सुत्केरीलाई छैन पोषिलो आहार
पोखरा : सुमित्रा गुरुङ एक महिनाकी सुत्केरी हुन् । छोरी पाएकी उनले पोषिलो खानेकुरा केही खान पाएकी छैनन् । घरमा अरुले जसरी दालभात खाइरहेका छन्, बस उनको खान्की पनि त्यही हो । उनका श्रीमान् दीपक बुढाथोकी पोखराकै नगर बसका सहचालक हुन् । बस चल्न छाडेदेखि उनीहरुको परिवार चल्न पनि मुस्किल हुन थालेको छ ।
बसमा सहचालक हुँदा कहिले ५ सय, कहिले ७ सय त कहिले १ हजार रुपैयाँसम्म कमाउँथे दीपक । जाजरकोटका उनी श्रीमती, आमाबाबुसहित पोखरा नयाँबजारमा डेरा गरी बस्छन् । २ वर्षअघि घान्द्रुककी सुमित्रासँग बिहे गरेपछि १ महिनादिनअघि एक छोरी पाएका छन् उनीहरुले । ‘अस्पतालबाट ल्याएदेखि नै दालभातमात्रै हो खुवाएको’, दीपकले भने ।
ज्याला मजदुरी गर्दै परिवार पालिरहेका हर्क खत्रीलाई पनि दीपकलाई जस्तै चिन्ता भयो । ३१ दिनअघि सुत्केरी श्रीमती पवित्रालाई उनले पनि पोषिलो आहारा पुर्याउन सकेनन् । बागलुङका उनीहरु सोमबार राहत माग्न पोखरा महानगरपालिकाको ११८१ नम्बरमा फोन गर्दै थिए । पोखरा ८ का अध्यक्ष रुद्र बरालसहित महानगरपालिकाका कर्मचारी खत्रीकहाँ पुगे । महानगरपालिकाको टोलीले खत्रीको परिवारलाई घिउ, तेल, ज्वानो, हर्लिक्स, साबुन र ५ सय रुपैयाँ नगद दिएर गयो ।
पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ सुत्केरीहरुलाई घरघरै पुगेर राहत दिएको बताउँछिन् । भन्छिन्, ‘पहिला बालबालिकालाई हेर्यौं, श्रमिक वर्गलाई हेर्यौं, ज्येष्ठ नागरिकलाई हेर्दै जाँदा सुत्केरीलाई पनि हेर्नुपर्छ भनेर राहत सुरु गरियो ।’ महानगरपालिकाको हटलाइन फोनमा आएका अनुरोधका आधारमा आइतबारदेखि सुत्केरीलाई राहत दिन सुरु गरिएको जानकारी उनले दिइन् । ‘सुत्केरीलाई पोषिलो हुन्छ भनेर ज्वानो पनि दिएका छौं’, उनले भनिन् ।
कोरोना भाइरसको महामारी रोक्न लकडाउन भएयता महानगरपालिकाले यसअघि करिब ३१ हजारलाई चामल, दाल, तेल लगायत राहत दिएको थियो । राहत सकिएका र भोकै परेकालाई खाना खुवाउन स्वयंसेवीहरुसँग समन्वय गरिरहेको छ । स्वयंसेवीहरुले प्रत्येक दिन २ हजार छाक खाना खुवाइरहेका छन् ।
खाना र राहत अनि सुत्केरीका लागि दिनदिनै हटलाइन नम्बरमा फोन आइरहेको महानगरपालिकाकी कर्मचारी चन्द्रावती वाग्ले र विष्णुमाया भण्डारीले जानकारी दिए । फोन आएअनुसार सुत्केरीका घरघरै कर्मचारी र जनप्रतिनिधिको टोली पुगेको उनीहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !