आहा रारा गोल्डकप : पुलिस सेमिफाइनलमा
पोखरा : आयोजक सहारा क्लबलाई टाइब्रेकरमा ४–२ ले निराश पार्दै विभागीय टोली नेपाल पुलिस क्लब १८औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा शनिबार भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो।
आयोजक सहाराले दुई पेनाल्टी खेर फाल्दा पुलिसले जित निकाल्यो। सहराका उलरिच राम्जेको प्रहारलाई नेपाल पुलिस क्लबका गोलरक्षक रोशन खड्काले बचाएका थिए। सहराकै अर्का खेलाडी त्रिदेव गुरुङले प्रहार गरेको पेनाल्टी बाहिरिएको थियो। सहरा क्लबका आशिष गुरुङ र अजय श्रेष्ठले पेनाल्टीमा गोल गरेका थिए। पुलिस क्लबका लागि भरत साह, सौजन्य याख्खा राई, हेम तामाङ र सुमन जिसीले गोल गरेका थिए। अनुप लिम्बुको प्रहार भने खेर गएको थियो।
यस अघि खेलको ७५औं मिनेटमा नेपाल प्ुलिसका भरत साहले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। खेलको दोस्रो आफको इन्जुरी समयको अन्तिम मिनेटमा आयोजक सहराका बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अजय श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
शनिबारको खेलमा नेपाल पुलिस क्लबका गोलरक्षक रोशन खड्का म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मस्र्याङ्दी क्लब र झापा–११ बीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !