पानीबिनाको होली
‘आमा हेर्नु त मेरो लोलाको पकेट कति ठूलो छ बाबाले यो पटक भने मेरो रहर पुग्ने गरी ल्याइदिनुभएछ लोला। आज त दिनैभरि खेल्ने हो लोला हुर्रे’, सलोन हातमा लोलाको झोला बोकेर धारातिर लाग्यो। ‘लल लोलामा पानी मात्रै राख्ने हो र ? रङको पोको त यहीँ छ त ’, आमाले हाँस्दै सलोनलाई बोलाउनु भयो।
‘ओहो आमा होली खेल्न निस्कने खुसीमा म त रङ लानै भुलेछु। आहा ! रङ पनि कति धेरैे वाउ मज्जा हुने भयो’, सलोनको खुसीले भुइँमा खुट्टा थिएन। ऊ खुसीले हावामै उडिरहेको थियो। आमा उसलाई हेरेर मुसुमुसु हाँसी रहनुभएको थियोे। उसलाई खुसी देखेर आफू पनि खुसी देखिनुहुन्थ्यो। तर लोला खेल्दा बिरामी पर्ने हो कि भनेर उहाँ चिन्तित पनि देखिनुहुन्थ्यो। कम खेल्न सल्लाह दिइरहनु भएको थियो।
सलोन रङ, लोला र पिच्कारी बोकेर धारातिर गएको एकैछिनमा चिच्यायो। ‘आमा आमा’, ऊ चिच्याएको सुनेर आमा कुदेर त्यहाँ पुग्नुभयो। ऊ फुटेका लोला अगाडि राखेर पिलपिल रुँदै थियो।
‘लौ के भयो बाबु ? ’ आमाले सलोनलाई उठाउँदै भन्नुभयो, ‘हेर्नु न आमा यो लोला त सबै फुटेको रैछ नभन्दै हो रहेछ। लोला त सबै ड्यामेज रहेछन्।’ जति पानी हाल्यो त्यति नै फुटेर जाने रहेछन्। एकैेछिन अगाडिको सलोनको हाँसो गायब भएको देखेर आमालाई सारै नराम्रो लाग्यो। अब किन्न जाने ठाउँ पनि थिएन। प्रायः पसल बन्द भइसकेका थिए।
सलोनलाई आमाले सम्झाउँदै भन्नुभयो, ‘हेर बाबु लोला हानेर होली खेल्दा मात्र होली खेलेको हुँदैन नि। रङ लगाएर रमाइलो गर्दा पनि हुन्छ नि। लोला हान्दा पानीले शरीर भिज्छ। अबेरसम्म त्यही लुगामा होली खेलिरहने भएकाले त्यो चिसो भित्र पसेर रुघा, ज्वरोसमेत पनि लाग्न सक्छ। लोला हान्न पाइएन भनेर तिमी दुःखी नबन। यो पटकको होेली हामी नयाँ तरिकाबाट मनाऔं है ? ’
‘नाइँ म त लोला नै खेल्ने हो। सबै साथीहरू लोला बोकेर खेल्दै आउँदै होलान्। उनीहरू कति रमाइलो गर्छन् म भने यत्तिकै बस्नु ? ’ सलोनले अलि चित्त दुखाएर भन्यो। उसको गलामा बोली नै रोकिएको थियो। आमालाई उसको बोली सुनेर नरमाइलो लाग्यो। उहाँले भन्नुभयो, ‘ल म तिम्रा साथीहरूसँग कुरा गर्छु। यो पटक मेरो तरिकाले होली मनाउने है ? ’ सलोन केही नबोली घोसे मुन्टो लगाएर बस्यो। अनि सुकसुक पो गर्न लाग्यो।
खाना खाएर सबै साथीहरू सलोनको घर छेउको चोकमा भेला हुने सल्लाह आमालाई थाहा थियो। आमाले कसै गरेर सलोनलाई खाना खुवाउनु भयो र होलीको लागि तयार गराउनु भयो। तबसम्म सलोनका सबै साथीहरू अस्मिता, जीवन, साजन, सरिता आदि चोकमा भेला भइसकेका थिए। आमाले सलोनलाई चोकमै लिएर जानुभयो।
सबैको हातमा रङ, लोला र पिच्कारी थियो। तर सलोन भने खाली हात गएको देखेर केही साथीले जिस्क्याए पनि खासखुस पनि गरे। अनि आमाले सबैको अगाडि उभिएर भन्नुभयो, ‘यस पटकको होली हामी फरक तरिकाले खेल्नेछौं। बिना पानी, बिना लोला, बिना पिच्कारीको।’ आमाको कुरा सुनेर सबै मुखामुख गर्न थाले। धेरैले मुख पनि खुम्च्याए र धेरैले हुँदैन नाइँ हामी त लोला नै खेल्ने हो भन्नसमेत भ्याए।
अस्मिताले अगाडि सरेर भनिन्, ‘आन्टी यो त हाम्रो रीतिरिवाज हो नि। वर्षदिनको चाड हामीले खेल्न किन नपाउने ? ’ उनको कुरा सुनेर आमाले हाँस्दै भन्नुभयो, ‘मैले होली नखेल भनेर कहाँ भनेँ र ? तर लोला हान्नु र पानी खेल्नु हाम्रो संस्कार र रीतिरिवाज होइन नि। रङ दलेर खुसीयाली साटासाट गर्नु, मीठो खानेकुरा बनाएर खानु, आफन्त भेटघाट गर्नु पो रीतिरिवाज हो। ल हिँड आज म तिमीहरूलाई मीठो खानेकुरा बनाएर खुवाउँछु। होली पनि घरकै कम्पाउन्ड भित्र खेल्ने हो। त्यहीँ रमाइलो गर्ने हो।’
मन नलाग्दा नलाग्दै सबै सलोनको घरतिर लागे। सलोनलाई पनि चित्त बुझेको थिएन। तैपनि पछिपछि लागि नै रहेको थियो। केही नबोली। आमाले घर पुगेर कुर्सीहरू बाहिर निकालेर गोलो बनाई राखिदिनुभयो र सबैलाई त्यहीँ बसालेर अबिरको टीका पनि लगाइदिनु भयो। उनीहरूलाई पनि होली खेल्न सुरु गराउनु भयो। एकअर्कामा अबिर दलादल गरेर सबैले होली खेल्न थाले। आमाले याद गर्नुभयो कि लोला र पिच्कारी कसैले चलाएनन्। अब आमाले उनीहरूलाई मेच घुमाई खेल खेलाउनु हुने भयो। खेल खेल्न सबै उत्सुक देखिए। रुमाल लुकाई, तातो आलुजस्ता खेलहरू खेलेर उनीहरू ज्यादै रमाए। उनीहरूले बीचबीचमा रङ पनि खेलि नै रहे।
आमाले उनीहरू सबैलाई केही न केही उपहार पनि दिनुभयो। उनीहरूको रमाइलो देखेर अरूहरू पनि त्यहीँ आएर मिसिए। एकै ठाउँमा बसेर खेलेकाले उनीहरू थाकेनन् पनि। होली सकिएपछि आमाले उनीहरूलाई पुरी तरकारी मिठाई खुवाउनु भयो। सबैले खुसीका साथ खानेकुरा खाए र रमाए।
‘कस्तो लाग्यो त पानीबिनाको होली ? ’, आमाले सबैलाई सोध्नुभयो।
‘रमाइलो भयो। थ्यांक्यु आण्टी’, सबैले एकै स्वरमा भने। फेरि साजनले भन्यो, ‘मेरी आमाले पनि लोला खेल्नु ठीक होइन त भन्नु भएको थियो। तर मैले मानिन ठीक हो रैछ। अर्काे वर्ष पनि हामी यसरी नै होली खेल्ने हो पानीबिनाको। बरु आन्टीले अर्काे साल पनि यस्तै मीठो पुरी खुवाउनुस है ? ’ अनि सबै खित्का छोडेर हाँसे।
‘सधैं काँ आन्टीलाई दुःख दिनु। अर्काे साल हाम्रोे घरमा रमाइलो गर्ने हो’, अस्मिताले भनिन्।
‘ल ल एक साल आउन त १२ महिना बाँकी छ नि। अहिले केको छलफल ? ’, आमाले भन्नुभयो, ‘तिमीहरू पानीबिनाको होली खेल्न राजी भयौ, म यसमै खुसी छु।’