पोखरामा बाहिरी जिल्लाबाट पनि तरकारी आयात गरिने
पोखरा : पटक-पटक परेको असिनाको कारण पोखरामा तरकारी उत्पादन घटेको छ । पोखरामा दैनिक २० देखि ३० टन तरकारी उत्पादन हुने गरेकोमा असिनाको कारण उत्पादन घटेको हो ।
ठाउँ बिराइ पोखरामा पटक-पटक असिना पर्दा करोडौँ मूल्यको तरकारीमा क्षति पुगेर दैनिक १२ देखि १४ टन मात्र तरकारी उत्पादन हुने गरेको पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
कास्कीमा उत्पादन हुने तरकारीले वर्षभरि एभरेजमा पोखराको कुल खपतको ३० देखि ४० प्रतिशत मात्र माग धान्ने उनले बताए । यहाँ आवश्यक बाँकी ६० देखि ७० प्रतिशत तरकारी तनहुँ, स्याङ्जा, धाधिङ, चित्वन लगायतका जिल्ला र छिमेकी मुलुक भारतबाट समेत आयात हुने गर्दछ ।
लकडाउनको कारण होटल, रेष्टुरेण्ट बन्द हुनु र विभिन्न जिल्ला र गाउँमा घर भइ पोखरा महानगरमा बस्दै आएका घर फर्केको कारण पहिलेको भन्दा माग कम भए पनि कास्की जिल्लाको उत्पादनले मात्र अपुग हुने भएकोले बाहिरी जिल्लाबाट पनि बिहीबारदेखि तरकारी आयातका लागि खुला गरिने भएको छ ।
पोखरा महानगरपालिकामा बुधबार कास्कीका प्रमुख जिल्ला अधिकारीसहित महानगर प्रमुख लगायतको बैठकले तरकारीको माग भन्दा उत्पादन कम भएकोले बाहिरी जिल्लाबाट पनि तरकारी आयात गर्ने निर्णय गरेको हो । तरकारी आयात गर्दा स्थानीय पालिकाले यहाँ उत्पादिन तरकारी हो भन्ने सिफारिस भने अनिवार्य रुपमा गरेको हुनु पर्ने छ ।
कोभिड १९ को कारण बाहिरी जिल्लाबाट ल्याइने तरकारी उपयोग गर्दा जोखिम हुने भएकोले ग्रहाक स्थानीय उत्पादन नै खोज्ने गरेका छन् । कास्कीको तरकारी मात्र बजारमा आउँदा कम तरकारी भएको बेलामा पनि किसानले कम मूल्य पाउने तर बिचौलीयाको कारण तरकारी बजारमा महंगो भएको थियो ।
किसानले उत्पादन गरेको तरकारी, दूध बजारसम्म ल्याउन महानगरपालिकाले समन्वय गरेको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले बताए । कृषि सामाग्री ढुवानीकालागि कृषि सहकारीले अनुदानबाट प्राप्त गाडी, प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजनाबाट अनुदानमा प्राप्त गाडी, पोखरा महानगरपालिकाबाट अनुदानमा प्राप्त गाडी र कृषि सहकारीले भन्सार छुटमा ल्याएको गाडीबाट दैनिक तरकारी, दूध ढुवानीका लागि महानगरपालिकोले समन्वयमा सहज र सुपथमा सेवा उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । मल, बिउ विजन, ट्याक्टर समयमै उपलब्ध गराउन पनि महानगरपालिकाले ब्यवस्था मिलाइ रहेको उनले सुनाए ।
कास्कीमा पछिल्लो समयमा कुखुरा र अण्डामा कुनै महिनाबाहेक आत्मनिर्भर रहेको र अहिले लकडाउनको समयमा पनि अवको १४-१५ दिनसम्म कुखुराको मासु प्रशस्त रहेको उनले बताए । १५ दिनपछि भने नयाँ उत्पादनतर्फ कोरोना भाइरसका कारण किसानलाई केही कठिनाइ भएकोले समस्या पर्ने तर्फ पनि महानगर सचेत रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !