ध्रुवचन्द्र र सरुभक्तलाई पुरस्कार
काठमाडौं : वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले साहित्यकार डा. ध्रुवचन्द्र गौतमलाई वसुन्धरा श्री पुरस्कार र सरुभक्तलाई मान श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। वसुन्धरा श्री पुरस्कारको रकम ७५ हजार तथा मान श्री पुरस्कारको रकम ५० हजार रुपैयाँ रहेको छ। वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानका सचिव कृसु क्षेत्रीका अनुसार पुरस्कार आगामी असोज १३ गते प्रदान गरिनेछ।
साहित्यकार गौतमका अन्त्यपछि, बालुवामाथि, डापी, कट्टेल सरको चोटपटक, अलिखित, निमित्त नायक, एक सहरमा एक कोठा, स्व. हीरादेवीको खोज, दुविधा, अग्निदत्त अग्निदत्त, फूलको आतंक, तथाकथित, बाढी, उपसंहार अर्थात् चौंथो अन्त्य, मौन, भीमसेन– ४ को खोजी र घुर्मी उपन्यासलगायत अन्य संयुक्त उपन्यास प्रकाशित छ। त्यस्तै उनका कथासंग्रह र नाटक कृति पनि प्रकाशित छन्।
साहित्यकार सरुभक्तका बन्द खामभित्र र हजार बुद्धहरू (मुक्तक संग्रह), बोक्सीको आह्वान र घोषणापत्र, कवि, प्रेमी र पागल, प्रयोगशालाभित्र र इथर समय (कविता संग्रह), मनभरि माटोभरि (गीतसंग्रह), ज्यानमारा, कुरूप मसिहा र झुमा (खण्डकाव्य), एक अभिनवको आत्मकथा, छोरी ब्रह्माण्ड, र यामागल (कथासंग्रह), पागल बस्ती, समय त्रासदी, तरुनी खेती, चुली, अँध्यारो कोठा र प्रतिगन्धलगायत उपन्यास तथा नाटकसंग्रह पनि प्रकाशित छन्।