कोरोना महामारीः ह्याकरलाई मौका

कोरोना महामारीः ह्याकरलाई मौका

- सृजना खड्का

चैत २६ गते इन्टरनेट सेवाप्रदायक ‘भायनेट’को प्रणालीबाट ग्राहकको तथ्यांक चोरी भयो। सफ्टवेयर ह्याकरले कम्पनीको प्रणाली ह्याक गरी ग्राहकको विवरण चोरेको थियो। कम्पनीले घटना भएको भालिपल्ट यसबारे जानकारी पाएको थियो। कम्पनीको प्रणाली ह्याक गरी ह्याकरले करिब १ लाख ६० हजार प्रयोगकर्ताको विवरण चोरेको थियो।

०००

त्यसको दुईदिनपछि अर्थात् चैत २८ गते बेलुका प्रभु मनी ट्रान्सफरको डाटा ह्याक गर्ने सूचना सामाजिक सञ्जाल ट्वीटरमा फैलियो। यो सूचना आएको केही बेरमा राति ९ बजेपछि ह्याकरले केही नाम र इमेलसहितको विवरण सार्वजनिक गर्‍यो। प्रभु मनी ट्रान्सफरबाट भएको कारोबार भनिएका ती विवरणमा कारोबार गर्ने व्यक्तिका नाम र फोन नम्बर उल्लेख गरिएका थिए।

०००

नेपालका विभिन्न वेबपेज र डाटा प्रणालीमा अनधिकृत पहुँच बनाउँदै आएको ह्याकरले वैशाख ३ गते एनपी डोमेनमा पनि साइबर हमला गर्‍यो। मर्कन्टाइल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दै आएको एनपी सर्भरमा ह्याकरले पहुँच पुर्‍याएको थियो। अनलाइनमार्फत खाना–खाजा डेलिभरी गर्ने ‘फुडमान्डू’ र ‘भायनेट’का ग्राहकको व्यक्तिगत विवरण बाहिर ल्याएको ह्याकरले नै एनपी डोमेनमा पहुँच बनाएको अनुमान गरिएको थियो। ट्वीटरमा ‘सटान’ नाममा रहेको ह्यान्डलले एनपी डोमेनमा सुरक्षा कमजोरी रहेको औँल्याइएको थियो। त्यसलगत्तै ह्याकरले एनपीको सर्भरमा आक्रमण गरेर पहुँच बनाएको मर्कन्टाइलले जनाएको थियो। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार वैशाख १ गते राति १० बजेर ३७मिनेटमा कम्पनीको सुरक्षा प्रणालीमा हमलाको प्रयास भएको थियो। २५ वर्षदेखि एनपी डोमेनको व्यवस्थापन गर्दै आएको मर्कन्टाइलले हाल ८३ हजार व्यक्तिगत तथा व्यावसायिक कम्पनीलाई सेवा दिइरहेको छ।

लकडाउनमा अनलाइन कारोबार जोखिमपूर्णः क्यान अध्यक्ष

कोरोना महामारी फैलिएको यो समयमा विश्वभर साइबर अपराध बढेको छ। गुगलका अनुसार इन्टरनेटमा सहज रूपमा फसाउन सकिने शिकारको खोजीमा रहेकासाइबर अपराधीहरूले हरेक दिन कोरोनाबारे १ करोड ८० लाख इमेल पठाइरहेका छन्। उनीहरूले इमेलमार्फत प्रयोगकर्तालाई अनेक लोभ देखाउँदै उनीहरूको क्रेडिट कार्ड विवरण, पासवर्डजस्ता निजी जानकारी प्राप्त गर्ने कोसिस गरिरहेका छन्।

साइबर सुरक्षा कम्पनी ‘बार्राकुडा’का अनुसार कोरोना महामारीका बेला ठगीको योजना राखेर इमेल पठाउने क्रममा ६ सय ६७ प्रतिशतले वृद्धि भएको छ। यस्ता साइबर अपराधी फेक इमेल र एसएमएस पठाइरहेका छन्। यसरी लकडाउन अवधिमा अनलाइन कारोबार असुरक्षित बन्न थालेको देखिएको छ। हाल धेरै मानिसको पहुँचमा रहेको डिजिटल भुक्तानी प्रणाली अझ बढी असुरक्षित रहेकोसरोकारवालाहरू बताउँछन्।

न्यू मिडिया अभियन्ता प्रवेश सुवेदीसुरक्षित डिजिटल कारोबारको पहिलो आधार डिजिटल साक्षरता भएको बताउँछन्।‘आम उपभोक्ताले आधारभूत प्रयोग निर्देशिका बुझ्न सके भने अनि सुरक्षाबारे जानकारी पाए भने ढुक्कले डिजिटल कारोबार गर्नेको संख्या वृद्धि हुनेछ,’ सुवेदी भन्छन्, ‘तर, डिजिटल साक्षरता नहुँदा त्यहाँ झन् धेरै सुरक्षाको जोखिम हुने देखिन्छ। लकडाउनका बेला ह्याकरहरू मौलाउने भएकाले सुरक्षाको थप चुनौती हुन्छ।’

बैंक र वित्तीय संस्थाले घरनजिकै शाखाभएको, लामो लाइनमा बस्नुनपर्ने, सेवा छरितो भएको लगायत कारण देखाएर ग्राहक संख्या र संस्थाको लोकप्रियता बढाउने प्रयत्न गरे पनि अब भने ग्राहकले आफ्नो कारोबारको सुरक्षाको विश्वास जुन संस्थाले दिन सक्छ, त्यसैमा आफूलाई जोड्ने सुवेदी बताउँछन्। ‘अहिलेसम्म जति ई–बैंकिङ र डिजिटल कारोबारसम्बन्धी अपराध बाहिर आएका छन्, ती एउटै प्रकृतिका छैनन्,’ उनी भन्छन्, ‘फरक प्रकृतिका अपराध नियन्त्रण गर्न फरक–फरक उपायअपनाउनुपर्छ। त्यसका लागि ठूलो आर्थिक, प्राविधिक र विज्ञ जनशक्ति चाहिन्छ।’बैंक र वित्तीय कम्पनीले आफ्ना हार्डवेयर र सफ्टवेयर पूर्वाधार चुस्त राख्न सकेनन् भने सुरक्षा जोखिम हुने उनी बताउँछन्। ‘कम्पनीहरूको सानो कमजोरी पाए भने साइबर अपराधीले ग्राहकका विवरण चोरी गर्न, नक्कली कारोबार खडा गर्न र सिस्टममा जस्तोसुकै क्षति पुर्‍याउन पनि सक्छन्,’ सुवेदी भन्छन्।

‘इन्टरनेट सिस्टममा ह्याकिङको सम्भावना सधैँ हुने भए पनि अहिले त्यो जोखिम झन् बढेको छ । यो ह्याकरहरू सलबलाउने बेला हो ।’
प्रहरी वरिष्ठ उपरीक्षक 
नविन्द अर्याल, 
प्रवक्ता, साइबर अपराध नियन्त्रण ब्युरो

उता, कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)का अध्यक्ष नवराज कुँवर पनि लकडाउनका बेला अनलाइन कारोबार गर्दा निकै जोखिम हुने बताउँछन्। ‘अनलाइनबाट सेवा दिने सेवाप्रदायक संस्थाका सेक्युरिटी सिस्टम राम्रो भएपनि व्यक्तिले घरमा बसेर एउटा ल्यापटपको भरमा काम गर्नुपर्ने अवस्था छ,’ कुँवर भन्छन्, ‘अफिसबाट काम गर्दा त्यहाँ सेक्युरिटी टुल हुन्छन्। तर, घरैबाट काम गर्दा डाटा लिक गर्ने सम्भावना पनि हुन्छ।’उनी प्रयोगशाला र खुला ठाउँको उदाहरण दिँदै साइबर सुरक्षा प्रस्ट्याउँछन्। ‘प्रयोगशालामा बसेर कुनै परीक्षण गर्नु र बाहिर खुला ठाउँमा टेबलमा बसेर गर्नुमा आकाश–पातालले फरक पर्छ,’ कुँवर भन्छन्, ‘सरकारले महŒवपूर्ण संस्थाका कर्मचारीलाई अफिसमै काम गर्ने वातावरण मिलाइदिनुपर्छ।’

बेलैमा अनलाइन सुरक्षाबारे नसोचे भोलिका दिनमा नागरिकले ठूलो क्षति बेहोर्नुपर्ने कुँवरको मत छ। ‘यो समस्या समाधानका लागि प्रयोगकर्ता नागरिकलाई अनलाइन सुरक्षासम्बन्धी जानकारी हुनुपर्छ,’ उनी भन्छन्, ‘किनभने, आईटीको जमानामा घरैबाट काम गर्न जति सजिलो छ, त्योभन्दा बढी चुनौती पनि छ। लकडाउनका बेलामा  साइबर थ्रेट बढिरहेका छन्। यो बेलामा ह्याकिङ भनेको पनि कोरोनाजस्तै हो। कहाँ कतिबेलाहुन्छ, केही थाहा हुँदैन। त्यसैले सम्बन्धित निकाय यसमा गम्भीर हुनुपर्छ।’

बैंकहरूले साइबर सुरक्षामा लगानी बढाएका छन्ः राष्ट्र बैंक प्रवक्ता

नेपाल राष्ट्र बैँकका प्रवक्ता गुणाकर भट्ट प्रविधिको प्रयोगसँगै जोखिम हुने भएकाले यो समयमा ह्याकर सलबलाउने कुरा नकार्दैनन्। ‘जोखिमलाई न्यूनीकरण गर्नका लागि पछिल्लो समय बैँकहरूले साइबर सुरक्षामा लगानी बढाइरहेका छन्,’ उनले भने,‘आईटी सिस्टम चुस्त छ। यसलाई अझ कसरी सुरक्षित बनाउने भनेर उनीहरू सचेत हुनुपर्छ।’ राष्ट्र बैंकले बैंक र सेवाप्रदायक संस्थालाई अहिले अरू बेलाभन्दा बढी सतर्क रहन आग्रह गरेको उनी बताउँछन्। ‘पेमेन्ट सिस्टम डिपार्टमेन्ट पनि बैंकहरूसँग निरन्तर समन्वयमा छ,’ उनी भन्छन्, ‘उनीहरूले अपनाउनुपर्ने विभिन्न तहका सुरक्षा अपनाइरहेका छन्।’

कोरोना महाव्याधिका कारण मान्छेको ज्यानको सुरक्षा अहिले पहिलो प्राथमिकतामा रहेको प्रवक्ता भट्ट बताउँछन्। ‘यो असाधारण समयभएकाले धेरै मानिस कारोबार गरिरहेका छैनन्,’ उनी भन्छन्, ‘तर, हामीले यस्तो बेलामा पनि बैंकहरूसँग समन्वय गरेर सेवा दिइरहेका छौँ।’लकडाउनको समयमा धेरै मानिसले अनलाइनकारोबार गर्ने भएकाले यो समयलाई आफूहरूले अवसरका रूपमा लिएको भट्टको भनाइ छ। ‘मानिसहरूमा अझै पनि अनलाइन भुक्तानीको बानी छैन,’ उनी भन्छन्, ‘अहिले त्यो बानी लगाउने समय हो। अवस्था सामान्य हुँदासम्म मानिसहरूमा अनलाइन भुक्तानीको बानीको विकास भइसकेको हुनेछ।’ उनी पूर्वाधार पनि भोलिका दिनमा त्यहीअनुसार विकास गर्नुपर्ने आवश्यकता देख्छन्। भन्छन्, ‘अहिलेको अवस्थाका कारण भोलि डिजिटल पेमेन्टले ठाउँ लिन्छ। अब भर्चुअल मिटिङ र अनलाइन सपिङले दुनियाँ अघि बढ्छ।’

बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल लकडाउनका कारणबैँकहरूमा कारोबार कम भए पनि सुरक्षाको भने कुनै चिन्ता नभएको बताउँछन्। ‘हाम्रा बैंकमा इन्फर्मेसन सेक्युरिटी अफिसरहुन्छन्,’ उनी भन्छन्, ‘उनीहरूको कामनै ह्याकर आउँछन् भनेर सतर्क भएर बस्ने हो। अहिले लकडाउन भए पनि सिस्टममा सेक्युरिटी गार्ड भएर काम गरिरहेका छन्।’ सुरक्षाका लागि आवश्यक पर्ने इक्विपमेन्ट भएको र आईएसओले बेला–बेलामा मनिटर गरिरहेको हुनाले अहिले बैंकहरूलाई सुरक्षाको जोखिम नभएको दाहालबताउँछन्। ‘तैपनि, स्वाभाविक रूपमा अन्य समयभन्दा अहिले ह्याकरहरू सलबलाउने बेला भएकाले हामीले हाम्रो सुरक्षामा पहिलाभन्दा कडाइ गरेका छौँ,’ उनी भन्छन्।

ई–सेवाका चिफ अपरेसन अफिसर रोशन लामिछाने आर्थिक कारोबार गर्दा सुरक्षाको जोखिम सधैँ हुने बताउँछन्। ‘यस्तो कुरामा लकडाउन हुनु र नहुनुले केही फरक पार्दैन,’ उनी भन्छन्, ‘तर, फुर्सदिला भएका हुनाले उनीहरूले यो बेलामा ह्याक गर्ने प्रयास भने गर्न सक्छन्। त्यसैले यस्तो बेलामा हाम्रो पहिलो प्राथमिकता सुुरक्षा हो। त्यसपछि मात्रै बिजनेस हो।’ अकाउन्ट ह्याक हुँदा आर्थिक क्षति पनि हुने भएकाले युजरको प्राइभेसी, सम्बन्धित डाटा र कारोबारजस्ता कुरामा निकै ध्यान दिने गरेको लामिछाने बताउँछन्। राष्ट्रबैंकले दिएका निर्देशन पालना गरिरहेको हुनाले आफ्नो कम्पनीलाई खासै जोखिम नभएको उनको भनाइ छ। भन्छन्, ‘स्टाफ धेरै छन्। अहिले हामी घरैबाट काम गरिरहेका छौँ।घरमा बसेर ल्यापटपबाट काम गरेपनि अफिसको सिस्टमबाट नै काम भइरहेको हुनाले सुरक्षाको कुनैपनि डर छैन। तर, कतिपय बिजनेस र मार्केटका काम घरबाट गर्न नसक्ने भएकाले गाह्रो भइरहेको छ। तैपनि, यस्तो माहौलमा पनि कसरी काम गर्न सकिन्छ भनेर हामी सिकिरहेका छाँै।’

कोरोना महामारीः ह्याकरलाई मौका

नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठ अहिलेको अवस्थामा दशैँ–तिहारभन्दा पनि लामो बन्द भएका कारण यस्तो बेलामा ह्याकरहरू सलबलाउने बताउँछन्। ‘लामो समयदेखि अफिसहरू बन्द भएका कारण अहिले अनलाइनबाटै काम गरे पनि कतिपय सिस्टम निष्क्रिय हुने भएकाले जोखिम छ,’ उनी भन्छन्। आर्थिक कारोबार गर्ने संस्थामा विभिन्न प्रकारका टेक्नोलोजी प्रयोग भएका हुन्छन्। तीप्रविधिको प्रयोग अहिलेदैनिक रूपमा गर्न नसक्दा ह्याकर सक्रिय हुने श्रेष्ठ बताउँछन्। भन्छन्, ‘सिस्टम पहिलाजस्तो सक्रिय नहुने भएकाले यसमाथि आक्रमण गर्न सजिलो हुन्छ। अरू बेलाभन्दा हाल ह्याकरहरू धेरैपटक ह्याक गर्ने कोसिस गर्छन्।’

ह्याकरले तुरुन्तै योजना बनाएर काम नगर्ने श्रेष्ठ बताउँछन्। ‘पहिलादेखि नै योजना बनाएर काम गरिररहेका हुन्छन्,’ उनी भन्छन्, ‘बिदाको बेलामा उनीहरूले झन् मौका छोप्छन्। यसमा कोही पहिलादेखि नै ह्याक गर्दै आएका एक्स्पर्ट ह्याकर हुन्छन्। कोही चाहिँ स्कुल–कलेज पढिरहेका विद्यार्थी हुन्छन्, जो ‘टेस्ट एन्ड ट्राई’ गरेर ह्याक गर्न खोजिरहेका हुन्छन्।’

फाउन्डेसन अध्यक्ष श्रेष्ठका अनुसार ह्याकरले सबैभन्दा बढी आर्थिक कारोबारको क्षेत्रमा आक्रमण गर्छन्। ‘उनीहरू फेक आईडी र इमेल बनाएर सोसल इन्जिनियरिङ र फिसिङजस्ता विभिन्न उपाय अपनाउँछन्,’ उनी भन्छन्, ‘ह्याक हुने प्रायः संस्था र कम्पनीले विश्वव्यापी प्रविधि प्रयोग र अनुसरण गरेका हुँदैनन्।’ दक्ष जनशक्तिको अभाव पनि ह्याकरका लागि मौका हुने उनी बताउँछन्। ‘नेपालका हकमा गर्नुपर्ने स्ट्यान्डर्ड मेन्टेन नगरेका कारण पनि यस्ता घटना धेरै हुन्छन्,’ श्रेष्ठ भन्छन्।

लकडाउनजस्तो असामान्य अवस्थामा संस्थाहरूले आफ्नो अनलाइन सिस्टममनिटर गरिरहनुपर्ने श्रेष्ठको सुझाव छ। उनी सिस्टममा कुनै क्रियाकलाप भएको छ कि छैन वा बाहिरबाट कुनै अट्याक भएको छ कि छैन भनेर जाँच गरिरहनुपर्ने आवश्यकता औँल्याउँछन्। उनका अनुसार यस्तो बेलामा ‘कन्ट्रोल मेकानिजम’ विकास गर्नुपर्छ। आईटी सेक्युरिटी पोलिसी, इन्फर्मेसन सेक्युरिटी पोलिसीअनुसार काम गर्दा धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न सकिने बताउँदै श्रेष्ठ भन्छन्, ‘ह्याकरहरूबाट बच्नका लागि ‘रिएक्टिभ’भएर हुँदैन, अर्थात् घटना भइसकेपछि काम गरेर हुँदैन। त्यसका लागि ‘प्रोएक्टिभ’ अर्थात् घटना हुनुभन्दा अगाडि त्यसलाई रोक्ने तरिकाले काम गर्नुपर्छ। यसका लागि आर्थिक कारोबार गर्ने संस्थाले अग्रिम तयारी गर्नुपर्छ। सिस्टम ह्याक हुन नदिनका लागि ‘अलर्ट सिस्टम’ राख्नुपर्छ। तर, यस्ता पक्षका लागि हामीसँग लगानी, ज्ञान, सीप रसचेतनाको कमी छ।’

‘बैंक र वित्तीय संस्था झन् सजग हुनुपर्छ’

काठमाडौँ, भोटाहिटीस्थित साइबर अपराध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालइन्टरनेट सिस्टममा ह्याकिङको सम्भावना सधैँ हुने भएपनि लकडाउनले गर्दा यसको जोखिम बढेको बताउँछन्। ‘लकडाउनका कारण पहिलाको तुलनामा ह्याकिङको जोखिमबढेको छ,’ उनी भन्छन्, ‘भायनेट, फुडमान्डू मर्कन्टाइलका हकमा डाटा ब्रिज मात्र भएको हो। ठूलो दुर्घटना भएको छैन। अहिले मानिस घर–घरमा बसिरहेका हुनाले प्रविधिको दुरुपयोग भएको छ। त्यसैले यो बेलामा सर्तकता अपनाइएन भने भोलिका दिनमा जे पनि हुन सक्छ।’

अहिलेको अवस्थामा आर्थिक कारोबार गर्ने संस्था झन् सजग हुनुपर्ने अर्याल बताउँछन्। ‘यो ह्याकरहरूसलबलाउने बेला हो,’ उनी भन्छन्, ‘त्यसैलेअन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा नीति अपनाइएन र खेलाँची गरियो भने भोलि ठूलो दुर्घटना हुन सक्छ।’

साइबर कानुनका जानकार अधिवक्ता बाबुराम अर्याल राष्ट्र बैंकले प्रदान गर्ने सूचना प्रविधि निर्देशिकाका आधारमा रहेर बैंकहरूले काम गर्नुपर्ने बताउँछन्। उनका अनुसार नेपालमा डाटा प्रोटेक्सनसम्बन्धी कानुन छैन। त्यसैले यो विषय वैयक्तिक गोपनीयतासम्बन्धी ऐनका आधारमा चल्छ।‘पछिल्ला घटनाबाट नेपालमा आर्थिक कारोबार गर्ने संस्थामा अनलाइन सुरक्षा कति छ भनेर प्रष्ट देखिएको छ,’ अधिवक्ता अर्याल भन्छन्, ‘चाइनिजहरूले गरेको एटीएम आक्रमण, एनआईसी एसिया बैंकको इन्टर्नल सिस्टममा भएको अट्याकले पनि हामी कति सुरक्षित छौँ भनेर देखाउँछ। उनीहरू कति मनोमानी हिसाबले काम गरिरहेका छन् भनेर यी उदाहरणलेदेखाउँछन्। त्यसैले अहिले ‘सुरक्षामा लगानी बढाएका छौँ’ भनेर मौखिक रूपमा आश्वस्त पार्दैमा ग्राहकले ढुक्क हुने अवस्था छैन।’


‘गोप्य विवरण पटक्कै सेयर गर्नु हुँदैन’

प्रवेश सुवेदी, न्यू मिडिया अभियन्ता

नोट र सिक्काको जमाना सकिँदै गएको छ। धेरै देशमा आर्थिक कारोबारको ९० प्रतिशतभन्दा बढीहिस्सा डिजिटल भइसकेको छ। नेपालजस्ता देश पनि बिस्तारै यही बाटोमा छन्। तर, व्यक्तिको तहमा हामी डिजिटल कारोबारका लागि कति तयार छौँ त ?

हामी कति डिजिटल कारोबार गर्छौं भन्ने पक्ष धेरै कुरामा निर्भर हुन्छ। यसका लागि एउटा पूर्ण ‘इकोसिस्टम’ सक्रिय हुनुपर्छ। पहिलो, कानुनले डिजिटल कारोबारको व्यवस्थापन र संरक्षण गरेको हुनुपर्छ। दोस्रो,  बैंक र वित्तीय कम्पनीले इन्टरनेटमा आधारित प्लेटफर्म उपलब्ध गराउनुपर्‍यो। तेस्रो, प्रयोगकर्ताको हातमा प्रविधि र सीप पुगेको हुनुपर्‍यो। चौथो र मुख्य कुरा, कारोबार गर्नेका बीचमा डिजिटल कारोबारप्रति पूर्ण विश्वास र भरोसा हुनुपर्‍यो।

डिजिटल कारोबारका धेरै फाइदा छन्। चुनौती पनि छन्। ह्याकिङ, फिसिङ, फार्मिङ र आइडेन्टिटी थेप्टजस्ता विभिन्न प्रकृतिका इन्टरनेट अपराधले अझै पनि आम प्रयोगकर्ता ढुक्क हुन सकेका छैनन्। यस्ता सुरक्षा चुनौती संसारभर नै हुन्छन्, तर हाम्रोजस्तो सीमित साधन–स्रोतमा चल्नुपर्ने देशमा थप असुरक्षा देखिएको छ।प्रयोगकर्ताले पासवर्ड र अन्य गोप्य विवरण सुरक्षित राख्न सकेनन् भने कम्पनीहरूले जतिसुकै सुरक्षित प्लेटफर्म उपलब्ध गराए पनि असुरक्षा रहन्छ। अपराधीले विभिन्न उपायले प्रयोगकर्ताका पासवर्ड र सुरक्षा विवरण संकलन गर्छन्। अनि आफू नै ग्राहक बनेर कम्पनीका सिस्टममा प्रवेश गर्छन्।यतिका सुरक्षा चुनौती हुँदाहुँदै पनिखुशीको कुरा के छ भने अधिकांश साइबर अपराधमा अपराधी पत्ता लगाउन सकिन्छ। खासमा, कारोबार नै गर्न डराउनुपर्ने गरी सुरक्षा चुनौती पनि छैनन्। संसारभर अर्बाैं संख्याका कारोबार हुँदा एकदुईमा मात्र यस्ता अपराध हुने हुन्।

डिजिटल कारोबार गर्दा केही सानातिना कुरामा ख्याल गरियो भने ठूलो जोखिमबाट बच्न सकिन्छ। आफ्ना युजरनेम, पासवर्ड र अरू गोप्य विवरण कसैसँग पनि पटक्कै सेयर गर्नुहुँदैन। आफूले मात्र चलाउने मोबाइल वा कम्प्युटरबाहेक अन्यत्र ब्राउजरमा ‘रिमेम्बर मी’ र ‘पासवर्ड सेभ’ गर्नुहुँदैन।आजकल धेरैजसो कम्पनीले ‘टू–स्टेप भेरिफिकेसन’ सुविधा दिन्छन्। यस्तो सुविधामा आफ्नो खातामा प्रवेश गर्न वा कारोबार गर्न हरेक पटक मोबाइलमा प्राप्त कोड राख्नैपर्ने हुन्छ। त्यसै गरी, हरेक कारोबारको इमेल र मोबाइलमा सूचितगर्ने सुविधा छ भने यसले थप सुरक्षित बनाउँछ। एउटै पासवर्ड लामो समय राख्नु हुँदैन। त्यस्तै, अरूले सजिलै अनुमानगर्न सक्ने पासवर्ड राख्नु हुँदैन।कहिलेकाहीँ बैंक, वित्तीय कम्पनी वा साथी बनेर ठग्ने नियतले नक्कली इमेल वा एसएमएस आउन सक्छन्। उनीहरूले गलत लिंकमा पुर्‍याएर गोप्य विवरण भराउन सक्छन्। आफू प्रवेश गर्न लागेको वेबसाइटको ठेगानाबारे सधैँ होसियार हुनुपर्छ। अपराधीले देख्दा उस्तै र मिल्दोजुल्दो नाममा वेबसाइट बनाएका हुन्छन्।

आफ्नो कारोबारका स्टेटमेन्ट नियमित हेर्ने गर्नुपर्छ। कुनै कारोबारमा शंका लागेमा बैंकलाई खबर गर्नुपर्छ। बेलैमा खबर गर्‍यो भने अपराध अनुसन्धान गर्न सहज हुन्छ। कहिलेकाहीँ नियोजित अपराधनभईअरू त्रुटिका कारणले पनि खातामा फेरबदल भएको हुन सक्छ। आफ्नो हरहिसाब अप–टू–डेट गर्ने बानी प्रयोगकर्ताले बसाल्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.