लकडाउनमा पुरुषको अत्याचार ‘अप’

लकडाउनमा पुरुषको अत्याचार ‘अप’

-सृजना खड्का

राष्ट्रिय महिला आयोगमा लकडाउन चलिरहेकै एक दिन एउटा फोन आयो। बर्दियाबाट आएको फोनमा बोल्ने युवतीले भनिन्–‘ममाथि बलात्कारको प्रयास भयो।’

‘बलात्कार प्रयास गर्ने व्यक्तिले दिउँसै ती महिलाको घरको बत्तीको लाइन काटिदिएका रहेछन्,’ महिला आयोगकी सचिव शान्ता अधिकारीले घटना बयान गर्दै भनिन्, ‘राति तिनै व्यक्तिले मौकाको फाइदा उठाउँदै ती महिलामाथि बलात्कार प्रयास गरेछन्।महिलाले हारगुहार गरेर त्यस पुरुषलाई घरबाट भगाइछिन्। अघिल्लो दिन बलात्कारको प्रयासअसफल भएपछि भोलिपल्ट आएर कुटपिट गरेछ, यातना दिएछ।’ अधिकारीका अनुसार ती महिलाकी सासू आँखा देख्दिनन्, ससुरा अशक्त छन्। उनी नौ वर्षीय छोराकी आमा हुन्। मजदुरी गर्ने उनका श्रीमान् लकडाउनले काठमाडौँमै फसेका छन्।

लकडाउनमा आयोगको हेल्पलाइन नम्बर ११४५ मा फोन गरेर उजुरी दिने क्रम बढेको आयोगले बताएको छ। हटलाइनबाट तीन किसिमका सेवा दिइएको सचिव अधिकारीले बताइन्। ‘पहिलो– अवस्था हेरेर हिंसामा परेकालाई तत्काल उद्धार गरेर सेल्टरमा राख्ने,दोस्रो– कानुनी सहायतार तेस्रो– मनोविमर्श सेवा,’ उनले भनिन्। आयोगका अनुसार लकडाउनका बेला महिलाविरुद्ध हिंसाका थुप्रै घटना रेकर्ड भएका छन्। कतिपय ठाउँमा प्रहरी नै पठाएर कारबाही गर्नुपरेको र कतिपय ठाउँमा स्थानीय सहयोग लिएर तत्कालका लागि समस्या समाधानको काम भइरहेको सचिव अधिकारीले बताइन्।

राष्ट्रिय महिला आयोगका सूचना अधिकारी धु्रवराज क्षत्रीले घरबन्दीमा महिलाविरुद्ध हिंसाका घटना बढेको बताए। सबैजना घरमै हुने हुँदा झगडा गर्ने, मादक पदार्थ सेवन गर्ने र महिलामाथि कुटपिट गरी घरबाट निकाल्नेजस्ता घटना बढेको उनले जानकारी दिए। उनका अनुसार अनुसार चैत ११ गतेदेखि वैशाख ११ गतेसम्म राष्ट्रिय महिला आयोगमा ५ सय २१ फोन आएका छन्। तिनमा २ सय ६६ नयाँ फोन हुन्। २ सय ५५ जनाले भने ‘फलोअप कल’ गरेका छन्। ‘फलोअपमा पहिलादेखि नै न्यायका लागि यहाँ धाइरहेका महिलाको फोन हो,’ सूचना अधिकारी क्षत्रीले भने, ‘उनीहरूमा अधिकांशले मुद्दाको सनुवाइ कहिले हुन्छ, कानुनी सेवा कहिले पाइन्छ भनेर सोधखोज गर्ने गरेका छन्।’

आयोगका अनुसार ५ सय २१ मध्ये १ सय ७४ वटा फोन हिंसाका घटनासँग सम्बद्ध छन्। त्यस्तै, घरेलु हिंसाका १ सय १९ फोन आएका छन् भने महिलाविरुद्ध हिंसाका ५५ फोन आएका छन्।

गुनासो आउनेबित्तिकै आयोग कर्मचारी र प्रहरी घटनास्थल पुग्न नसकेको आयोगकी सचिव अधिकारीले बताइन्।‘अदालत बन्द भएकाले मुद्दाहरू अघि बढ्न सकेका छैनन्,’ उनले भनिन्, ‘हिंसाले भोलिका दिनमा आत्महत्याको जोखिम बढाउने भएकाले हामीले फोनबाट परामर्श दिँदै आएका छौँ।लकडाउनमा उजुरी हेर्न, छलफल र अनुसन्धान अघि बढाउन नसकिने भएकाले जोखिम न्यूनीकरणका लागि प्रहरी र स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरहेका छौँ।’अहिले फोनबाटै सबै काम गरिरहेको उनले बताइन्।  ‘धेरैजसो कुटपिटका घटना रिपोर्ट भएका छन्,’ उनले भनिन्, ‘श्रीमान्ले राति रक्सी खाएर घरबाट निकालेको, खानलाउन नदिएको आदि घटना महिलाले फोन गरेर बताएका छन्। एक जना गर्भवती महिलालाई खान नदिएको केस पनि आएको छ। यस्ता घटनामा पीडितलाई तत्काल सहयोग गर्न स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेका छौँ।’

१७ देखि ७० वर्षीयासम्म पीडित

महिला पुनःस्थापना केन्द्र (ओरेक) की मनोविमर्शकर्ता देवकुमारी महरा सिराहामा बसेर महिला हिंसामा परेकालाई मनोपरामर्श दिइरहेकी छिन्।लकडाउन अवधिमा हिंसामा परेका धेरै महिलाले उनीसँग परामर्श लिनका लागि फोन गरे।

वैशाख ३ गते ४५ वर्षीया महिलाको फोन मनोविमर्शकर्ता महरालाईआयो। आफ्नो दुःख पोख्दै ती महिलाले महरालाई भनिन्, ‘घरकाले मलाई बाँच्न त दिएनन्–दिएनन्, मर्न पनि दिएनन्।’

महराका अनुसार सिराहाको अर्नामा गाउँपालिकाकी ती महिलाका छोरा तीन वर्षको हुँदा श्रीमान्ले अर्की श्रीमती ल्याएका थिए। उनी त्यही छोराको सहारामा बाँचिन्। उनलाई हुर्काइन्, बढाइन्, पढाइन्। छोराको बिहाबारी गरिदिइन्। अहिले तिनै छोराको पिटाइ खाँदै बसिरहेकी छिन्। पटक–पटकको छोराको पिटाइ सहन नसकेर उनले आत्महत्याको प्रयास गरिन्। छिमेकीले उनलाई बचाए। ‘‘छोराबुहारीलाई फसाउन मर्न खोजेकी, यसलाई पुलिस बोलाएरचौकीमा थुन्न पठाउनुपर्छ’ भन्दै छिमेकीले उनलाई थप पीडा दिएकारहेछन्,’मनोविमर्शकर्ता महराले भनिन्, ‘उनीसँग कुरा गर्दा वास्तविकता फरक थियो। श्रीमान्ले अर्को बिहे गर्दा उनले पनि अर्को बिहे गर्न सक्थिन्। तर, त्यही छोरा भनेर बसिन्। अहिले त्यही छोराबाटै दिनरात कुटपिटको घटना हुँदा उनले बाध्य भएर आत्महत्या प्रयास गरेकी थिइन्।’

आफन्तकहाँ जाने वातावरण नभएकाले तीमहिलाले आत्महत्याबाहेक अर्को विकल्प नदेखेको महराले बताइन्। ‘उनको फोन आएपछि वडाध्यक्षदेखि गाउँका मानिससँग कुरा गर्दा समस्या केही समाधान भएको छ,’ उनले भनिन्। उनले मैथिली भाषामा नै परामर्श दिने भएकाले उनलाई मैथिलीभाषी महतो, यादव, महरा आदि समुदायका महिलाले फोन गर्छन्। स्थानीय भाषामा कुराकानी गर्ने भएकाले उनीहरू मसँग खुलेर कुरा गर्छन् र पीडा पोख्छन्,’ महराले भनिन्।

उनलाई सिराहाको कर्जनहा गाउँपालिकाकी एकजना ७० वर्षीया वृद्धाले पनि फोन गरेकी थिइन्।  उनका चार छोरा छन्। नातिपनाति भइसकेका ती महिलाका छोरा सबै छुट्टिएर बसेका छन्। उनीहरूले आमाबाउलाई चार धुर जग्गा दिएर अलग्गै राखेका छन्। ‘श्रीमान्लाई सधैँ समयमा खाना खुवाउनुपर्ने रहेछ,’ मनोविमर्शकर्ता महराले सुनाइन्, ‘७० बर्से ज्यान सधैँ तगडा हुँदैन। कुनै दिन ढिलो भयो भने श्रीमान्ले पिट्ने रहेछन्। त्यही चार धुर जग्गाका लागि छोराहरूले पनि आमालाई यातना दिने रहेछन्। लकडाउनको बेला सबैजना घरमा बस्ने भएकाले हालसालै छोराबुहारी र श्रीमान् मिलेर उनलाई मरणासन्न हुने गरी कुटेछन्।’

केही साथी लिएर महरा ती वृद्धाको घरमा गइन्। ‘उहाँ कुरा गर्ने अवस्थामा हुनुहुन्नथ्यो,’ उनले भनिन्, ‘कान्छा छोरा र बुहारीले बेलीबिस्तार लगाए। घटना भएपछि उहाँ कान्छा छोराबुहारीसँग बस्नुभएको रहेछ।’

त्यस्तै, एक वर्षअघि बिहे भएको एक महिलाले पनि महरालाई केही दिनअघि फोन गरिन्। ‘मेरो श्रीमान्को बिहे हुनुभन्दाअघि नै भाउजूसँग हिमचिम रहेछ,’ पीडित महिलाले उनलाई भनिन्, ‘अहिले म गर्भवती छु। श्रीमान् र जेठानी मिलेर ‘बच्चा फाल्’ भनेर यातना दिइरहेका छन्। ‘फ्याँक्दिन’ भन्दा मलाई कोठामा थुनेर रातदिन पिटिरहेका छन्।’ लकडाउनले गर्दा ती महिला कतै जान नसकेको र उनीहरूको अत्याचार सहेर बस्नुपरेको महराले बताइन्। ‘यस्तो बेलामा प्रहरीको पनि केही भर छैन,’ पीडितले उनलाईफोनमा भनेकी थिइन, ‘लकडाउनले गर्दा प्रहरीले यस्तो घटना सुन्दैसुन्दैनन्। निवेदन दिन जाँदा पनि ‘अहिले लकडाउन छ, मान्छे भेला गर्न मिल्दैन, खुलेपछि केही गरौँला’ भनेर पठाउँछन्।’

यस्ता घटनाले पछि ठूलो रूप लिँदा महिला आत्महत्याको निर्णयमा पुग्ने गरेको महराले बताइन्। ‘पाँच वटा आत्महत्याका घटना म जान्दछु,’ उनले भनिन्, ‘आत्महत्या गरेका महिलाका परिवारले ‘मेरो छोरी÷बहिनीलाई मा¥यो’ भन्दै फोन गरिरहेका छन्।’उनीकहाँधेरैजसो कुटपिटका घटनाआइरहेका छन्। बोक्सीको आरोप लगाएर कुटेका घटना धेरै भएको उनले बताइन्। आत्महत्या प्रयास गरेका दुई जनालाई उनले काउन्सिलिङ गरिरहेकी छिन्। ‘अहिलेसम्म मकहाँ सात वटा घरेलु हिंसा, दुइटा आत्महत्या प्रयास, दुइटा बोक्सी आरोप, पाँच वटा आत्महत्याका घटना आएका छन्,’ महराले भनिन्, ‘प्रहरीकोमा यस्तो घटना लिएर जाँदा लकडाउन भन्दै सुनुवाइ भएको छैन।’

महराले घरबन्दीमा पुरुषको अत्याचार बढेको बताइन्। ‘सिंगो देश लकडाउन भएको बेला महिलामाथि पुरुषको अत्याचार चाहिँ ‘अप’ भएको छ,’ उनले भनिन्।

ओरेककी अर्की मनोविमर्शकर्ता तोया गुरुङ अहिले विराटनगरमा एउटा जबर्जस्ती करणीको केसमा काउन्सिलिङ गरिरहेकी छिन्। ‘मलाई फोन गर्ने किशोरी १७ वर्षकी छिन्,’ गुरुङले भनिन्,‘फकाइफुलाई सम्बन्ध राख्ने पुरुष उनीभन्दा दोब्बर उमेरका छन्। ती पुरुष प्रेमको नाटक गरेर किशोरीसँग बारम्बार शारीरिक सम्पर्क गर्दा रहेछन्।’ उनका अनुसार ती अत्याचारी पुरुष अहिले सम्पर्कविहीन छन्। ‘पहिला हामीसँग सेवा लिएकी एकजना सेवाग्राहीले ती किशोरीलाई हाम्राबारे जानकारी दिएर फोन गर्न लगाएकी रहिछिन्,’ गुरुङले भनिन्।

लकडाउनले धेरै महिला हिंसाको शिकार भएको मनोविमर्शकर्ता गुरुङले बताइन्। ‘अरू बेला भए उनीहरू आफन्तकोमा सहयोग माग्न जान्थे,’ उनले भनिन्, ‘अहिले लकडाउनले गर्दा कतै पनि जान सक्ने अवस्था छैन। ज्यान असुरक्षित भई–भई पनि उनीहरूलाई हिंसा सहेर घरमा बस्नुपर्ने बाध्यता छ।’

त्यस्तै, एक महिलालाई श्रीमान् र परिवारले घरबाट निकालिदिएको घटना पनि ओरेकसम्म आइपुगेको थियो। ‘श्रीमान् र परिवारका सदस्यले उनलाई खानै नदिई घरबाट निकालिदिएका रहेछन्,’ गुरुङले भनिन्, ‘स्थानीय सरकारले मिलाउन खोज्दा श्रीमान् चाहिँले ‘मेरो घरको मामला,तिमीहरूलाई के वास्ता’भनेछन्। जसोतसो प्रहरीकहाँ पुग्दा प्रहरीले मेलमिलाप गरेर उनीहरूलाई पठाइदिएको छ।’

प्रहरी भन्छः अहिले घरेलु हिंसा बढेको छैन

नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशी लकडाउनमा महिलाविरुद्ध हिंसा बढेको मान्न तयार छैनन्। ‘अहिलेघर–घरमा झै–झगडा गर्ने र अन्य विषयमा छलफल गर्ने खालको समय छैन,’ उनले भने, ‘एउटै मात्र विषयमा सबैको ध्यान गइरहेको छ। त्यो हो– कोरोनाबाट कसरी जोगिने र कसरी जोगाउने ?’लकडाउनअघिका दुई साता र लकडाउन सुरु भएपछिको दुईसाताका तथ्यांकहेर्दा घरेलु हिंसाको संख्या उस्तै देखिएको उनले बताए। ‘यो बेला सबैजना परिवारसँगै बसिरहेका छन्,’ प्रवक्ता एसएसपी जोशीले भने, ‘यतिबेला मानिस रोगसँग डराएको छ। महिलाविरुद्ध हिंसा बढ्यो भनेर मिडियाहरूले अतिरञ्जित गरेका मात्र हुन्।’ नेपाल प्रहरीले महिलाका लागि अलग्गै सेल खडा गरेर महिलाविरुद्ध हिंसाविरुद्ध काम गरिरहेको उनले बताए। ‘पहिला प्रहरी चौकीसम्म गएर रिपोर्ट गर्नुपथ्र्यो,’ उनले भने, ‘अहिले लकडाउनको समयले गर्दा घरबाहिर प्रहरी छन्। यस्तो बेलामा घरभित्र कसरी घरेलु हिंसा हुन्छ ? त्यसमाथि अहिले झगडा गर्नुहुन्न भनेर सम्झाउने बूढापाका मानिस पनि घरभित्रै छन्।’

कुन प्रदेशमा कति ?

लकडाउन सुरु भएको मिति चैत ११ गतेदेखि वैशाख ६ गतेसम्म देशभर ३ सय ६२ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हिंसाका घटना प्रहरी प्रधान कार्यालय नक्सालमा दर्ता भएको छ।

तीमध्ये जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, बहुविवाह, बालविवाह, बोक्सीको आरोप, अवैध गर्भपतन, जातीय छुवाछुत, बालयौन दुराचार र घरेलु हिंसा र आत्महत्या छन्।

प्रदेश १ मा ४३ वटा, प्रदेश २ मा ६४ वटा, प्रदेश ३ मा ४८ वटा, प्रदेश ४ मा ३६ वटा, प्रदेश ५ मा ६६, प्रदेश ६ मा २२ र प्रदेश ७ मा ४९ वटा घटना भएका छन्।जसमा आत्महत्यामा सबैभन्दा बढी अर्थात् १ सय ६७ घटना दर्ता भएका छन्। दास्रोमा जबर्जस्ती करणी परेको छ। यसमा ८६ वटा घटना दर्ता भएका छन्। त्यस्तै, घरेलु हिंसाको घटना ८१ वटा दर्ता भएका छन्। काठमाडौँ उपत्यकामा मात्र ३४ वटा महिलाविरुद्ध हिंसाका घटना भएको तथ्यांकले देखाउँछ। 

ओरेकको बढ्दो तथ्यांक

चैत ११ गतेदेखि वैशाख ६ गतेसम्म महिला पुनःस्थापना केन्द्र (ओरेक) मा १३ जिल्लाबाट ८३ वटा महिलाविरुद्ध हिंसाका घटना दर्ता भएका छन्। ओरेकले सञ्चालन गरिरहेका तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता भएका हुन्।महिलाविरुद्ध हिंसाका घटनामा ४६ वटा घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४ बलात्कार र दुई बलात्कार प्रयास रहेका छन्। यस अवधिमा एउटा हत्या, एउटा हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको र दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या र दुई हत्या प्रयासका घटना रहेका छन्।

त्यस्तै, १९ वटा घटनामा छिमेकी, दुइटा घटना प्रेमी ठानिएका व्यक्ति, एउटा घटनामा साथी र एक घटनामा घरमालिक संलग्न रहेको पाइएको छ। यीमध्ये छ घटनामा पीडकको पहिचान हुन बाँकी रहेको ओरेकले जनाएको छ।

यस समयमा महिला र बालिका थप जोखिममा रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए। ‘यस महामारीको अवस्थामा हरेक व्यक्ति घरभित्रै बस्नुको विकल्प छैन,’ उनले भने, ‘सबैको ध्यान कसरी यस महामारीबाट बच्ने र बचाउने भन्नेमा केन्द्रित भएकाले यो बेला महिला र बालिका थप जोखिममा छन्। यो जोखिम घटाउन र हिंसा हुन नदिन काम गर्ने प्रभावकारी संयन्त्रको अभाव छ।’

ओरेककी कार्यक्रम संयोजक सञ्जिता तिम्सिनाका अनुसार प्रहरीमा महिलाविरुद्ध हिंसाको केस कम देखिए यस संस्थाको तथ्यांक भने अर्कै छ। ‘घरेलु हिंसाको केस पहिला पनि धेरै रिपोर्ट हुँदैनथे,’ उनले भनिन्, ‘अहिले झन् अवस्था सामान्य छैन। यस्तो बेलामा महिलाले सजिलै रिपोर्ट गर्न सक्दैनन्। त्यसैले प्रहरीको तथ्यांकमा देखिएभन्दा कैयौँ गुणा महिलाविरुद्ध हिंसाका घटना भइरहेका छन्। लकडाउन खुलेपछि यस्ता धेरै घटनाको पर्दाफास हुन्छ। अहिले आवाज उठाउँदा कहाँ जाने, के खाने भन्ने चिन्ताले पनि धेरै महिला मौन बसेका छन्।’ तिम्सिनाका अनुसार क्वारेन्टिनमा बसिरहेका महिलामाथि पनि हिंसा भएको छ। ‘यस्तो समस्या समाधानका लागि जेन्डर सेन्सेटिभ क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘तर, यस्तो कुरालाई प्राथमिकतामा पारिएको छैन। कोरोनाको संक्रमणबाट मात्र बच्न पाए हुन्थ्यो भन्ने छ। त्यसैले महिलाविरुद्ध हिंसाका कुरा ओझेलमा परेका छन्।’ 

हिंसाको जोखिम न्यूनीकरणका लागि सबै क्वारेन्टिन स्थलमा महिला, बालिका र लैंगिक तथा यौनिक पहिचान भएका व्यक्तिका लागि छुट्टै बस्ने व्यवस्थाका साथै छुट्टै चर्पी एवं नुहाउने ठाउँको व्यवस्था गर्नुपर्ने, सबै क्वारेन्टिन स्थलमा मनो–सामाजिक परामर्शकर्ताको व्यवस्था गर्नुपर्ने, गर्भवती, सुत्केरी, सानो बच्चा हुने महिला तथा जेष्ठ नागरिकका लागि क्वारेन्टिन स्थलमा विशेष व्यवस्था गर्नुपर्ने ओरेकको सरकारलाई सुझाव छ।


‘लकडाउनमा महिलाविरुद्ध हिंसा बढेको छ’

प्रणिका कोयू, महिला अधिकारकर्मी

लकडाउनका कारण महिलाविरुद्ध हिंसा बढेको सत्य कसैले पनि नकार्न सक्दैन। साथ र सहयोग नपाएर धेरै महिलाले आफूविरुद्ध भएको हिंसाका आवाज उठाएका छैनन्। यस्तो बेलामा महिलालाई राज्यबाट कुनै पनि किसिमको सहयोग प्राप्त भएको छैन। लकडाउनको बेला भनेर प्रहरी कुनैपनि हालतमा महिलालाई सहयोग गर्न तयार छैन। सरकारी हटलाइन र हेल्पलाइनहरू पनि तुरुन्तै एक्सन लिने खालका छैनन्। गुनासो सुन्दैमा समस्याको समाधान हुने होइन।

आफ्नै परिवारविरुद्ध आवाज उठाएर प्रहरीमा जाने महिलालाई सानो चोट परेको हुँदैन। कुनै महिला ‘ममाथि हिंसा भयो’ भनेर उजुरी लिएर यत्तिकै जाँदिनन्। यस्तो अवस्थामा हिंसा सहेर बसेका महिलालाई आँट र हिम्मत दिनुपर्नेमा उनीहरूलाई मेलमिलाप गरेर पठाइन्छ।

यस्तो बेलामा धेरै महिला घरबाट निकाले कहाँ जाने, के खाने भन्ने चिन्ताका कारण जस्तोसुकै हिंसा पनि सहेर बस्ने गरेका छन्। तर, महिलाले एउटा कुरा के बुझ्नुपर्छ भने आज त्यस्तो नराम्रो व्यवहार गर्नेले भोलिका दिनमा राम्रो व्यवहार गर्ला, घरमा सम्मानपूर्वक राख्ला भन्ने ग्यारेन्टी हुँदैन। त्यसैले आफूमाथि हिंसा हुँदा सहेर बस्नुभन्दा आवाज उठाउनुपर्छ। हिंसामा परेकी महिला भोलि सम्झिएर चुप बसेकी हुन्छिन्। तर, उनले भोलिका बारेमा होइन, आजका बारेमा सोचेर कदम चाल्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.