कोरोना कहर :  पोखरामा पर्यटक खोज्दै प्रहरी

कोरोना कहर :  पोखरामा पर्यटक खोज्दै प्रहरी

पोखरा : चैत्र महिनायता विदेशबाट घर फर्केका नेपालीलाई सरकारले सेल्फ क्वारेन्टाइनदेखि क्वारेन्टाइनमा राख्ने र उनीहरुको अनिवार्य र्‍यापिड टेष्ट गरिने प्रावधान ल्याएको छ।  तर त्यती नै बेला नेपाल छिरेका विदेशी पर्यटकको हकमा भने कुनै प्रक्रिया पूरा नगरी स्वतन्त्र छाडि दिएको छ। 

पर्यटक प्रहरी कार्यालय पोखराले हालै संकलन गरिरहेको पर्यटकको तथ्यांकमा मंगलबारसम्म ३ सय २१ पर्यटक सम्पर्कमा आएको जनाएको छ। पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख गणेश खनालले उक्त संख्यामा विदेशी पर्यटक रहेको जानकारी दिए।

ती पर्यटक कहिले नेपाल प्रवेश गरेको र पोखरा कहिले आएको डिटेल समेत राख्ने क्रममा अहिलेसम्म २६ जना पर्यटक लकडाउन अघि चैत महिनामा नेपाल प्रवेश गरेको पाइएको उनले बताए । धेरै पर्यटक तीन महिनादेखि दुई तीन वर्षअघि देखि पोखरा बसिरहेको पाइएको छ । 

केही पर्यटक कहिले नेपाल प्रवेश गरेको डिटेल लिन सम्बन्धित होटल संचालकसँग समन्वय गरी संकलन कार्य भइरहेको उनले जानकारी दिए । चैत महिनामा विभिन्न देशहुँदै नेपाल प्रवेश गरेर अहिले पोखरामा रहेका पर्यटक न सेल्फ क्वारेन्टाइनमा बसेका छन् । नत उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट भएको छ । निस्फीक्री रुपमा पोखराको लेकसाइडमा उनीहरु घुमीरहेको पर्यटन व्यवसायीले बताएका छन्।
 
पर्यटक प्रहरी कार्यालय पोखराले अहिले कोरोना लागेको छैन भन्ने ढुक्‍क हुन चाहाने पर्यटकलाई र्‍यापिड टेष्ट गर्ने व्यवस्था मिलाउन पहल भने गरेको बताएको छ । सक्रमण छैन भन्ने ढुक्क‍ हुन चाहाने पर्यटकलाई टेष्ट गरान अस्पताल लग्ने र ल्याउने काम पर्यटक प्रहरी कार्यालय पोखराले गत बिहीबारदेखि सुरु गरेको छ। एकजना अमेरिकी पर्यटकको चाहाना अनुसार र्‍यापिड टेष्ट भएको र रिपोट नेगेटिभ आएको खनालले जानकारी दिए । टेष्ट गर्ने किटको अभाव भएकाले अरु पर्यटकले चाहेर पनि टेष्ट गर्न नसकेको उनले बताए ।   

पोखरामा अहिले सबैभन्दा धेरै भारतीय पर्यटक ६४, चिनियाँ पर्यटक ६०, फ्रान्सका ३४, जर्मनका १४ जना रहेको उनले बताए । जापान, अमेरिका, बेलायत, इटाली, स्पेन, पोल्याण्ड, अर्जेन्टिना, मलेशिया, कोरिया, नेदरल्याण्ड लगायतका विभिन्न देशका पर्यटक पोखराका होटल, होमस्टे, अर्पाटमेण्टमा बस्दै आएका छन् । सम्पर्कमा आएका पर्यटकमध्ये धेरैजसो यही बस्न चाहेको पनि पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख खनालले जानकारी दिए । 

पोखरामा रहेका विदेशी नागरिकलाई र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) र कोरोना संक्रमणको सिम्टम भएकाको स्वाब टेष्ट गर्न पर्यटन व्यवसायीले अनुरोध गरेका छन् ।  विदेशबाट नेपाल आएका नेपालीको मात्र होइन कोरोना फैलिसकेपछि नेपाल आएका पर्यटकको खोजी गरी सबै पर्यटकको पनि अनिवार्य रुपमा टेष्ट गर्नु पर्यटन व्यवसायीले अनुरोध गरेका हुन् । 

पोखरामा रहेका सबै पर्यटकको अनविर्यरुपमा कोरोना सक्रमण छ छैन टेष्ट गर्नुपर्ने पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले बताए ।  पोखरामा रहेको पर्यटक निस्फीक्री घुम्ने गरेको उनले सुनाए । चैत महिनामा युरोपमा संक्रमण बढिसकेको थियो भने अमेरिकामा पनि संक्रमण फैलिसकेको थियो । कुन समयमा नेपाल भित्रिएका हुन् उनीहरु नेपाल भित्रिएको ट्राभल्स हिष्ट्री हेरेर ३÷४ महिनाअघिदेखि पोखरामै बसेका र पछिल्लो समय आएका छुट्याएर कोरोना सक्रमण भए नभएका पर्यटकको टेष्ट गरिनुपर्नेमा उनले जोड दिए । 

पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईले कम्तीमा चैत महिनामा आएका पर्यटकको र्‍यापीड टेष्ट गर्नुपर्ने बताए । गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रायलले गत वर्षदेखि प्रदेशमा आएका पर्यटकको तथ्याङ राख्दै अएको भए पनि यस विषयमा सम्वेदनसिल नदेखिएको उनले बताए ।  

पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक विधानसिंह क्षेत्रीसहितको टोली मंगलबार लेकसाइडमा विना काम हिँडेका पर्यटकलाई सुरक्षित रुपमा होटलमै बस्न सम्झाउँदै थिए । आवश्यक सामग्री लिन बाहेक बिना काम बाहिर ननिस्कन उनले बाहिर निस्केको पर्यटकलाई संझाए । उनले भने, 'हामीले बिना काम बाहिर ननिस्कन पोखराको लेकसाइडमा रहेका पर्यटकलाई ठाउँ ठाउँमा गएर सम्झाइरहेका छौं।'

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पर्यटक कति छन् र पछिल्लो समय कति आएका हुन् आफूलाई सूचना नभएको बताए ।  यस विषयमा छिट्टै नै सूचना लिएर होटलमै क्वारेन्टाइनमा राख्ने र परीक्षण गरिने उनले सुनाए । गण्डकी प्रदेशमा आएका पर्यटकको अंग्रेजी महिनाको फ्रेबुअरीसम्मको डाटा तयार भएको र मार्च महिनाको डाटा तयारीको अन्तिम चरणमा रहेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सूचना अधिकारी शिव परियारले जानकारी दिए । अहिले पोखरामा १ सय ७७ पर्यटक रहेको उनले सुनाए । 

सरकारले चैत ११ देखि कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन लगाएको छ । लकडाउनको अवधीमा अहिले सम्म पोखरामा रहेका ८ सय ७९ पर्यटक घर फर्कन चाहेपछि पर्यटक प्रहरी कार्यालय, नेपाल पर्यटन बोर्ड, पोखरा पर्यटन परिषद, नाटा लगायतको समन्यवमा काठमाण्डौं पठाइएको पर्यटक प्रहरी कार्यालय पोखराले बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.