अर्घाखाँची अस्पतालमा आइसोलेसन कक्ष
सन्धिखर्क : सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची अस्पतालले कोरोना भाइरसको शंकास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्षको स्थापना गर्ने भएको छ । सन्धीखर्क नगरपालिकाको पहलमा अस्पतालमा आइसोलेसन कक्ष स्थापना हुन लागेको हो ।
आइसोलेसन कक्ष निर्माणको तयारीका लागि सन्धीखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, नगर प्रवक्ता लिलाराम गौतम लगायतको टोलीले अस्पताल पुगेर कार्य प्रारम्भ गर्न नगरपालिकाका सिनियर सब-इन्जिनियर हरि बोहरालाई खटाएको छ ।
कक्ष स्थापनापश्चात अस्पतालले जिल्लामै शंकास्पद बिरामीको खकार र सिंगानको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था मिलाउने अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।
यसैबीच कोरोना भाइरसको विषयलाई लिएर आतंकित नहुन नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले आग्रह गरेको छ । कोरोना भाइरसविरुद्ध बच्नका लागि आवश्यक औषधि र माक्स पर्याप्त भएको औषधि व्यवसायी संघ अर्घाखाँचीले जानकारी दिएको छ।
कार्यक्रममा औषधि व्यवसायी संघ प्रदेश पाँचका परामर्स सल्लाहकार नारायण पौडेल, निवर्तमान अध्यक्ष लिलामणि ढुंगाना लगायतले तीन महिना पुग्ने औषधि भण्डारणमा रहेकाले नआत्तिन सबैलाई आग्रह गरेका हुन्।