खुलेको हिमाल, सुनसान फेवाताल (तस्बिर)
पोखरा : विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि नेपाल लकडाउनमा छ । पोखरेली होम क्वारेन्टाइनमा छन् ।
लकडाउनमा रहेका पोखरेली घरबाटै खुलेको मौसममा सुन्दर अन्नपूर्ण हिमश्रृखला हेरेर रमाइरहेका छन् । धेरै जसो समय बादलले ढाकिने कुमारी माछापुच्छ्रे, अन्नपूर्ण हिमाल हिजो आज घुम्टो झिकेर मुस्कुराइरहेका देखिन्छन् । बिहानैदेखि सुनौलो घामले सुन जस्तै टल्किएका छन् । लकडाउनमा पोखरेली युवा हिमालको तस्बिर खिचेर सामाजिक सञ्जालमा सेयर गर्दै रमाइरहेका छन् ।
पोखराबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु देखिन्छन् । यिनै हिमालले विश्वभरका पर्यटकलाई पोखरा आउन वर्षेनी प्रेरित गर्छन् ।

पोखराको मेथलाङबाट सोमबार देखिएको फेवातालको बिचमा रहेका तालबाराही मन्दिर ।
यहाँका ९ ताल पनि उत्तिकै आकर्षक छन् । पोखराको फेवाताल, बेगनास ताल, रुपातालमा हिमालको छाँया देखिन्छन् । ती दृश्य हेर्न पर्यटक लालाहित हुन्छन् । पोखराको फेवाताल विश्व पर्यटन बजारमा प्रख्यात छ । पर्यटकले भरिभराउ हुने अन्नपूर्ण, धौलागिरी, मनास्लु पदयात्रा क्षेत्र यति बेला कोरोना त्रासले पर्यटकविहीन भएका छन् ।
आन्तरिक र वाह्य पर्यटकले व्यस्त रहने पोखराको फेवाताल, बेगनास ताल सुनसान छन् । पर्यटकको सिजन मानिएको चैत महिना कोरोना कहरले पदायात्रामा रहेका र पोखरामा रहेका पर्यटक जहाज नै चार्टड गरेर र बस रिर्जभ गरेर काठमाडौं हुँदै आआप्ना देश फर्किए । भएका पर्यटक पनि लकडाउनका कारण अतिआवश्यक कामबाहेक बाहिर निस्केका छैनन् ।

लकडाउनमा सुनसान पोखराको लेकसाइड जाने सडक र अन्नपूर्ण हिमाल ।
सैले पोखरा घुम्न आउने पर्यटकलाई नौकाबिहार गर्न राखिएका फेवातालका ७ सय ५० डुंगा चल्न छाडेको करिव दश दिन भएको छ । सुन्दर फेवाताल शान्त छ । फेवाताल किनार सुनसान छ । अरवौं लगानी गरेर संञ्चालन भएका होटल, रेष्टुरेन्ट पर्यटक शुन्य भएपछि बन्द छन् ।
सरकारले चैत १० गते बिहान ६ बजेदेखि लगाएको लकडाउन आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले थप एक हप्ता थपेको छ । अब लकडाउन चैत २५ राति १२ बजेसम्म हुने छ ।

पोखराबाट सोमबार देखिएको माछापुच्छ्रे हिमाल ।
सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा पहिलोपटक देखापरेर विश्वभर फैलिएको मान्छेबाट मान्छेमा सर्ने कोभिड १९ कारोना भाइरस नियन्त्रण गर्न शक्ति राष्ट्र अमेरिका, युरोप हायलकायल भएका छन् । यस्तो अवस्थामा नेपाल जस्ता राष्ट्रले सक्रमण फैलन नदिनु नै सबैभन्दा उपयुक्त कदम हुने छ ।

पोखराको फेवाताल र ताल किनारका होटलहरू।
पोखराबाट सोमबार देखिएको अन्नपूर्ण साउथ, मनास्लु हिमाल ।


प्रतिक्रिया दिनुहोस !