विश्वप्रकाशको ‘आऊ माया गरौं’ मा प्रमोद र शीतलको स्वर

विश्वप्रकाशको ‘आऊ माया गरौं’ मा प्रमोद र शीतलको स्वर

काठमाडौं

आऊ माया गरौं, मान्छेले मान्छेलाई

प्रकृतिलाई, संसारलाई माया गरौं

आवाज मिलाऊँ, कदम कदम मिलाऊँ

महामारीबाट संसार जोगाऊँ

आऊ माया गरौं।

विश्वप्रकाश शर्मा राजनीतिज्ञकै रूपमा बढी चिनिन्छन्। बौद्धिक बहसमा खरो उत्रने शर्मा समसामयिक विषयमा सीधा जवाफ र चोटिला तर्क गर्न माहिर छन्। उनका सामाजिक, राजनीतिक विचार र टिप्पणी चर्चामा छाइरहन्छन्। नेपाली कांग्रेसको प्रवक्तासमेत रहेका शर्मा सरकारको एक्लो प्रतिपक्षजस्तै छन्। उनी वैचारिक रूपमा मात्रै होइन गीतसंगीत र साधनामा पनि उत्तिकै सक्रिय छन्। शर्माको शब्द र संगीतमा रहेको आऊ माया, मान्छेले मान्छेलाई बोलको गीत सोमबार श्रोतामाझ आउँदैछ। गीतमा प्रमोद खरेल र शीतल मोक्तानको स्वर छ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’ ले अहिले विश्वका सबैजसो देश खतरामा छन्। चीन, इटली, स्पेनलगायत दुई दर्जनभन्दा बढी देशका करिब १२ हजारभन्दा बढीले यही रोगका कारण ज्यान गुमाइसके। कोरोना भाइरसको डरले विश्व आक्रान्त भएको बेला नेता शर्माले मान्छेमान्छेमा सद्भाव बढाउने र प्रकृतिलाई माया गर्ने आशयको गीत कोरेका हुन्।

हाइलाइट नेपालबाट बजारमा आएको यो गीत नेपाली र अंग्रेजी दुवै भाषामा छ। विश्वव्यापी रूपमा चलेको ‘ब्रेक द चेन’ नारा अघि बढाइएको छ। शर्माका अनुसार संसार विज्ञान र प्रविधिले साँघुरो बनाइदिएको छ। विश्व ध्वस्त पार्न सक्ने आणविक बम र क्षेप्यास्त्रको निर्माण मानिसले नै गरिसकेको छ। यत्रो शक्तिशाली मानिसको अगाडि सानो भाइरसले भयावह स्थिति खडा गरेको छ। सबैलाई आतंकित बनाएको छ। मान्छेले आफूलाई सबैभन्दा शक्तिशाली ठान्दै गर्दा सानो भुसुना, भाइरस नियन्त्रणबाहिर गएको छ। यस्तो अवस्थामा हामीले एकले अर्कालाई माया गर्नुपर्छ। हातमा हात दिएर सहयोग गर्नुपर्छ। प्रकृतिलाई संरक्षण गनुपर्छ। यही विषयमा उनले गीत लेखेका हुन्।

गीतमा कोरोना भाइरसबाट बचौं र बचाऔं भन्दै गर्दा उनले मानवता बढाउन आग्रह गरेका छन्। उनले महामारीसँग जुध्न अपिल गरेका छन्। स्कुल पढ्दादेखि नै गीत, गजल, कविता लेख्ने शर्मा कलेज पढ्ने बेलामा विद्यार्थी आन्दोलनतिर लागे। फुर्सद हुनासाथ उनी गीत लेख्थे, सँगसँगै धुन सिर्जना गर्थे। गीत डायरीमा सुरक्षित गर्थे त धुन मस्तिष्कको फाइलमा सेभ गर्थे। भन्छन्, ‘राजनीतिक यात्रामा दौडदा धेरै गीत संरक्षण गर्न पाइनँ। पुराना केही गीत र धुन अझ पनि मभित्रै सुरक्षित छन्।’

उनको संगीत र रचनामा केही समयअघि स्वीकृति नामक गीति एल्बम बजारमा आएको थियो। जसमा नदी हुनु, अब अन्तिम चिठी, जल्दाजल्दै, अरबबाट आएको चिठी, ए बादललगायत १० वटा गीत समावेश छन्। उनले भूकम्प गएर देश रोएको बेलामा सबैलाई सहानुभूति र हौसला दिँदै गीत सार्वजनिक गरेका थिए। गीतमा उनले भनेका थिए,

भूकम्पमा गुमेका आफन्तको कसम

हामी जुट्छौ, फेरि उठ्छौं,

हिरोसिमा पछिको जापान भएर

कहिल्यै नहार्ने गोर्खाली मुटुको कसम

फेरि जित्छांै, बदलिन्छांै बनाउँछौं नेपाल।

जब जब देशलाई दुख्छ, आपत्विपत पर्छ, शून्यता र स्तब्ध महसुस हुन्छ उनीभित्रको कवि मन जगमगाउँछ। केही लेख्नुपर्छ, केही बोल्नुपर्छ भन्ने लाग्छ। उनलाई दुःखको बेलामा मल्हम लगाउन गीतसंगीतको धुन र शब्द पावरफुल लाग्छ। अनि जन्मन्छ ऐतिहासिक गीत। उनले चुनावको बेला पनि इतिहासको त्यो मोडबाट बोलको गीत सार्वजनिक गरेका थिए। त्यतिबेला जागरण फैलाउनुपर्छ भन्ने लागेर नै उक्त गीत तयार गरेका थिए। त्यो गीत १५, १६ भाषामा गीत गाइएको थियो। शर्मालाई सामान्य घटनाभन्दा पनि केही फरक परिवेश, समय र घटनाले अशान्त बनाउँछ। छट्पटी दिन्छ।

गीत लेख्ने काम व्यक्तिको मनोविज्ञानसँग जोडिन्छ भन्ने शर्मा संगीतले मान्छेलाई आनन्द प्रदान गर्ने, ध्यान र योगको काम गर्नेमा विश्वास गर्छन्। उनी गीत लेख्न बस्दा रिलिफ महसुस गर्छन्, संसारको अन्य सबै पीर बिर्सन्छन्। जुनसुकै जाति धर्म, भाषा, स्तरको भए पनि संगीतले मानवता जगाउने र सबैलाई आनन्द प्रदान गर्ने विश्वास राख्छन्।

उनका गीत यत्तिकै डायरीको पानामा थिए। विवाह गरेपछि उनकी    श्रीमतीले गीतलाई संरक्षण गरिदिइन्। रेकर्ड गराउन हौसला प्रदान गरिन्। अनि जन्मिएको हो स्वीकृति एल्बम पनि। उनकी छोरीले पनि भर्खरै मात्रै गीत लेखेर रेकर्ड गराएकी छन्। उनको घरमा साहित्यिक, सांगीतिक र राजनीतिक माहोल भइरहन्छ।

कोरोना भाइरसले वृद्धलाई बढी आक्रान्त पारेको र मृत्यु हुनेहरूमा वृद्धको संख्या उल्लेख्य भएको सुन्नासाथ अशान्त बनेको शर्मा गीतमा लेख्छन्,

उनीहरू छन्, त्यसैले तिमी छौ

तिमी छौ र त उनीहरूमा आशा छ।

आशाको दियोले विश्वास जगाउँ

साथ साथ रहौं, तर सचेत बनौं

मान्छे मान्छे मिलेर मान्छेको बस्ती जोगाउँ।

आऊ माया गरौं।

बुवाआमा भएरै हामी जन्मिन पाएका हौं। यसैले उहाँहरूलाई संरक्षण गर्नु, बचाउनु हाम्रो दायिŒव हो उनले गीत मार्फत नै सम्झाउन खोजेका छन्। भन्छन्, ‘हाम्रो उत्पत्तिको मुहान नै रित्तिएपछि हामी कहाँ बाँचौंला र ?    बुवाआमालाई हाम्रो आशा छ, हामीले उहाँहरूलाई जोगाउनुपर्छ। हामीले बुवाआमालाई जोगायौ भने हामीलाई हाम्रा सन्तानले जोगाउनेछन्। हामी सचेत बन्दै, एकअर्काको साथ दिनु आजको आवश्यकता हो।’

शर्माले एक रातमा गीत र धुन तयार गरेका हुन्। करिब ४८ घण्टामा गीतको सम्पूर्ण काम सकिएको थियो। कहिले प्रेमिकालाई देशको माया गर भन्दै आग्रह गर्ने त कहिले हिमालको हिउँजस्तै पवित्र सम्बन्धको अपेक्षा गर्दै गीत लेख्ने शर्मा यस पटक कोरोनाविरुद्ध संसारलाई माया गर्न सिकाउँदै छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.