परीक्षाको समयमा खानपानको ख्याल
भाइबहिनी हो, परीक्षा नजिकै आइरहेको बेला तिमीहरूले खानपानमा कत्तिको ध्यान दिने गरेका छौ ? एकै ठाउँमा बसेर पढिरहनु पर्दा अल्छी लाग्छ होला हैन ? परीक्षाको बेला मनमनै डर लागिरहेको हुन्छ।
यस्तो बेलामा दिमाग एकचित्त नहुन सक्छ। बाहिर कताकता दिमाग जान सक्छ। त्यसैले दिमागलाई एकाग्र बनाउनु पर्छ। एकाग्र मस्तिष्क भएको बेला पढ्यो भने छिटो बुझिन्छ। पछिसम्म पनि सम्झन सकिन्छ। खानपान अस्वस्थ भए झन् झाडापखाला, टाइफाइड हुन सक्छ।
पढाइमा मात्र ध्यान दिँदा समयमा खाना नखाने कसैकसैको बानी हुन्छ। यस्तो बानी राम्रो होइन। यसले ग्यासट्राइटिस निम्त्याउने सम्भावना हुन्छ। परीक्षाको बेला स्वस्थतासँगै शरीरलाई चुस्त बनाइराख्नु पर्छ। त्यसैले खानपानमा ध्यान दिनु पर्छ।
डायटिसियन रश्मी बजिमय श्रेष्ठका अनुसार स्कुलका विद्यार्थीको बौद्धिक र शारीरिक विकास भइरहेको हुन्छ। टिनएजका विद्यार्थीको मांसपेशी बलियो गराउने समय पनि यही हो। त्यसैले सन्तुलित आहार खानुपर्छ। परीक्षाको बेला त खानपानमा अनुपात मिलाएर खानुपर्ने डायटिसियन बजिमयको सुझाव छ।
पोषकतर्वले शरीरलाई शक्ति दिन्छ। रोगविरुद्ध लड्ने क्षमता बढाउँछ।
परीक्षा नजिकै आइरहेको छ भने पढ्ने ठाउँ र खानपानको विशेष ख्याल गर्नुपर्छ। लगातार एकै ठाउँमा बसेर पढिरहँदा अल्छी लाग्न सक्छ। त्यसैले बेलाबेलामा बसाइको पोजिसन फेर्नुपर्छ। लगातार चारदेखि ६ घण्टा पढिरहँदा मस्तिष्कको लागि पनि पोषणतर्व उपलब्ध भइरहनु पर्छ।
डायटिसियन बजिमयका अनुसार मस्तिष्कमा एकाग्रता ल्याउनुपर्ने भएकोले प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ। अन्डा, दूध, दही, पनिर, माछामासु खानु पर्ने सुझाव बजिमयको छ। शाकाहारी बालबालिकाको लागि दूध र दूधबाट बनेका परिकार खुवाउन सकिन्छ। तोफु, गेडागुडी खुवाउदा राम्रो हुन्छ।
पढ्ने बेला कतिपय बालबालिकाको गुलियो वा चकलेट खाने बानी हुन्छ। चकलेट खाँदा छिट्टै शक्ति पाइन्छ। तर, चकलेटले दिने शक्तिले उतारचढाव ल्याउँछ। एकाग्रता भंग गराउन सक्छ।
गुलियो खाद्य पदार्थबाट कार्बाेहाइड्रेट पाइन्छ। त्यसका लागि ब्राउन राइस ( नफलेको खैरो चामल), मकै, गहुँ, जौंको सातु, ओट्स खाँदा बढी लाभ हुन्छ। यी पदार्थबाट चिनीको मात्रा विस्तारै शरीरले प्राप्त गरिरहन्छ। रगतमा पनि चिनीको मात्रा सन्तुलित हुन पुग्छ। मस्तिष्कमा पनि आवश्यक इनर्जी परिपÒर्ति हुन्छ।
तरकारी एवं फलफूल नखाने विद्यार्थीको शरीरमा रगतको मात्रा कमी हुन सक्छ। त्यस्ता विद्यार्थीलाई रक्तअल्पता (एनिमिया) हुन सक्ने डायटिसियन बजिमयको भनाइ छ। किशोरीहरूमा रजस्वला भइरहेको हुन्छ। रजस्वला भएको बेला शरीरमा रगतको मात्रा कमी हुन पुग्छ। रगत बगेर जाने हुँदा खानपानमा सजग हुनुपर्छ। रगत बन्न सहयोग गर्ने आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ।
आइरनयुक्त खाद्यपदार्थ नखाने हो भने रक्तअल्पता हुन सक्छ। आइरनयुक्त खाद्यपदार्थ नखाने हो भने रगतमा आइरनको मात्रामा कमी हुन पुग्छ। शरीरमा अक्सिजको मात्रा पनि कम हुन पुग्छ। यस्तो बेला थकाइ लाग्ने, भर्याङ चढ्दा वा उकालो हिँड्दा स्वाँ स्वाँ भई खुट्टा गल्ने हुन्छ। एकाग्रता पनि हुन पाउँदैन।
के खाने ?
शरीरलाई कार्वोहाइड्रेट, प्रोटिन, भिटामिन, खनिज पदार्थ र चिल्लो पदार्थ आवश्यक पर्छ। यी पोषकतर्व भएका खाद्यपदार्थ सन्तुलित ढंगले खानुपर्छ। माछामासुबाट फोलिक एसिड र आइरन पाइन्छ। त्यसैले सन्तुलन मिलाएर खानुपर्छ।
शरीरमा क्याल्सियमको मात्रा कमी हुन सक्छ। त्यसैले भिटामिनयुक्त दुग्धजन्य परिकार खानुपर्छ। शरीरमा चिल्लो पदार्थको मात्रा परिपूर्ति गर्न वनस्पति तेल, सÒर्यमुखी तेल, भटमासको तेलमा खाद्यपदार्थ बनाउन सकिन्छ। डायटिसियन बजिमयका अनुसार खानेकुरा बनाउँदा हप्ताअनुसार, तेल फेर्नुपर्छ। थरीथरीका तेलमा पकाएको खाद्यपदार्थ खानुपर्छ।
तुलसीको पात र पुदिनाको पात सफा पानीले पखालेर केही पानी सेवन गर्न सकिन्छ। त्यस्तै कागती हालेको पानी खाने हो भने भीटामिन सीको मात्रा पाउन सकिन्छ। अमला पनि खान सकिन्छ। पानीमा ज्वानो मिसाएर पिउँदा क्याल्सियमको मात्रा परिपूर्ति हुन्छ।
के खाने ?
– पर्याप्त पानी पिउने
- दूध, दही, चिज, माछा, अन्डा, मासु, कलेजो।
- दाल, सिमी, बदाम, केराउ, भटमास।
- गहुँ, मकै, धान, कोदो, फापर, आलु, मह, सखरखण्ड।
- हरियो सागसब्जी, सिजनअनुसारको तरकारी, टुसा उम्रेको गेडागुडी, फलफूल
- तेल, नौनी, घिउ, बोसो
- चिनी, सक्खर, मिठाई, गुड (भेली)
- सलाद, फलफूलको जुस
के नखाने ?
- जंकफुड एवं प्याकेटमा बन्द पदार्थ
- धेरै चिल्लो र अमिलो खानेकुरा
- पकौडा, समोसालगायत सडकमा पकाएका खाद्य पदार्थ
– चिसो पेय पदार्थहरू
– तारेका र भुटेका खानेकुरा