जीवन बुझाइदिएकोमा धन्यवाद कोरोना !
महेश श्रेष्ठ
अबका दिनमा हाम्रो जिउने शैलीमा ठूलो परिवर्तन आउनेछ । जीवनबाट प्रतिस्पर्धा एकाएक हराउँदै छ । सम्पन्नताका लागि धन जम्मा गर्नेले आज भोकै मर्न नपरोस् भनेर खानेकुराको जोहो गर्दै छन् । मानिस सार्थक जीवन बाँच्न सिक्दै छन् ।
केही समयपछि ‘कोभिड–१९’ को महामारी हराएर जानेछ । तर, विश्व भू–राजनीति र अर्थतन्त्रमा निकै फेरबदल हुने अनुमान गरिँदै छ । वातावरणमा उल्लेख्य सुधार भइसक्नेछ । गरिबी झनै बढ्नेछ । यस्ता थुप्रै उतारचढावका हामी साक्षी हुनेछौँ ।
यी कुराले नीति–निर्माण तहमा पुगेका मानिसलाई निकै प्रभाव पार्न सक्छ । आम मानिसको व्यक्तिगत जीवनमा त्यति धेरै असर पुर्याउँदैन । तर, यसले मान्छेको जीवनप्रतिको दृष्टिकोणमा भने परिवर्तन ल्याउनेछ । इतिहासमा यस्तो अवसर बिरलै आएको छ, जसले विश्वभरका मानिसको मथिंगललाई एकसाथ हल्लाइदिएको होस् । कोरोनाको प्रकोप पैmलिँदै गर्दा विश्वकै धनी बिल गेट्सले केही दिनअगाडि ‘जीवनमा धनको महत्त्व त्यति धेरै छैन भन्ने कुरा कोरोना भाइरसले प्रमाणित गरिदिएको’ बताएका थिए । कोराना प्रकोपले शक्तिशाली देशका राष्ट्रप्रमुखलाई निरीह बनाइदिएको छ । संक्रमणले विश्वको एक कुनामा मानिसको मृत्यु भइरहँदा अर्को कुनाका मानिस घरभित्रै थन्किएका छन् ।
मनोविज्ञान भन्छ, जसमा डर हुन्छ, उसले उति नै सुरक्षा व्यवस्था कडा पारेको हुन्छ । शक्ति राष्ट्रहरूले हतियार सञ्चय गर्ने, हजारौँ सैनिकको व्यवस्था गर्ने गरेका छन् । सामाजिक ओहदामा भएकाले आफ्नो सुरक्षामा अन्यका तुलनामा विशेष ध्यान दिन्छन् । सम्पन्न हुँदै जाँदा मानिसले दुनियाँलाई ‘शक्तिशाली हुँ’ भन्ने भ्रम सिर्जना गर्छ । तर, उसको घर वरपर अग्लिँदै गएको कम्पाउन्ड, आँगनमा छाडिने कुकुर र गेटमा बस्ने गार्डले ऊभित्रको डरलाई दर्शाउँछ ।
मृत्यु जीवनको महत्त्वपूर्ण पाटो हो र मृत्यु सबैभन्दा ठूलो डर पनि हो । जिउने कला त्यसले जान्यो, जसले मृत्युको डरलाई ढाकछोप गर्दैन । बरु, आफूभित्रको डरलाई स्वीकार गर्छ । मृत्युको डरलाई सम्पूर्ण रूपमा स्विकारिएको दिन मान्छेको जीवनप्रतिको आशक्ति हराउँछ । कोराना भाइरसका रूपमा हामीले आफ्नो मृत्युलाई दिन प्रतिदिन झन्झन् नजिक आउँदै गरेको महसुस गरिरहेका छौँ । अधिकांशलाई कोरोना लागेर मर्नु नपरे हुन्थ्यो भन्ने पिर परेको छ । मन परिवर्तन गर्न मृत्युको डरलाई स्विकार्न आवश्यक छ । जीवनप्रतिको आशक्ति घटाउन भगवान् बुद्धले आफ्ना शिष्यहरूलाई सुरुमै मसानघाटमा गएर लाश जलाउँदै गरेको दृश्य देखाउँथे ।
अबका दिनमा हाम्रो जिउने शैलीमा ठूलो परिवर्तन आउनेछ । आम मानिसको जीवनबाट प्रतिस्पर्धा एकाएक हराउँदै छ । सम्पन्नताका लागि धन जम्मा गर्नेले आज भोकै मर्न नपरोस् भनेर खानेकुराको जोहो गर्दै छन् । आफ्नो कार्य क्षेत्रमा सफल बन्न बैठक बस्नेहरू आज परिवारसँग भलाकुसारी गर्दै छन् । हिजो सडकमा अलपत्र परेका श्रमिकलाई हेलाँ गर्नेले आज तिनीहरूलाई खानेकुराको व्यवस्था गरिरहेका छन् । कुर्सीमा बसेर भविष्यका लागि नयाँ योजना कोर्नेले घरको सरसफाइ गरिरहेका छन्, घरमा कपडा धोइरहेका छन्, खाना पकाइरहेका छन् । मृत्युको डरले झस्काउँदा मानिसले स्वादभन्दा पोषणमा ध्यान पुर्याएका छन् । पार्टी र नाचगानभन्दा योग र ध्यानप्रति आकर्षित हुनेको संख्या बढ्दै छ । मानिसले सार्थक जीवन बाँच्न सिक्दै छन् । जीवनचर्यामा आएका यस्ता परिवर्तनले तुरुन्तै त मानिसको मन परिवर्तन नगर्ला, तर केही हप्ता, महिना अझै यसरी नै बिताउनुपर्यो भने थुप्रैको जीवनप्रतिको सोच र बाँच्ने शैलीमा निकै परिवर्तन आउन सक्छ । यस अर्थ यो समय हाम्रो लागि जीवनलाई नजिकबाट नियाल्ने एउटा अवसर हो ।
जसले बाँच्ने कला सिक्यो, उसले मर्ने कला पनि जान्दछ । वास्तवमा जीवनको लम्बाइ होइन, कसरी जीवन बाँचेको हो भन्ने कुरा महत्त्वपूर्ण छ । ढिलोचाँडो एक दिन मर्नैपर्छ । तर, ‘सन्त्रासमा होइन, सार्थक मृत्यु वरण गर्नेछु’ भन्ने कुरा मनन गर्नुपर्छ ।