पदयात्रा छोट्याएर फर्कंदै पर्यटक
पोखरा : अमेरिकी पर्यटक पेट्रिसिया गोन्जालेज र उनका ६ जना साथी एक साताको अन्नपूर्ण पदयात्राका क्रममा घान्द्रुक थिए। पदयात्रामा रहेकै बेला अमेरिकाको ट्राभल्स एजेन्सीले यात्रा छोटयाएर फर्कन अनुरोध गर्यो। विश्वभर फैलिएको कोरोना भाइरसका कारण पदयात्रामै रहेको अवस्थमा पदयात्रा पूरा नगरी फर्कनु पर्दा नरमाइलो लागे पनि फर्कनुको विकल्प नरहेको उनले सुनाइन्। नेपालमा पहिलो पटक आएका उनीहरू यहाँको प्रकृति र संस्कृतिले निकै लोभिएका थिए।
१४ दिने यात्राका लागि यो टोली नेपाल आएको थियो। काठमाडौं, बन्दिपुर, पोखराको भ्रमण र अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्ने उनीहरूको तालिका रहे पनि कोरोना भाइरसका कारण यात्रा छोट्याएर ११ दिनमै यो टोलीले अमेरिका फर्कनु परेको नेपाल नेचर टे«क्स एण्ड टुरका सञ्चालक तथा टुर लिडर राजेन्द्र गुरुङले बताए। यही टोलीका ४ जना सदस्य ६ दिन भुटानको भ्रमण गर्ने र पुनः नेपाल आएर अमेरिका फर्कने कार्यक्रम रहेको भए पनि कोरोना भाइरसका कारण भुटान यात्रा पहिले नै रद्द भएको थियो। नेपाल यात्रा छोट्याएर फर्कनु पर्दा पर्यटकले नरमाइलो मानेको गुरुङले सुनाए।
आफूलाई यात्रा गराउन चाँजोपाँजो मिलाउने अमेरिकाको ट्राभल्स एजेन्सीले यात्रा छोट्याएर फर्क भनेपछि यात्रा छोट्याएर जानै पर्यो अमेरिकी पर्यटक क्याथी क्लिनले भनिन्। ‘यात्रा रमाइलो थियो। पूरा गर्न मन थियो नै’, उनले सुनाइन्। यहाँको संस्कृति, प्रकृति र गाउँले जनजीवनले आफू निकै प्रभावित भएको उनले सुनाइन्। यही टिममा सहभागी जर्मनका म्यानुअल पनि यात्रा छोट्याएर चाँडै फर्कन पर्दा नरमाइलो लागेको बताउँछन्।
सगरमाथा आधार शिविर, अन्नपूर्ण पदयात्रा, लुम्बिनी यात्रा गरी भुटान, तिब्बतसमेत जाने तयारीमा रहेको तीन समूहले यात्रा रद्द गरेको गुरुङले सुनाए। आएका पर्यटक पनि कोरोना भाइरसका कारण यात्रा छोट्याएर जान थालेपछि पर्यटन क्षेत्र शुन्यमा झर्ने अवस्था आएको उनले धारणा छ। कोरोनाले बुकिङ भएका पर्यटकले यात्रा रद्द गरेका छन्। सन् २०२० को यही समूह पहिलो र अन्तिम हुन सक्ने भन्दै उनले चिन्ता गरे। यसअघि अमेरिकी, बेलायती पर्यटकले बुकिङ गरिसकेको यात्रा रद्द गरेको उनले सुनाए।
नेपालको पदयात्रामा र पोखरामा भेटिएका पर्यटक पनि छिटो फर्कन दबाब आएको भन्दै बसाई छोट्याएर फर्कने गरेको नेपाल पर्वातारोहण संघ गण्डकी च्याप्टरका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए। नेपाल भ्रमणका लागि आउन पहिले नै बुकिङ गरिसकेका आफूसँग सम्पर्कमा रहेका सबै समूहले यात्रा रद्द गरेको उनले सुनाए। भएका पर्यटक स्वदेश फर्कर्ने र नयाँ नआउने अवस्थाले पर्यटक शुन्यमा झर्ने अवस्थामा पुग्न लागेको उनले बताए। भिसा सकिन लागेका केही पर्यटक कम जोखिम भएका देशको ट्रान्जिट बनाएर स्वदेश फर्कन भिसा थप्न अध्ययगमन कार्यालय पोखरा आएको कार्यालयका निमित्त अध्यगमन अधिकृत चेतराज आचार्य बताउँछन्।
गत वर्ष यही बेला पोखरामा ७५ देखि ८० प्रतिशत होटल भरिभराउ भएका थिए। फुल अकुपेन्सीमा पुग्ने बेला अहिले पदयात्रामा भएका पर्यटक पनि पदयात्रा बीचैमा छाडेर स्वदेश फर्कन थालेपछि विदेशी पर्यटक फाट्टफुट्ट मात्र रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवि पोखरेलले बताए। पोखरा पर्यटकविहीन अवस्थामा पुगेकोले ब्यवसायीले मजदुरलाई केही समय बिदा दिएर होटल, रेष्टुराँ बन्द गर्न थालेको परिषद्का अध्यक्ष पोखरेलले बताए। यस्तो अवस्था पर्यटन उद्योगमा जटिल समय मानिएको भूकम्प गएको अवस्थामा र द्वन्द्वका बेलामा पनि नभएको उनले सुनाए। पदयात्रामा गएका पर्यटक फर्केर आएकोले दुई तीन रूममा मात्र विदेशी पर्यटक रहेको पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिर्सोटका मेनेजर कृष्ण आचार्यले बताए। नयाँ पर्यटक आउने अवस्था नरहेकोले एक दुई दिनमा होटल खाली हुने अवस्था रहेको उनले बताए।
चिनियाँ पर्यटकको सिजन डिसेम्बर, जनवरी, फेबुअरी महिनामै कोरोना भाइरस फैलिएकाले यी महिना अफसिजन जस्तै भएको पर्यटन ब्यवसायीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !