'अनुशासित विद्यार्थी थिएँ'
प्रमोद खरेल
सम्पूर्ण भाइबहिनीहरूलाई मेरो नमस्कार छ है। भाइबहिनी हो, तिमीहरूले मलाई चिन्छौ या चिन्दैनौ थाहा छैन। तर, तिमीहरूलाई एउटा प्रश्न सोध्न मन लाग्यो। तिमीहरूले नेपाली गीतसंगीत कतिको सुन्ने गरेका छौ ? सुन्ने गरेका छौ भने, पक्कै मेरो गीत पनि सुनेकै छौ होला। यो कुरा म ढुक्क भएर भन्दैछु किनभने मैले तिमीहरू जस्तै नानीबाबुहरूको पनि धेरै माया पाएको छु। त्यसैले मलाई भाइबहिनीहरूसँग कुराकानी गर्न मन थियो। आज यसरी प्रत्यक्ष रूपमा कुराकानी गर्न पाउँदा निकै खुशी लागेको छ। म गीत संगीतमा सानै देखि रूची राख्थेँ र जीवनभरी यही क्षेत्रमा रहनेछुँ।
मेरो नाम प्रमोद खरेल हो। म झापमाको बनियानी भन्ने ठाउँमा वि.सं. ३०३७ सालमा जन्मेको हुँ। म मेरो परिवारको जेठो छोरा हुँ। मेरो सम्पूर्ण बाल्यकाल बनियानी मै बित्यो। मेरो परिवारमा प्राय सबै जना शिक्षित हुनुहुन्थ्यो। मेरा आमाबुवा दुबैजना सरकारी विद्यालयमा पढाउनुहुन्थ्यो। त्यसैले शिक्षित परिवारमा हुर्किने मौका पाएँ। आमाबुवा मात्र होइन काकाकाकीहरू पनि शिक्षण पेसाम आबद्ध हुनुहुन्थ्यो। त्यसैले म मा पनि सानैदेखि पढ्नुपर्छ भन्ने मानसिकताको विकास स्वतः रूपमा भएको थियो। उहाँहरू सबैलाई पढेको देखेर पढ्न रहर गर्थे।
अहिले म सम्झिन्छु। म अलि अलि हिँड्न सक्ने भएपछि आमाले मलाई आफूसँगै विद्यालय लिएर जानुहुन्थ्यो र पढाउनुहुन्थ्यो। यसरी घरमा होस् या विद्यालयमा सबै ठाउँमा उहाँले मलाई पढाउनु हुन्थ्यो। त्यसैले दुबै ठाउँमा उहाँ नै मेरो गुरु हुनुहुन्थ्यो। यसरी जानीनजानी म सानैदेखि आमासगैँ विद्यालय जान्थेँ। तर, मेरो औपचारिक पढाइ बनियानीस्थित श्री लक्ष्मी माध्यमिक विद्यालमा कक्षा १ मा भर्ना भए पछि सुरु भयो। त्यति बेला म साढे ३ वर्षको थिएँ। घरमा सबै जना पढ्नेहरू भए पछि पढाइबाहेक अन्य कुरामा खासै चासो पनि जाँन्थेन। अरू गतिविधि कमै हुन्थ्यो। म घरमा साथीहरूसँग डण्डीवियो, कबड्डी, फुटबल, लुकामारी खेल्थेँ।
कक्षामा सबैभन्दा सानो विद्यार्थी थिएँ, म। अरु म भन्दा ठूला ठूला हुन्थे। त्यसैले मलाई अरूको कुनै मतलब नै हुँदैनथ्यो। मलाई पढ्न पाए पुग्थ्यो। म एकदमै कम बोल्थेँ। त्यसैले विद्यालयमा मेरो साथीहरू पनि कम थिए। साथीहरू ग्याङफाइट गर्थे। म त्यतातिर कहिल्यै ध्यान दिइनँ। किनभने मेरो परिवारका सबै सदस्य नै शिक्षण पेसामा लागेकाले जहिले पनि मलाई अनुशासनमा बस्नुपर्छ भन्ने सिकाउनु भएको थियो। त्यसैले म अनुशासित विद्यार्थी थिएँ।
म भविष्यमा डाक्टर बन्छु भन्ने सोचेको थिएँ। लक्ष्मी माविमा स्वास्थ्य विषय नभएकोले म कक्षा ८ मा स्वास्थ्य विषय पढ्छु भनेर झापाको पृथ्वीनगरस्थित हिमाली माध्यमिक विद्यालयमा भर्ना भएँ। त्यहाँ मेरो बुवा पढाउनु हुन्थ्यो। उहाँ गणित विषय पढाउनु हुन्थ्यो। म पढाइमा राम्रो विद्यार्थी भए पनि अन्य विषयको तुलनामा गणितमा अलि नम्बर आउँथ्यो। त्यसैले कहिलेकाहीँ बुवाले मलाई हप्काउनुहुन्थ्यो। त्यति बेला डर लाग्थ्यो। तर, म जहिले पनि कक्षा टप हुन्थेँ।
विद्यालयमा अतिरिक्त क्रियाकलाप खासै हुँदैनथ्यो। म सानो भएकोले पनि होला मलाई त्यतातिर खासै चासो पनि हुन्थेन। तर, म हाजिरी जवाफमा भने खुब भाग लिन्थेँ। मेरो समूह जहिले पनि प्रथम हुन्थ्यो। यसरी हिमाली माविमा मैले विं सं. २०५१ सालको एसएलसीमा जिल्ला टप गरेँ। त्यतिबेला म निकै खुशी भएको थिएँ। अब डाक्टर बन्छु भनेर एसएलसी पछि आईएससी पढ्न काठमाडौँको पाटन क्याम्पसमा भर्ना भएँ र पढ्न थालेँ। आईएससी सकेपछि मैले संगीत पनि सिक्न थालेँ।
मलाई सानैदेखि गीत गाउन मन पथ्र्यो। म रेडियोमा गीतहरू खुब सुन्थेँ र गुनगुनाउँथे। तर, गायक बन्छु भन्ने सोच भने कहिल्यै आएको थिएन। जब संगीत सिके अनि आफूमा भएको प्रतिभा चिन्न थालेँ र मैले संगीततिर लागे। यसै क्रममा २०५६ सालमा ‘निर्दोषी मायालु’ बोलको गीत रेकर्ड गरेँ। यहीबाट मेरो साङ्गीतिक यात्रा सुरु भयो।
एकातिर पढाइ र अर्कोतिर संगीतमा लागे। पढाइलाई मैले एमएससीसम्म गरे भने संगीतमा निरन्तर लागिरहेको छु। भाइबहिनी हो। तिमीहरूले पनि आफ्नो प्रतिभालाई बेलैमा चिन्न सक्नुपर्छ र त्यही अनुसार काम गर्नुपर्छ। पढाइसकेपछि पछि मैले केही समय शिक्षण पेसामा पनि लागे। संगीतलाई निरन्तरता दिएँ। गायनका अलवा मलाई पेन्टिङ गर्न पनि मन पर्छ।
मलाई आधुनिक, फिल्मी र गजल जस्ता विभिन्न विधामा आफ्नो स्वर भरेको छ। ‘मेरो दिल छ पोखरामा’, ‘अन्तै माया लाएको छु,’, ‘हंगामा भो’, ‘यो कुरा गोप्य नै राखौला’, ‘झुम्कावाली’, ‘चल बतास चल चल’ आदि गीत दर्शकल धेरैले रुचाएका छन्। भाइबहिनी हो, तिमीहरूलाई थाहा छ, आजसम्म मैले २००० भन्दा बढी गीतमा आफ्नो स्वर भरिसकेको छ। म यही क्षेत्रम निरन्तर लागिरहेनेछु।
अहिलेका भाइबहिनीहरू पनि निकै चलाख र ज्ञानी छन्। सबै कुरा जानेका छन्। यो क्षेत्रमा लाग्न चाहने भाइबहिनीहरूलाई आफ्नो खुबी र प्रतिभालाई चिनेर बुझेर मिहिनेतका साथ लाग्नु भन्न चाहन्छु।