लकडाउनमा गाउँको उत्पादन सहरमा हारालुछ
तानसेन : लकडाउन छ, बाहिरी हिँड्न पाइँदैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा भएर पनि उपभोक्ताले मन परेको सरसमान पाएका छैनन् । गाउँघरमा काफल, एैसलु, खल्डुक, किम्मो जस्ता मौसफी फलफुल पाकेका छन् । गाउँघरमा फलेका भक्तपुरे काँक्रादेखि तरुल, फर्सी, भुटुक, सिव्लीकान जस्ता उत्पादनले एकान्तवासमा बसेका सहरका उपभोक्तालाई लोभ्याएको छ ।
लकडाउनको समयमा पाल्पाको माथागढी बहुउधेश्यीय सहकारी संस्थाले कृषि ज्ञान केन्द्रको सहयोगमा ग्रामीण भेगका फलेका मौसमी तथा बेमौसमी फलफूल तरकारीको स्वाद चखाएपछि एकान्तबासमा बसेका तानसेनका उपभोक्ताको मन लोभ्याउने गरेको छ । तानसेनका उपभोक्ताहरु गाउँको उत्पादन किन्न आ आफ्नो घर अगाडि चोक चोकमा लाइन लागेर बस्ने गरेका छन् । सहकारीले गाउँको उत्पादन काफल भक्तपुरे काँक्रा, पिडालुको गावा, सिव्लीकान, तरुल, पाकेको फर्सी, कोईरालको फूल जस्ता उत्पादन सहरमा ल्याएर बेच्दै आएको छ । तानसेन नगरपालिका-७ का सन्तोष ज्ञवालीले अर्गानिक भक्तपुरे काँक्रो, आचार खान भुटुक, पिडालुको गावा हतार हतार गर्दै किने । गाउँको अर्गानिक उत्पादन बजार भाउभन्दा सस्तोमा पाउँदा उपभोक्ताको आर्कषण बढेको ज्ञवालीले बताए ।
लकडाउनको समयमा किसानले गाउँको तरकारी तथा फलफुल बजारसम्म लैजान नसकेको अवस्थामा चरा मुसाले खाएर र कुहिएर नोक्सान भइरहेको समयमा सहकारीले एक सय रुपैयाँ प्रति मानो खरिद गरी बिक्री गर्दै आएको छ । सहकारीले भक्तपुरे काँक्रो प्रति किलो ६० रुपैयाँ, काफल प्रति माना १ सय रुपैयाँ, भुटुक प्रति किलो ५० रुपैयाँ, धनिया प्रति मुठा २० रुपैयाँ, सिमी प्रति किलो ५० रुपैयाँ, सिव्लीकान प्रतिमुठा ३० रुपैयाँमा उपभोक्तालाई बिक्री गर्दै आएको छ । पाल्पामा बगनासकाली, रम्भा गाउँपालिकाले पनि कृषि उत्पादन स्थानीय बजारसम्म पुर्याइ कृषकलाई उत्साहित बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !