अंग्रेजी ठूलो कि सिकाइ

अंग्रेजी ठूलो कि सिकाइ

धेरै अभिभावकको बुझाइ हुन्छ, नानीबाबुले अंग्रेजी बोल्न जान्यो भने उसले स्कुलमा राम्रो पढेको छ। परिवारका सदस्यसँग होस् वा साथीभाइ र स्कुलका शिक्षक कर्मचारीसँग, खरर्र अंग्रेजी बोलेको देख्यो भने अभिभावकको खुसीको सीमा रहँदैन।

अहिले बालबालिकाको सिकाइ उपलब्धिलाई अंग्रेजी भाषासँग तुलना गर्नेहरू प्रशस्तै छन् बजारमा। पछिल्लो समय कतिपय स्कुलले त अंग्रेजी माध्यमको पढाइलाई विद्यार्थी आकर्षण गर्ने मुख्य अस्त्रको रूपमा समेत प्रस्तुत गरिरहेका छन्। तर वास्तविकता भने योभन्दा फरक छ। अर्थात् अंग्रेजीमोहका नाममा अभिभावक तथा स्कुलले बालबालिकाको सिकाइबारे गलत बुझिरहेका छन्। अंग्रेजी बोल्न जान्नु नै सिकाइ उपलब्धि हो भन्ने आमबुझाइलाई विभिन्न अध्ययनले भने अस्वीकार गरिदिएको छ।

अध्ययनअनुसार घरमा बोलिने भाषामा पढेका बालबालिकाको पढाइको उपलब्धि अन्य भाषामा पढ्नेको भन्दा उच्च हुने गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले विभिन्न समयमा गरेको अध्ययन प्रतिवेदनले यसलाई प्रमाणित गरिदिएको छ।

ईआरओले गरेको अध्ययनमा नेपाली मातृभाषा भएका बालबालिकाको औसत सिकाइ उपलब्धि अन्य मातृभाषा भएका बालबालिकाको भन्दा उच्च देखिएको छ। नेपाली विषयमा कक्षा ३ र ५ मा नेपाली मातृभाषी बालबालिकाको सिकाइ उपलब्धि अन्यको भन्दा क्रमशः ९ र ७ प्रतिशतले उच्च रहेको प्रतिवेदनले देखाएको छ। गणितमा नेपाली मातृभाषीको सिकाइ उपलब्धि स्तर अन्य भाषाको तुलनामा कक्षा ३ मा तीन र कक्षा ५ मा चार प्रतिशतले उच्च छ।

कक्षा ५ को अंग्रेजी विषयमा पनि नेपाली मातृभाषा भएका बालबालिकाको औसत सिकाइ उपलब्धि अन्यभन्दा १० प्रतिशतले उच्च छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)ले गत वर्ष सार्वजनिक गरेको ‘ग्लोबल एजुकेसन मनिटरिङ रिपोर्ट २०१८’मा पनि मातृभाषामा पढेका विद्यार्थीको सिकाइ उपलब्धि राम्रो रहेको उल्लेख छ। तर थुपै्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनले अंग्रेजी राम्रोसँग जान्ने हुँदैमा समग्र पढाइ राम्रो नहुने उल्लेख गरे पनि नेपालमा भने अंग्रेजी माध्यमलाई मात्र गुणस्तरीय शिक्षाको मानक बनाइएको शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइराला बताउँछन्।

सरकारी तथ्यांकअनुसार अहिले मुलुकमा एक सय २३ वटा भाषा बोल्ने समुदायको बसोबास छ। ईआरओले नै २०६९ सालमा कक्षा ३ र ५ का विद्यार्थीमा गरेको अध्ययनमा पनि सिकाइ उपलब्धि उकास्न मातृभाषा र घरमा बोलिने भाषाले मुख्य भूमिका खेलेको देखिएको थियो। यस अध्ययनअनुसार सामुदायिक विद्यालयमा अन्य मातृभाषा बोल्नेभन्दा कक्षा ३ को नेपाली विषयमा मगर, लिम्बू, नेपाली, तामाङ र कक्षा ५ को नेपालीमा मगर, तामाङ, उर्दु, शेर्पा, राई र नेपाली मातृभाषा भएका विद्यार्थीको उपलब्धि स्तर तुलनात्मक रूपमा राम्रो देखिएको थियो।

अहिले धेरैजसो अभिभावकका लागि आफ्ना नानीबाबु विद्यालय भर्ना गर्नुअघि सम्बन्धित विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ कि हुँदैन भन्ने विषयमा मुख्य चासो रहने गरेको छ। अंग्रेजीकै कारण निजी तथा संस्थागत विद्यालयमा विद्यार्थी आकर्षण रहेको विश्लेषण गरेर सामुदायिक विद्यालयले पनि विद्यार्थीसँग थप शुल्क लिएरै भए पनि अंग्रेजी माध्यमको पठनपाठनलाई अनिवार्य बनाएका छन्।

कतिपय सरकारी तथा निजी स्कुलमा विद्यार्थीको क्षमता हेरेर नेपाली माध्यम र अंग्रेजी माध्यममा पढाइने विद्यार्थीलाई छुट्टाछुट्टै समूहमा राख्ने गरिएको छ। यसले विद्यार्थीमा भेदभाव भएको शिक्षाविद्हरूको भनाइ छ। भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन बजारीकरणको प्रभावले नेपाली समाजमा पनि अंग्रेजीको मोह बढेको बताउँछन्। ‘यो मोहले हाम्रा बालबालिकालाई पनि समस्यामा पारेको छ’, लोप्चन भन्छन्।

अंग्रेजी भाषाको मोहमा मातृभाषालाई बिर्सने अवस्था आउँदासमेत राज्यबाट उपयुक्त पहल हुन नसकेको उनी बताउँछन्। मातृ भाषा र विशेषगरी नेपाली भाषालाई प्रवद्र्धन गर्न आफूहरूले सरकारलाई थुपै्र सुझाव दिए पनि कार्यान्वयन नभएको उनी बताउँछन्।

बालबालिकालाई सिर्जनात्मक र क्षमतावान् बनाउन अंग्रेजी भाषा नै चाहिन्छ भन्ने मानसिकता गलत भएको प्रारम्भिक बालविकास विज्ञ अगाथा थापा (पाख्रिन) बताउँछिन्। भाषा र सिकाइको नाममा विद्यालय र अभिभावकले समेत विद्यार्थीको रचनात्मक स्वतन्त्रतालाई हनन गरिरहेको उनको आरोप छ। ‘विश्वमा विकसित मानिएका थुपै्र मुलुकमा अंग्रेजी भाषा नजान्ने विद्यार्थी धेरै भए पनि उनीहरू सूचना र प्रविधिको क्षेत्रमा निकै अघि बढेका छन्’, थापा भन्छिन्।

‘यसको ज्वलन्त उदाहरणका रूपमा इजरायललाई लिन सकिन्छ। त्यहाँका विद्यार्थी अंग्रेजी बोल्न जान्दैनन्। तर उनीहरूको दिमाग निकै तीक्ष्ण छ’, थापा भन्छिन्, ‘यसमा राज्यले पनि ध्यान दिनुपर्ने हो।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटा पनि अंग्रेजी जान्नुलाई मात्र सिकाइ उपलब्धिसँग तुलना गरिनु गलत भएको बताउँछन्। ‘विद्यार्थीलाई अंग्रेजी सिकाउनुभन्दा पहिला सिकाउनुपर्ने संस्कार हो। तर यो पक्षमा हाम्रा अधिकांश विद्यालय चुकेका छन्’, सापकोटा भन्छन्।

शिक्षाविद् कोइराला भाषालाई सञ्चारको माध्यम मात्र बनाउनुपर्ने बताउँछन्। ‘विदेशतिर पनि मातृभाषामा वा घरमा बोलिने भाषामा दक्ष बालबालिकालाई आवश्यक पर्‍यो भने मात्र अन्य भाषा सिकाइन्छ। तर, हामीकहाँ भने बालबालिकालाई मुन्ट्याएर भए पनि अंग्रेजी बोल्न सिकाइन्छ’ उनी भन्छन्, ‘अहिले अंग्रेजी माध्यममा नपढाएका कारण र विद्यार्थीले अंग्रेजीमा धाराप्रवाह बोल्न नजानेकै कारण सामुदायिक विद्यालयलाई हेला गर्ने प्रवृत्ति बढेको छ। यो भ्रम हो।’

शिक्षामन्त्री गिरिराजमणि पोखरेल भाषाको नाममा संस्कृतिलाई बिगार्न नहुने बताउँछन्। ‘अंग्रेजी सिकाउनु गलत होइन। तर अंग्रेजी कै नाममा नेपाली भाषालाई ओजेलमा पार्न पाइँदैन’, उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.