मृत्युसँग जुधिरहेका मजदुरसँग औषधि किन्‍ने रकम छैन

मृत्युसँग जुधिरहेका मजदुरसँग औषधि किन्‍ने रकम छैन

पोखरा : बोली फुट्न गाह्रो छ। दाहिने गोडो चल्न छाडेको छ। दायाँ हर पूरै पक्षघात भएको जस्तै छ। जिउ चलाउन पनि अरुको सहारा चाहिन्छ। वैशाख १४ अघिसम्म कालीबहादुर गुरुङ (४२) परिवारका एकमात्रै सहारा थिए। दिनभर ज्याला मजदुरी गरेर कमाएकाका भरमा २ छोराछोरी र श्रीमतीको मुखमा माड लाग्थ्यो। डेरा भाडा तिरिन्थ्यो। जब कोरोना भाइरसको महामारी रोक्न लकडाउन लाग्यो गरिखाने मेलो हरायो। १४ गते ठेकेदारहरुको संस्थामा राहत बाँड्दैछ रे भन्ने सुनेर कालीबहादुर पनि लामाचौरबाट हिँडेर पृथ्वीचोक बसपार्क नजिकै आइपुगे। 

राहतको लाइनमा लाग्दालाग्दै उनलाई चिटचिट पसिना छुट्यो। उभिँदा उभिँदै फ्याट्टै ढले। साथीभाइले तरकारी ओसार्ने गाडीमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याए। त्यहाँबाट सिटी स्क्यान गर्ने भनेर मणिपाल अस्पताल लगियो। रिपोर्टसहित क्षेत्रीय अस्पताल फर्किँदा डाक्टरले टाउकोको अप्रेसन गर्नुपर्ने बताए। अप्रेसन त्यहीं नहुने भयो। फेरि फेवासिटी अस्पताल पुर्‍याइए। ५ बजे अप्रेसन सुरु भयो। ९ बजे सकियो। अप्रेसनपछि उनको होस त खुल्यो तर बोली राम्ररी फुटेन। दायाँ हर चलाउन सकेनन्। 

मजदुरी गरेर खाने कालीबहादुर मजदुर दिवसका दिन शुक्रबार अस्पतालको बेडमा सुतिरहेका थिए। श्रीमती गोडा चलाइँदै थिइन्। जिउ मिलाइदिँदै थिइन्। छिमेकी सागर गुरुङ र साथै काम गर्ने किरण पुन ढाडस दिँदै थिए। कालीबहादुरकी श्रीमतीको पछ्यौराले छोपिएको अनुहार अँध्यारो थियो। सुँक्कसुँक्क गर्दै उनी भन्दै थिइन्, ‘गाउँमा पनि घर छैन, आफ्नो मान्छे कोही छैन।’

आफू पढेलेखेको नभएकाले साल र तिथिमिति याद नभएको तिरमायाले सुनाइन्। उनीहरु गोरखाको गुम्दाका हुन्। तर गाउँमा पनि भर दिने आफन्त कोही नभएको तिरमाया बताउँछिन्। न घर, न खेतबारी न आफन्त भएपछि उनीहरु पोखरा आएका थिए। भनिन्, ‘काम गरेर खाउँला भनेर पोखरा आएको।’ सोचेजस्तै गरी काम गरिरहेका पनि हुन्। तर श्रीमानको यो हालत होला भन्ने उनलाई कहिल्यै लागेन। परिवारको भरथेग गर्नेकै हालत यस्तो भएपछि उनी केही बोल्न र सोच्न सकिरहेकी छैनन्। आफै पनि दमकी बिरामी छिन्। कहिलेकहिले लामाचौरतिरै अरुकहाँ लुगा धोइदिने, भाँडा माझिदिने गरेर दुईचार पैसा कमाउँछिन्। अहिले त्यो काम पनि छैन। ‘मै रोगी छु, छिमेकी भाइहरुले अस्पताल ल्याइदिनुभयो, म आउनै सकिनँ, हिजोमात्रै आएँ, बस पनि चलेन, आउन गाह्रो भयो’, उनले भनिन्। 

छिमेकी र टोलका बासिन्दाले जुटाइदिएको अलिअलि पैसाले अस्पतालमा दबाई खर्च पुर्‍याएको कालीबहादुरका छिमेकी सागरले सुनाए। ‘३ लाख खर्च लाग्छ रे’, उनले भने, ‘औषधि पनि महँगो रैछ, उहाँहरुसँग पैसा छैन, केले तिर्ने हो ? औषधि केले किन्ने ?’ एक त कालीबहादुर निको भएका छैनन्। उता डेराभाडा तिर्ने पैसा छैन। दुई छाक टार्ने उपाय छैन। तिरकुमारी भन्छिन्, ‘अब हामी के खाने ? छोराछोरीलाई के खुवाउने, उहाँलाई यस्तो भएसि खै कस्ले खान देला ? कस्ले पढाइदिला ?’

मे १ अर्थात मजदुर दिवसकै दिन अस्पतालमा मृत्युसँग जुधिरहेका कालीबहादुर भोलि उठी कहाँ जाने केही थाहा छैन। छिमेकी सागर भन्छन्, ‘उहाँहरुलाई सहयोगको ठूलो खाँचो छ।’ उनले सहयोगका लागि कालीकी श्रीमती तिरमायाको ९८६६३४४५४३ नम्बर उपलब्ध गराए।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.