पाल्पाको बगनासकालीकाका ३ हजार बढी मानिस विदेशमा
तानसेन : पाल्पाको बगनासकाली गाउँपालिकाले रोजगार, व्यवसाय तथा अध्ययनको शिलशिलामा विदेशिएका नागरिकको विवरण संकलन गरेको छ । कोभिड १९ का कारण गाउँ फर्किन चाहेको अवस्थामा उद्दार गर्न र फर्केपछि उनीहरुलाई के कस्तो काममा लगाउन सकिन्छ भन्ने योजना बनाउन गाउँपालिकाले विदेशिएका आफ्ना नागरिकको विवरण संकलन गरेको हो । बगनासकालीमा मात्र ३ हजार २ सय २४ जना विदेशमा रहेको विवरणले देखाएको छ।
गाउँपालिकाको आगामी वर्षको बजेट तयारी भइरहँदा गाउँ छाडी भारतलगायत तेस्रो मुलुकमा रहेका नागरिकको विवरण संकलन गरी योजना बनाउन थालेको छ । विदेशमा रहेका आफ्नो गाउँपालिकाका नागरिकसँग स्वास्थ्य स्थिति जानकारी लिनेदेखि गाउँमा फर्किसकेपछि गर्न चाहेको कामको विषयमा समेत जानकारी लिने गरी विस्तृत विवरण संकलन गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए ।
बगनासकाली गाउँपालिकाले घर घरमा गई संकलन गरेको विवरण अनुसार ३३२ जना महिला र २८९२ जना पुरुष गरी ३२२४ जना विदेशिएका छन्। जसमा वडा नं १ चिरतुङ्गधारामा ५८ महिला, ५९५ जना पुरुष गरी ६५३ जना, वडा नं २ पोखराथोकमा ४१ महिला, २५१ पुरुष गरी २९२ जना, वडा नं ३ नायरमा २८ महिला, २७३ पुरुष गरी ३०१ जना, वडा नं ४ खानीछापमा ९ जना महिला, २४२ जना पुरुष गरी २५१ जना, वडा नं ५ दर्लामडाडामा ६८ महिला, २९५ पुरुष गरी ३६३ जना, वडा नं ६ यम्घामा ३४ जना महिला, ४५२ जना पुरुष गरी ४८६ जना, वडा नं ७ खानीगाउँमा ४४ महिला, २८२ पुरुष गरी ३२६ जना, वडा नं ८ बराङ्दीमा १० जना महिला, १५७ पुरुष गरी १६७ जना र वडा नंं ९ चापपानीमा ४० जना महिला, ३४५ जना पुरुष गरी ३८५ जना विदेशमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए ।
विदेशबाट आइसकेका नागरिकसँग अन्तक्रिया गरी उनीहरुको इच्छा र चाहाना अनुसार गाउँमै केही गर्न चाहेमा स्थानीय सरकारले प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरी रोजगार सिर्जना गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !