डलर एकै दिनमा १ रुपैयाँ १ पैसा महँगियो
काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलरको बिक्री मूल्य १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ। यो गत शुक्रबारको तुलनामा १ रुपैयाँ १ पैसा महँगो हो। धेरै महिनापछि अमेरिकी मुद्रा ‘ग्रिनव्याक’ यति फराकिलो दरले महँगिएको छ। एक सातायता अन्तर्राष्ट्रिय बजारमा सुन र पेट्रोलियमको भाउ ओरालो लाग्न थालेपछि केही राहत पाइने आशा पलाइरहेको बेला अमेरिकी मुद्राले पुनः निराशा थपेको छ। डलर महँगिएमा सुन र तेलमात्र होइन, अन्तर्राष्ट्रिय बजारमा सस्तिन थालेका कुनै पनि सामान किन्न नेपाली ग्राहकले भने फेरि महँगो मूल्य तिर्नुपर्ने हुन्छ।
मूलतः भारतीय सेयर बजारमा बिक्रीचाप ह्वात्तै चुलिएपछि शुक्रबार त्यहाँको मुद्रा भारतीय रुपैयाँ (भारु) एकैदिन ६८ पैसासम्म सस्तिन पुग्यो। भारतीय बजारमा शुक्रबार अमेरिकी डलर ७१ रुपैयाँ ९० पैसादेखि ७२ रुपैयाँ २९ पैसासम्म कारोबार भयो। अन्तिम समयमा भारु केही बलियो भएकाले नेपाली रुपैयाँको अवमूल्यन १ रुपैयाँमै सीमित भएको हो। शुक्रबार भारतको प्रमुख सेयर सूचक बीएसई (बम्बे स्टक एक्सचेञ्ज) सेन्सेक्स १४ सय ४८ अंक अर्थात् ३ दशमलव ६४ प्रतिशत घट्यो।
पाँच वर्षअघि अर्थात् २४ अगस्ट २०१५ मा १६ सय २४ अंक घटेको बीएसई सेन्सेक्सका लागि गत शुक्रबार त्यसयताकै सबैभन्दा खराब दिन बनेको छ। भारतको अर्को धितोपत्र बजार नेसनल स्टक एक्सचेञ्जको सूचक ‘एनएसई निफ्टी’ ४ सय ३१ अंक अर्थात् ३ दशमलव ७१ प्रतिशत घट्यो। यो एक हिसाबले भारतीय सेयर बजारमा गएको ‘पहिरो’ नै हो।
चीनबाट फैलिएको कोरोना संक्रमणका कारण विश्व अर्थतन्त्र जोखिममा परेको छ। त्यस्तो बेला छिमेकको सबैभन्दा ठूलो अर्थतन्त्र भएकाले भारत सर्वाधिक प्रभाव खेप्ने मुलुकको सूचीमा अगाडि नै पर्छ। यही त्रासले विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वको सेयर भटाभट बेचेर पैसा फिर्ता लान थालेका छन्। भारतमा विदेशी लगानीकर्ताले पनि सेयरमा लगानी गर्न पाउँछन्। उनीहरूलाई सेयरमा गरेको लगानी फिर्ता लान भारतको केन्द्रीय बैंकले अमेरिकी डलर उपलब्ध गराउनुपर्छ। यसरी डलरको माग एक्कासि चुलिएपछि भारुसँगको यसको विनिमय दर पनि अकासिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले शुक्रबारमात्रै भारतमा विदेशी पोर्टफोलियो व्यवस्थापकले १४ अर्ब २९ करोडको सेयर बेचेको जनाएको छ। ऋणपत्र पनि भारी मात्रामा बेचिएको, तर त्यसको यकिन तथ्यांक उपलब्ध नभएको रोयटर्सले भनेको छ। पछिल्ला अनुमानअनुसार कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कम्तीमा ३० आधारविन्दु अर्थात् २ खर्ब ५० अर्ब अमेरिकी डलरले घट्ने भएको छ। भारतले सन् २०१९ को अन्तिम त्रैयमासमा आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा खुम्चिएको प्रतिवेदन गत बुधबार सार्वजनिक गरेको थियो। पछिल्ला दिनमा विकासोन्मुख ठूला अर्थतन्त्रसँगै अमेरिकी सेयर बजार पनि ओरालो लाग्न थालेको छ।
उता १८ मार्चमा बस्ने अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भको बोर्ड बैठकले कम्तीमा २५ आधारविन्दुले ब्याजदर कटौती गर्ने सम्भावना बढेको छ। यसले गर्दा जापानी येन भने डलरको तुलनामा महँगिएको छ। सम्भावित विश्व आर्थिक मन्दीबाट जोगिन संसारभरका लगानीकर्ता सेफ हेभन अर्थात् सर्वाधिक सुरक्षित मानिने मुद्रा येनतर्फ आकर्षित भएका छन्। यसले नेपाली बजारमा पनि येनको भाउ महँगिएको छ। शुक्रबार १० रुपैयाँ ४२ पैसामा पाइने १० येन किन्न आइतबार १० रुपैयाँ ६६ पैसा तिर्नुपर्ने भएको छ।
कोरोना संक्रमण बढ्दै गए अमेरिकी डलर र जापानी येनसँगै अरु थुप्रै मुद्रा, सुन, पेट्रोलियम र प्रायः सबै वस्तुको मूल्यवृद्धि हाम्रो नियन्त्रण घेराभन्दा बाहिर जाने जोखिम बढेको छ। यसको एउटामात्र फाइदा– रोजगारीका लागि विदेशमा रहेका नेपालीको आम्दानी नेपाली रुपैयाँमा रुपान्तरण गर्दा केही बढेको देखिनेछ।