प्रकृतिले दिएको मौका
शरद प्याकुरेल
प्रकृतिले नेपाललाई सतर्क र सचेत हुने मौका दिएको छ। यस्तो बेलामा पनि हामीले हेलचेक्य्राइँ गर्यौँ भने हामीलाई बर्बादीबाट कसैले जोगाउन सक्नेछैन।
के प्रकृतिले नेपाललाई कमजोर, गरिब छ भनेर थाहा पाएर नै छुट दिएको हो त ? पक्कै पनि केही मिलेजस्तो लाग्छ यतिबेला। प्रकृतिले नेपाललाई सचेतना, सतर्कता अनि सुधारका निमित्त महिनौँ दिएको थियो।
संसारमा कयौँ सबल र सफल देश छन्, जहाँ केही कुराको कमी छैन। झन् स्वास्थ्य क्षेत्रको त कुरै नगरौँ। हाम्रो देशभन्दा कयौँ गुणा माथि छ, उनीहरूको स्वास्थ्य प्रणाली। आज तिनै देशका नागरिक विश्वव्यापी महामारीको मारमा परेका छन्। उनीहरूको पैसा, चरम विकास र शक्ति पनि निरीह बनेको छ। यदि हामी नेपालीले बेलैमा बुद्धि नपुर्याउने हो र सचेत नहुने हो भने यसको परिणाम कस्तो होला ? सोच्न पनि सकिन्न। त्यसको ज्वलन्त उदाहरण इटाली, स्पेन, अमेरिकालाई लिन सकिन्छ। मृत्युको भय कस्तो हुन्छ भन्ने महसुस अमेरिकाले गरिरहेको छ भने इटाली आफ्ना नागरिकको लाशैलाश देख्न बाध्य भएको छ। उनीहरूसँग स्रोत र साधनको कमी भएर हो त ? पक्कै पनि होइन। बेला–बेलामा देखापर्ने यस्ता विश्वव्यापी महामारीले गरिब, धनी भनेर छुट्याउँदैन।
प्रकृतिले नेपाललाई सतर्क हुने मौका दिएको छ। यस्तो बेलामा पनि हामीले हेलचेक्य्राइँ गर्यौँ भने हामीलाई बर्बादीबाट कसैले जोगाउन सक्नेछैन। त्यसैले एक मात्र उपाय सामाजिक दूरी नै हो। किनकि, यस्तो महामारीसँग लड्न सक्ने आधार हाम्रो देशमा सबल देखिन्न। पर्याप्त हस्पिटल, डाक्टर, नर्स अनि सक्षम र सफल हेल्पिङ सेन्टर भएका, औषधि उत्पादन गरेका देशको हालत त यस्तो छ भने हामी त ‘ईश्वर भरोसा’मा छौं। त्यसैले तपाईं–हामी सबै मिलेर पहिला आफ्नो छिमेक, समाज हुँदै सिंगो देशलाई जोगाउन तत्पर हुनुपर्छ।
विकसित देशमा पनि नेपालमा जस्तै एकदुई मात्र केस थिए। अहिले नेपालमा पनि संक्रमितको संख्या एक हुँदै नौसम्म पुगेको छ। हामी सम्पूर्ण नागरिक सचेत हुने हो भने पक्कै पनि बढ्ने क्रमलाई रोक्न सकिन्छ। त्यसैले बेलैमा सचेत बनौँ। विकसित देशबाट विकास त भिœयाउन सकेनौँ, कम्तीमा देशको विनाशबाट कसरी बच्ने भन्ने यिनै शक्तिशाली राष्ट्रबाट सिक्न सक्छौँ। लकडाउनभन्दा उत्तम विकल्प नेपालका लागि छैन। नजानेकालाई जानेकाले बुझाऔँ। अप्ठ्यारोमा परेकालाई सहयोग गरौँ। यसरी हामी पूरै देशलाई बचाइरहेका हुन्छौँ। देश रहे हामी रहन्छौँ, हामी रहे देश रहनेछ।
गोठाटार, काठमाडौँ