गोरखाका होम क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षण हुने
गोरखा : गोरखामा विदेशबाट आइ होम क्वारेन्टाइनमा रहेकाको स्वाब परीक्षण हुने भएको छ । जिल्ला सुरक्षा समिति, कमाण्ड पोष्ट तथा कोरोना विपद व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले उनीहरुको स्वाब परीक्षणका लागि व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।
'विदेशबाट आइ क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा आफूखुसी बस्दै आएका व्यक्तिलाई आवश्यकता र प्राथमिकताका आधारमा अनिवार्य रुपमा स्वाब परीक्षण गर्ने निर्णय भएको छ,' प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, 'सो सम्बन्धी व्यवस्था मिलाउन स्वास्थ्य संघसंस्था, जिल्ला प्रशासन कार्यालय तथा सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय भएको छ । होम क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वाब परीक्षणका लागि नमूना संकलन गर्न घुम्ती टोली खटाई पठाउन सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।'
गत फागुनदेखि गोरखामा तीनसय ९४ जना विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरुमध्ये १९४ जना विदेशबाट आएको १४ दिन पुगिसकेको छ । विदेशबाट आएको ३० दिन पुगिसकेकाको संख्या २८ रहेको कार्यालयले जनाएको छ ।
उनीहरु सबै अहिलेसम्म होमक्वारेन्टानमा नै रहेका छन् । ११ जना भने सामूहिक क्वारेन्टाइनमा रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !