फुटबलजस्तै हो, लकडाउन

फुटबलजस्तै हो, लकडाउन

लकडाउन फुटबल खेलको हिसाबले भन्ने हो भने डिफेन्स बलियो बनाएजस्तो मात्रै हो। तर, फुटबल जित्नलाई डिफेन्स बलियो बनाएर मात्रै हुँदैन। डिफेन्ससँगै मिडफिल्ड सशक्त हुनुपर्‍यो, स्ट्राइकर सशक्त हुनुपर्‍यो।


कोरोना भाइरसले निम्त्याएको संकटले गर्दा अहिले राजनीतिक जीवन, पारिवारिक जीवन, व्यावसायिक जीवन सबैले आत्मसमीक्षा गर्ने बेला आएको छ। हामी सबै अहिले घरमा बसेका छौँ। म पनि अहिले परिवारसँग छु। श्रीमती, छोराछोरीसँगै छु। मेरो भोगाइको प्रकृति पनि अरू मान्छेको जस्तै छ। छोराछोरीसँग खेल्ने, घरायसी काममा सहभागी हुनेलगायत। खासै फरक छैन।

परिवारका सदस्यका साथ समय बिताउनेबाहेक यो समयमा अहिले अलि बढी सूचना लिने, समन्वय गर्ने काममा व्यस्त छु । मेरो दिनचर्या बिहान अहिले पनि तीनचार किलोमिटर हिँडेर सुरु हुन्छ। त्यसपछि योग गर्छु। घरबेटी दाइको छोरासँग ब्याड्मिन्टन खेल्छु। त्यसपछि फ्रेस भएर खाजा खाएर देशभर कहाँ, कता के भइरहेको छ, सम्पूर्ण कुराको अपडेट लिन्छु। विश्वमा के भइरहेको छ, हेर्छु। पार्टीका साथीहरूसँग सम्पर्क गर्छु। त्यसपछि अन्य लेख, समाचार अध्ययनमा समय बिताउँछु।

त्यसबाहेक अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यो पनि वहन गरिरहेको छु। मसँग अहिले दुई वटा जिम्मेवारी छन्। विविध सन्दर्भमा पार्टीका धारणा प्रवाह गर्ने काम एउटा छ। यसमा विभिन्न छलफल, अन्तरक्रिया गरेर धारणा सार्वजनिक गरिरहेको हुन्छु। सरकारले गरेका काम वा गर्नुपर्ने काममा खबरदारी गर्न पार्टीको तर्फबाट धारणा प्रवाह गर्ने काम गरिरहेको छु। यस्ता धारणा अहिलेलाई लाइभ वा अन्य ढंगले सम्प्रषेण गर्ने गर्छु। त्यसबाहेक घरमै पुस्तक पढ्ने र सिर्जनात्मक काम पनि गर्ने गर्छु।

लकडाउनको यो समयमा अहिले गरिरहेका सबै काम प्रायः प्रविधिमार्फत नै गरिरहेको छु। सूचना तथा सञ्चार प्रचार विभागको प्रमुख भएको नाताले मैले सबै क्षेत्रको सम्पर्कमा पुग्नुपर्छ। त्यसका लागि हामीसँग एउटा नेटवर्क  छ। सूचनाको पहँचका लागि मेचीदेखि महाकालीसम्म, तराईदेखि पहाडसम्मका साथीहरूको एउटा सूचना नेटवर्क बनाएका छौँ।  त्यो नेटवर्कमा विभिन्न समुदायका मानिस पनि हुनुहुन्छ। यसमा हामी नियमित रूपमा के भइरहेको छ भनेर घटनाको विश्लेषण पनि गर्छौं, छलफल गर्छौं। त्यो नेटवर्कबाट पाएको सूचनाको आधारमा पार्टीको धारणा निर्माण गर्ने गर्छौं। त्यसपछि आवश्यकताअनुसार पार्टीको नेतृत्वसँग छलफल र परामर्श गर्ने गरिरहेको हुन्छु। यस्ता सबै किसिमको कार्यमा धेरैजसो प्रविधिमार्फत नै गरिरहेका छौँ।

लकडाउनको केही समयअगाडि एउटा गीत सार्वजनिक गरेँ। सुरुमा मेरो छोरीको गीत निकाल्न लागेको थिएँ, तर पछि त्यसलाई रोकेर अर्को गित निकाल्यौँ। लकडाउन हुनुभन्दा १० दिनअघिको समय हो। जुन बेला लकडाउनमा नपुगिन पनि सकिन्छ भन्ने सोचाइ थियो सबैको। नयाँ वर्षको अवसर पारेर छोरी स्वीकृतिले ‘मिसले सोध्नुभयो कक्षामा’ भन्ने बोलको गीत सिर्जना गरेकी थिइन्। उनको त्यो शब्दमा मैले बनाएको धुनलाई भरियो। चैत २ गते छोरीको स्वरमा त्यो रेकर्डसमेत गरियो। तर, पछि कोरोना सन्त्रास बढ्दै गयो। त्यसैले त्यो गीत ल्याउनुभन्दा कोरोनाको सन्त्रास बढेको बेला सचेतनाको सामग्री ल्याउनुपर्छ भन्ने लाग्यो। छोरीको गीत रेकर्ड गरेर म्युजिक भिडियो पनि सकिएको थियो। त्यसलाई थाँती राखेर चैत ६ मा अर्को गीत ‘आऊ माया गरौँ’ सिर्जना गरेँ। जुन गीतलाई प्रमोद खरेल र शीतल मुक्तानले गाउनुभएको छ। यो गीत नेपाली र अंग्रेजी दुवै भाषमा छ। गीत तीन मिनेटको छ। गीतमा ‘आऊ माया गराँै मान्छेले मान्छेलाई, प्रकृतिलाई माया गरौँ’ भनिएको छ। त्यहाँ कहीँ कतै पनि कोरोना शब्द उल्लेख गरिएको छैन। तर, पनि यो गीत कोरोनासँग सम्बन्धित विषयमै छ। शब्द र संगीत मेरै हुन्। गीत देशमा लकडाउन हुनुभन्दा एक दिनअघि हाइलाइट नेपालबाट रिलिज गरिएको थियो।

यसबाहेक सरकारको कामलाई पनि नियालिरहेको हुन्छु। यो बीचमा सरकारलाई घच्घच्याउन प्रधानमन्त्रीलाई पत्र पनि लेखेँ। अहिलेको सरकारको कामलाई सकारात्मक र कमजोरीको पाटो गरेर हेर्न सकिन्छ। कोरोना भाइरसको परीक्षण पहिला जति हुन्थ्यो, अहिले त्योभन्दा बढी ठाउँबाट हुन्छ। तर, परीक्षणको गति चाहिँ एकदमै कछुवाको जस्तो भयो। हामी बल्ल १० हजार हाराहारीमा पुग्दै छौँ। अहिले त हामीले व्यापक परीक्षण गरेर सुरक्षित हुनुपर्ने बेला हो। संक्रमितलाई छुट्याएर उपचार गर्ने बेला हो। तर, हामी कमजोर नै छौँ।

इटाली र स्पेनको उदाहरण लिने हो भने लकडाउन त त्यहाँ पनि भएको थियो। तैपनि, महामारीको संकटलाई जित्न सकेनन्। लकडाउन चाहिँ फुटबल खेलको हिसाबले भन्ने हो भने डिफेन्स बलियो बनाएजस्तो मात्रै हो। तर, फुटबल जित्नलाई डिफेन्स बलियो बनाएर मात्रै पनि हुँदैन। डिफेन्ससँगै मिडफिल्ड सशक्त हुनुपर्‍यो, स्ट्राइकर सशक्त हुनुपर्‍यो। तर, फुटबलको मैदानमा इटालीको जस्तो अवस्थामा हामी पुग्दै छौँ। हामीसँग फुटबलको जर्सीको अभाव भनेजस्तै पीपीईको अभाव, किटको अभाव, आइसोलेसनको अभावलगायत धेरै अभाव छन्। हामीसँग भेन्टिलेटर छैन। जुन किसिमको तयारी हुनुपर्ने हो, त्यो छैन। विगतमा झाडापखालाको तयारी गरेजस्तै तयारी गरेर कोरोनामाथि विजय प्राप्त गरिएला भन्ने छ। हाम्रो तयारी अपर्याप्त छ।

खासमा लकडाउन भएपछि एक किसिमको ढुक्कको अवस्था देखियो। अब फैलिँदैन भन्ने भएर बसियो। समस्या भने जहाँको तहीँ रह्यो। यसले लकडाउनपछिको तयारी नभएको देखाउँछ।

अझै पनि चिकित्सक ढुक्क हुने अवस्था छैन। उदाहरणका लागि, काठमाडौँमा २० जना संक्रमित देखिए भने उपचार गर्ने ठाउँ सुरक्षित अलग्गै गरिएन। पब्लिक हस्पिटल पुर्‍याइयो। हस्पिटलमा परीक्षण गर्ने चिकित्सक सुरक्षित रहेनन् भने खराब अवस्था सिर्जना हुन्छ। इटालीमा पनि नियमित रूपमा उपचार गरिने अस्पतालमा कोरोनाको उपचार गरिएको हो,  जसले ठूलो समस्या निम्त्यायो। अन्य कुरामा स्थानीय तहमा राम्रैसँग समन्वय भएर काम भइरहेको नै देखिएको छ। म बसेको जिल्लामा पनि स्थानीय तहले काम गरिरहेका नै छन्। मेरो क्षेत्र मेचीनगरमा राम्रो समन्वय गरेर साथीहरूले काम गरिरहनुभएको छ।

(उपेन्द्र अर्यालसँगको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.