साढे तीन महिनापछि हिमपहिरोमा हराएका सातै जनाको शव भेटियो
पोखरा : माघ ३ गते गएको हिमपहिरोमा हराएकामध्ये अन्तिम दुई शव शुक्रबार हिमपहिरो क्षेत्रमा खोजी गर्दा फेला परेको छ। अन्नपूर्ण आधा शिविरको पदयात्रा मार्ग एक कोरियन र एक नेपाली गाइड छिरिङ भोटेको शव शनिबार नेपाली सेनाको हेलीकोप्टरबाट पोखरा ल्याएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ।
४ कोरियन पर्यटक र ३ नेपालीसहित सातै जनाको शव पटक पटक गरी साढे तीन महिना पछि फेला परेको हो। यस अघि ३ कोरियन र २ नेपाली भेटिएका थिए। हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा शुक्रबार दिउँसो अन्तिम दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।
तीन चार दिनदेखि नियमित रुपमा हिउँमा खोजी गर्दा हिमपहिरो गएको क्षेत्रमा ४/५ मिटर तल दुई जनाको शव फेलापरेको पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारीले जानकारी दिए। हिमपहिरो पन्छाउँदै अन्तिम दुई जनाको शव गत पाँच दिनदेखि खोजी गर्दा शुक्रबार बिहान फेला पारेको उनले बताए। शुक्रबार मौसम अनुकल नभएकोले शनिबार नेपाली सेनाको हेलीकोप्टरमा दुबै जनाको शव पोखरा ल्याइएको उनले जानकारी दिए। 
यस अघि दुई कोरियन पर्यटकको शव गएको शनिबार हिमपहिरोमा खनेर खोजी गर्दा फेला परेको थियो। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिल- ११ हिमालय र देउरालीको बीचमा पर्ने हिङ्कुखोलामा गएको पहिरोमा ७ जना पदयात्रु परेका थिए। त्यही क्षेत्रको हिमपहिरोमा हराएका नेपाली पर्यटक सहयोगी ५१ वर्षीय मेमबहादुर तामाङको शव बुधवार फेला परेको थियो। यस अघि नेपाली गाईड सरोज परियारको शव गत चैतमा फेला परेको थियो।
प्रतिक्रिया दिनुहोस !