हुन्छ। निर्माण गरिरहेको उपकरणले लक्ष्य अनुरूप काम गर्छ कि गर्दैन भन्ने छिनभरमै थाहा हुन्छ। काम गर्यो भने अघिल्लो प्रक्रिया सुरु हुन्छ। नभए फेरि पुरानै सुधार्दै अघि बढ्नुपर्छ। विज्ञान शिक्षक दुवे भन्छन्, ‘विश्लेषणात्मक क्षमता हुनेहरूले मात्रै रोबर्टको निर्माण गर्न सक्छन्।’
रोबर्ट बनाउनका लागि ‘प्रोगामिङ ल्याङवेज’को जानकारी हुनुपर्छ। उपकरणलाई ‘एसेम्बल’ गर्नु अर्काे महर्वपूर्ण काम हो। ‘फिजिकल डिभाइस’, मटर, तार, विद्युत् सबैको बारेमा उत्तिकै ज्ञान हुनु आवश्यक हुन्छ।
रोबर्ट निर्माणका लागि ‘कन्सेप्ट’ अर्को महर्वपूर्ण कुरा हो। त्यसलाई विश्लेषण गरेर कसरी काम गर्न सकिन्छ भन्ने निक्र्योल गर्नुपर्छ। यी सबै तयारीपछि उपकरण जोडजाड गरेर कम्तीमा तीन महिनामा एउटा रोबर्ट तयार हुन्छ। त्यसको प्रयोग गरेपछि मात्रै सफल भयो भएन निक्र्योल हुन्छ। एकै पटकमा यस्ता आविष्कार विरलै तयार हुन्छन्।
‘हामीले त एक वर्ष लगाएर बल्ल रोबर्ट तयार पारेका हौं’, बुटवलका रोबर्ट आविष्कारक कपिल लम्सालले भने। उनका दुई भाइले ‘एरिजा’ नामक रोबर्ट तयार पारेका छन्। जुन रोबर्टले बुटवलमा हालै भएको विज्ञान प्रदर्शनीमा द्वितीय स्थान प्राप्त गरेको थियो। कालिका मानव ज्ञानमा कक्षा १२ मा पढ्ने कपिल र उनका भाइ ९ कक्षामा अध्ययनरत विशालले एरिजा तयार पारेका हुन्।
रोबर्ट निर्माणका लागि कुन डिभाइसलाई कसरी प्रयोग गर्दा के काम गर्छ भन्ने विश्लेषण गर्ने क्षमता विद्यार्थीमा हुनुपर्छ। त्यसका लागि प्रोगामिङको सामान्य ज्ञान हुनैपर्छ। ‘शिक्षकसँग छलफल गर्दै, इन्टरनेटमा अध्ययन गर्दै रोबर्ट तयार पारेका हौं’, कपिल भन्छन्।
विज्ञान प्रदर्शनीमा पहिलो भएको थियो, एन्टी रेप डिभाइस्। त्यो डिभाइसको सोच कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनापछि गरिएको हो। एउटा बुद्धिले मात्रै त्यो सम्भव भएको थिएन। कालिका मानव ज्ञानमा अध्ययन गर्ने पाँच जना विद्यार्थीको सोचबाट डिभाइस बन्यो। यो नेपालमै पहिलो पटक आविष्कार गरिएको डिभाइस हो।
यसमा मोबाइलको सिमबाट सन्देश पठाउने उपकरण जोडिएको छ। घडीमा जडान हुने यो डिभाइसले दुर्घटनाको जोखिम नियन्त्रण गर्छ भन्ने योजनासहित बनाइएको हो। हामीले लगाउने सामान्य घडीमा ट्रान्समिसन हुन्छ, अनि बाकसभित्र रिसिभर राखिएको छ। त्यो बाकसलाई प्रहरी चौकी वा अभिभावकको घरमा राखिन्छ। घडीमा रहेको बटन थिचेपछि बाकसमा आर्लम घण्टी बज्छ, अनि सन्देश पनि पठाउँछ।
कक्षा १२ मा अध्ययनरत लक्ष्मण पौडेल, साजन पौडेल, सुरज बस्याल, निश्चल न्यौपाने, रितेश काफ्ले, शिशिर तिमिल्सेना, नुमप्रसाद भट्टराई, अनिश न्यौपानेले डिभाइस र करेसाबारीमा हिँड्ने गाडी आविष्कार गरेका हुन्।
यो डिभाइस बनाउन उनीहरूले धेरै मेहनत गर्नु पर्यो। आविष्कार गर्नेमध्येका विद्यार्थी लक्ष्मण पौडेलले भने, ‘म्यासेज कसरी पठाउन सकिन्छ, अर्लाम कसरी बज्छ भन्ने विषयमा धेरै अध्ययन र अभ्यास गर्यौं। गुरुहरूको सहयोगमा अन्ततः डिभाइस बन्यो।’ यो डिभाइस बनाएपछि सयौं सन्देशहरू मोबाइलमा पठाएर परीक्षण गरिएको थियो।
पानीबाट गाडीको मटर चलाउने उपकरण बनाएका बुटवलका इन्जिनियर शिशिर जीसी भन्छन्, ‘नियमित अभ्यास र परीक्षणले नै आविष्कारलाई वैधता दिन्छ।’ उनले आफैंले बनाएको डिभाइसलाई तीन वर्ष परीक्षण गरेका थिए। आविष्कारमा कैयौं परीक्षाहरू असफल हुन्छन्। तर पास नहुँदासम्म परीक्षण र प्रयोग जारी राखेमात्रै सफल हुन सकिन्छ।
एन्टिरेप उपकरण बनाएका पाँच विद्यार्थी अहिले उत्कृष्ट काम गर्नेमध्येमा कहलिएका छन्। उनीहरूको मेहनत र लगनले नै यो सफल भएको हो।
बुटवलमा रोबर्ट निर्माणको थालनी गरेका जुम्ल्याहा दाजुभाइ लवकुश पन्थीले दुईवटा रोबर्ट बनाएका छन्। बुटवलकै नवीन औद्योगिकबाट एसईई पास गरेका उनीहरूले कक्षा ९ र १० पढ्दापढ्दै रोबर्ट तयार पारे। ‘लवकुश मार्स’ नामक रोबर्टले प्रश्नोत्तर गर्न सक्छ, त्यो पनि नेपाली भाषामा।
यो रोबर्ट मानिसजस्तै वरपर हिँड्न सक्छ। एक सेकेन्डमा दुई मिटर दूरी पार गर्ने रोबर्टमा ‘रेस्पियन लिनिक्स अपरेटिङ सिस्टम’ जोडिएको छ। यसलाई इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल फेसबुक, ट्विटर, रेडियोसहित नौ वटा सञ्जालमा जोटिएको छ। जसले सामाजिक सञ्जालमा स्टाटस, फोटो, भिडियो अपलोडसमेत गर्न सक्छ। उनीहरूले यो रोबर्ट बनाउन करिब पाँच लाख खर्च गरेका छन्। ‘नियमित काम गरेपछि मात्रै रोबर्ट तयार भएको हो’, कुश पन्थीले भने। रोबर्ट बनाएका दाजुभाइले मन्त्रालय, नगरपालिकाबाट आविष्कारका रूपमा पुरस्कारसमेत पाएका छन्।
बालबालिकाको आविष्कारलाई मूर्तरूप दिन अभिभावक र शिक्षकहरूको महर्वपूर्ण भूमिका हुन्छ। रोबर्टलगायतका उपकरण निर्माण खर्चिला हुन्छन्। खर्चिला भए पनि यसले बौद्धिक क्षमतामा बृद्धि हुन्छ। बालबालिका तृक्ष्ण र रचनात्मक हुन्छन्। अभिभावकले सामग्री जुटाउनमा आर्थिक सहयोग र हौसला दिनु आवश्यक छ। शिक्षकहरूले पनि अवरोध हटाउन सिकाउने र सिक्ने माध्यमहरू पहिल्याई दिनुपर्छ।
विज्ञान शिक्षक दुवे भन्छन्, ‘शिक्षकहरूले प्रोत्साहन गर्ने हो भने विद्यार्थीले महर्वपूर्ण आविष्कार गर्न सक्छन्, जुन देशकै लागि उपयोगी हुन्छ।’
एरिसा रोबर्ट निर्माण गर्ने कपिल र विशालकी आमा रीता लम्सालले उनीहरूलाई पढ्न र रोबर्ट बनाउनका लागि सधैं सहयोग गरिन्। ‘हामीले केके सामान चाहिन्छ किनेर ल्याइदियौं, खुसी हँुदै रोबर्ट बनाए’ उनले भनिन्, ‘रोबर्टले हामीलाई पनि खुसी बनाएको छ।’
सैद्धान्तिक विषयमा कमजोर हुनेहरू पनि विज्ञानसम्बन्धी आविष्कारमा अब्बल हुने गरेको उदाहरण प्रशस्तै छन्। विज्ञानका नयाँ आविष्कार गर्ने विद्यार्थी पनि विद्यालय शिक्षाको अन्तिम परीक्षामा मध्यम स्तरकै हुन्छन्। तर उपकरण निर्माणमा भने उनीहरू विद्यालय प्रथम हुने विद्यार्थीभन्दा अब्बल देखिएका छन्।