कोरोनाबारे बेखबर कुसुण्डा, भन्छन्- बन्दले भोकरी ल्यायो, कसरी बाँच्ने?

कोरोनाबारे बेखबर कुसुण्डा, भन्छन्- बन्दले भोकरी ल्यायो, कसरी बाँच्ने?

गोरखा : गोरखा नगरपालिका १० को तेरकिलो बजार र छेपेटार बजारको मध्य भागतिर पर्ने एउटा जंगल, जंगलको बीचमा सानोतिनो खाली जग्गा। त्यहीँ रहेका घरमध्ये सबैभन्दा सिरानको टहरो सुमित्रा कुसुण्डाको घर हो । 

वर्षौअघि जनता आवास कार्यक्रम अन्तर्गत बनेको सानो टहरो पनि भूकम्पले क्षति पुर्‍याएपछि बन्दै गरेको नयाँ एककोठे घर पनि छाना छाउन नसकेर ह्वाङ्गै छ ।
 

गोरखाको एक मात्र कुसुण्डा परिवारको गुजारा यही यसरी नै चलिरहेको छ ।सेतै केश, सुकेको ज्यान सुमित्रा कुसुण्डा अचेल ढोकाबाट टाढा जान सक्दिनन् । छाम्दा भेटिने ठाउँमा लठ्ठी राखेर प्राय दैलो आसपास झुत्रो गुन्द्रीमाथि बसिरहेकी देखिन्छिन्।

उमेरले ८४ कटेसँगै गरिखाने हातगोडा बसे । आँखा, कान पनि बेकामे भए ।'उमेरमा संसारै छोपुला झैं आँट थियो । उमेरमा कहाँकहाँ पुगिएन होला, के के गरिएन होला । अहिले घरभित्रबाट बाहिर निस्कन पनि साथी चाहिन्छ,' नजिकै कोही छन् भन्ने चाल पाइन् भने उनी यस्तै गुनगुन गर्ने गर्छिन्।

'अहिले यत्ति पिढी पनि परदेशजस्तै भएको छ। आँखा देख्दिन।कान सुन्दिन।काम गर्न नसकेपछि आफ्ना पनि पराइ हुनेरहेछन्, उनले भनिनि,' आफ्नै छोरा बुहारी पनि पराइ भए ।' 

उनलाई कोरोना के हो, लकडाउन के हो, केही थाहा पनि छैन, बुझ्दा पनि बुझ्दिनन् । यसको असर कति नजिक आइपुगेको छ भन्ने पनि उनलाई पत्तो छैन, तर चिन्दै नचिनेको कोरोना र लकडाउनले हातमुख जोर्न नपाइने अवस्थामा पुगेकोमा उनका छोरा बुहारीलाई असाध्यै पीर छ । 'जेलामजदुरी रोकियो । अब खान नपाइने भयो, सुमित्राकी बुहारी कमला भन्छिन्, 'बुढाले पनि काम पाएनन्, दुईटै छोरा पनि खाली बसेका छन्।दिनदिनै काम गरेर चुल्हो बाल्नु पर्ने हामी, अब यत्रो जहानको पेट कसरी पाल्ने ?'

कान्छो छोराको परिवार साथमा छ । कामको सिलसिलामा भच्चेक पुगेको जेठो छोराको परिवार पनि खर्च सकिएर घर फर्कने तयारी गरिरहेको उनले बताइन् । 

केही दिनअघि नगरपालिकाले प्रतिव्यक्ति पाँच किलो चामल, आधा किलो दाल, आधा लिटर भटमासको तेल, एकपोका नून बाँडेको थियो ।'राहत पनि अब सक्किनन लागिसक्यो । त्यो सकिएपछि हामी के खाने ?, कमला प्रश्न गर्छिन्,'कि हामीलाई काम देऊ कि माम देऊ । नत्र परान कसरी धान्ने त ?'
 
सरकारले कुसुण्डा परिवारलाई दिँदै आएको प्रतिव्यक्ति दुईहजार भत्ता सबै ऋण तिरेर सकिएको उनको भनाइ छ । 'चार महिनामा एक फेर भत्ता आउँछ । तर ऋण तिर्दैमा सकिन्छ, उनी भन्छिन्, 'अब साहुले ऋण पत्यायो भने बाँचिन्छ । पत्याएन भने मरिन्छ।'

आफ्नो नाममा नङमा लाउने माटोसम्म नभएको उनको भनाइ छ । 'घडेरी एकजनाले दिए, घर सरकारले बनाइदियो, उनी भन्छिन्, 'दस नङ्ग्रा खियाएर हातमुख जोरेका थियौँ। अब काम गर्न जान पनि पाइएन । के खाएर बाँच्ने ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.