कोरोना असर : पर्यटन व्यवसाय प्रभावित

कोरोना असर : पर्यटन व्यवसाय प्रभावित

पोखरा : पोखराका होटल विगतमा यो बेला ८० प्रतिशतसम्म पर्यटकले भरिभराउ हुन्थे। यसपटक साना–ठूला होटलमा गरी १५ प्रतिशत मात्र पर्यटक पोखरामा रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउँछन्। चीनलगायत मुलुकमा कोरोना भाइरस संक्रमणको प्रभाव यहाँ परेको हो।

अंग्रेजी महिना मार्च, अप्रिल, मे पदयात्राको सिजन हो। यो बेला युरोपेली, अमेरिकी, अस्ट्रेलियाली, जापानी, कोरियाली, चिनियाँलगायत पर्यटक आउने गर्छन्। पहिल्यै आएका युरोपेली, अमेरिकी ८ प्रतिशत, भारतीय ४ र बाँकी अन्य मुलुकका र आन्तरिक पर्यटक रहेको उनी सुनाउँछन्।

नयाँ पर्यटक नआउने र भएका पर्यटक फर्किने भएकाले पर्यटन बजार शून्यमा पुग्नेप्रति चिन्ता बढेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल पोखराका अध्यक्ष हरि भुजेल बताउँछन्। बैंकको चर्को ब्याजदरका कारण पनि मर्कामा परेको व्यवसायीले बताएका छन्।

टान पश्चिमाञ्चल पोखराका पूर्वअध्यक्ष दीपकराज अधिकारीका अनुसार अन्नपूर्ण पदयात्राको अग्रिम बुकिङ रद्द गर्ने क्रम चलिरहेको छ। पर्यटकले मार्च दोस्रो सातादेखिका ९० प्रतिशत बुकिङ रद्द गरेको उनको भनाइ छ। रेस्टुराँ व्यवसायमा पनि असर पर्न थालेको रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बराल सुनाउँछन्।

अन्नपूर्ण पदयात्रा क्षेत्रको अवस्था चिन्ताजनक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख ऋषि बराल बताउँछन्। उनका अनुसार माघमा अघिल्लो वर्षको तुलनामा आधा कम पर्यटकले पदयात्रा गरे। फागुनमा पनि पर्यटक आगमन निराशाजनक रहेको उनी सुनाउँछन्।

पोखरामा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलका कारण पनि पर्यटन क्षेत्रमा व्यवसायीले ठूलो लगानी गरिरहेका छन्। एउटै होटलमा २५–३० करोडदेखि १ खर्बसम्म लगानी रहेको पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुली सुनाउँछन्। पर्यटक नआउने अवस्था रहेकाले बैंकको ब्याज तिर्न मात्र होइन, विद्युत्, खानेपानी, कर्मचारीको तलब दिन समस्या पर्ने अवस्था आएको व्यवसायीले बताएका छन्।

पोखरामा ७ सय ५० होटल सञ्चालनमा छन्। तीमध्ये पश्चिमाञ्चल होटल संघमा ४ सयभन्दा बढी होटल आवद्ध छन्। पर्यटकीय सुविधासम्पन्न होटलमा ३० हजारभन्दा बढी बेड संख्या रहेको संघका अध्यक्ष तुलाचनको भनाइ छ। उनका अनुसार होटलमा मात्र २ खर्ब लगानी छ। ‘पोखराको पर्यटन क्षेत्रमा ४ खर्ब लगानी छ’, उनी भन्छन्, ‘यहाँका होटल, रेस्टुराँ, साहसिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, बन्जीजम्प, हिमाल अवलोकन क्षेत्रमा ठूलो लगानी छ। सिजनमै पाहुना आउने क्रम रोकिएपछि पर्यटन व्यवसाय संकटमा परेको उनी बताउँछन्।

अंग्रेजी महिनाको जनवरी, फेब्रुअरीमा चिनियाँ पर्यटकको चहलपहल हुन्थ्यो। उनीहरू प्याराग्लाइडिङ, अल्ट्रालाइट र छोटो पलयत्रामा रमाउँथे। त्यही सिजनअघि चीनको वुहान सहरबाट सुरु भई विश्वभर फैलिएको कोरोना भाइरसका पर्यटन उद्योग थला पर्ने अवस्थामा पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको भनाइ छ।

जनवरी, फेब्रुअरीमा चिनियाँले बुकिङ रद्द गरेकामा अन्य देशका नागरिकले पनि रद्द गर्ने हो कि भन्ने चिन्ता बढेको सांग्रिला रिसोर्टका म्यानेजर गुप्त गिरीको भनाइ छ। बुकिङ गरेका युरोपेली पर्यटकले नेपालको अवस्थाबारे सोधपुछ गरिरहेको उनी सुनाउँछन्। उनका अनुसार ८० देखि ९० प्रतिशत पर्यटक हुनुपर्नेमा २० देखि २५ प्रतिशत मात्र छन्।

सरकारले गोष्ठी, सभा, सम्मेलन नगर्न सचेत गराएका कारण पनि आन्तरिक पर्यटकसमेत घटेको व्यसायीले बताएका छन्। भूकम्प, नाकाबन्दी, द्वन्द्वकाल कुनै पनि समय यस्तो संकटको अवस्था भोग्नु नपरेको उनीहरूको भनाइ छ। यस्तो जटिल अवस्थामा सरकारले राहत प्याकेज दिनुपर्ने संघका अध्यक्ष तुलाचनको माग छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.