लकडाउनमा पोखरा : खुला हिमाल, सुनसान सहर (फोटो फिचर)
पोखरा : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई नियन्त्रण गर्न चैत ११ गते देखि नेपाल लकडाउनमा छ। पोखराका मुख्य बजार सुनसान छन्। अतिआवश्यक सवारी साधन बाहेक अन्य सवारी साधन ठप्पछन्।
तरकारी, खाद्यन्न, औषधि किन्न बजारमा जानेबाहेक पछिल्लो समयमा बिना काम बाहिर निस्कने कम हुँदै गएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय सहरको पनि राजधानी मानिन्छ।
पर्यटक अन्नपूर्ण, धौलागिरी, मनास्लु हिमाल क्षेत्रको पदयात्रा गर्न वर्षेनी ठूलो संख्यामा आउने गर्दछन्। पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ। फेवातालमा देखिने अन्नपूर्ण हिमश्रृखला, धवलागिरी हिमालको प्रतिबिम्म भएको पोष्टर र पोष्टकार्ड नेपालकै सर्वाधिक बिक्री हुने मध्येमा पर्दछ।
पोखरा मंगलबार राति परेको हावाहुरीसहितको पानीपछि बुधबार बिहानैदेखि मध्यान्हसम्म हिमाल मुस्कुराए। माछपुच्र्छे, अन्नपूर्ण र धौलागिरी हिमालको फेवातालमा प्रतिबिम्ब निकै सुन्दर देखिएको थियो। लकडाउनको कारण पोखरामै रोकिएका चारजना जापानी पर्यटक सुन्दर हिमालको अवलोकन गर्दै मुस्कुराए। घर जान नपाए पनि यहाँको प्राकृतिक सुन्दरताको अवलोकन गरेर यहाँको मनकारी नेपालीको आतिथ्यका कारण घरमै बसेको अनुभव भएको जापानका २९ वर्षीय आकी हारानागाले बताए। पोखराको फेवाताल किनारबाट बुधबार माछापुच्छ्रे हिमालको अवलोकन गर्दै जापानका पर्यटक। जापान सरकारले जहाज चार्टड गरेर आफ्नो नागरिक लगे पनि महंगा भाडाका कारण घर फर्कन नसकेको जापानी पर्यटकले बताए। कोरोना भइरसको कारण अन्तर्राष्ट्रिय उडान रोकिएपछि पर्यटक अझै पोखरामा दुई सय बढी छन्।
पोखरामा मंगलबार राति पानी परेपछि खुलेको माछापुच्छ्रे हिमाल।
पोखराको बाग्लुङ बसपार्क हुँदै बुधबार गन्तव्य तर्फ जाँदै पैदल यात्रु।
पोखराको चिप्लेढुङ्गाको सडक पेटीमा तरकारी बिक्री गर्न बसेका व्यवसायी।
पोखराको न्यूरोडबाट बुधबार देखिएको अन्नपूर्ण हिमाल र गन्तव्य तर्फ जाँदै स्थानीय।
पोखरा महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले बुधबार वितरण गरेको राहात सामाग्री लिनेको लाइन।
सडकमा हिँडेका युवाको ज्वरो नाप्दै सशस्त्र प्रहरी बल मालेपाटनका स्वास्थ्यकर्मी।
पोखराको लेकसाइडमा बस्ने पर्यटक सुपरमार्केटमा सामान किनेर होटल तर्फ जाँदै।
तस्बिर : कृष्णमणि बराल
प्रतिक्रिया दिनुहोस !