सेटमा डाक्टर, घरबाट मेकअप

सेटमा डाक्टर, घरबाट मेकअप

काठमाडौं: कोभिड–१९ का कारण अहिले विश्व फिल्म उद्योग ठप्प छ। सुटिङ र सिनेमा हल बन्द छन्। अहिलेको अवस्था हेर्दा तत्काल फिल्मको सुटिङ सुरु हुने अवस्था देखिएको छैन। सुटिङ सुरु भइहाले पनि अब हुने सुटिङको माहोल पहिलेको भन्दा नितान्त फरक हुनेछ। पहिला जुन हिसाबले सुटिङ हुन्थ्यो अब त्यो अवस्था देख्न पाइने छैन। धेरै कुरामा परिवर्तन आउनेछ। सेटको वातावरण नै अर्कै हुनेछ।

के अब रोमान्टिक सिन खिच्न सहज होला ? स्टारहरू किसिङ सिनका लागि तयार होलान् ? भीडभाड देखाउने दृश्य कसरी खिचिएला ? यस्ता कयौं प्रश्न खडा भएका छन् र यसको समाधान नखोजी धरै छैन किनकि यस्ता दृश्य फिल्मका लागि अपरिहार्य छन्। तर, परिस्थितिले पुरानै तरिकाले दृश्य खिच्ने अनुमति दिँदैन।

बलिउड फिल्म उद्योगको सिने एन्ड टीभी आर्टिस्ट्स एसोसिएसन र फेडरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लाइज (गिल्ड) ले मे ४ मा बैठक बसेर फिल्म छायांकनका लागि केही नयाँ अवधारणा अघि सारेको छ। यी अवधारणा माथि अहिले गम्भीर रूपमा छलफल चल्न थालेको छ। भारतीय सरकारले पनि फिल्म सुटिङको गाइड लाइन तयार गर्न सक्छ तर त्योभन्दा पहिले नै फिल्मकर्मीले उचित कदम चाल्नु आवश्यक भएको गिल्डको ठम्याइँ छ।

सूत्रअनुसार गिल्डको बैठकमा विभिन्न कोणबाट छलफल भएको थियो। सुटिङ स्पटमा आउँदा कलाकारले घरबाटै मेकअप गरेर आउनुपर्ने, कलाकारले आफूसँग सकेसम्म थोरै स्टाफ तथा सहयोगी ल्याउनुपर्र्ने, सुटिङ सेटमा सुरक्षाका लागि डाक्टर तथा नर्स अनिवार्य राख्नुपर्ने, सुटिङ पूरा क्षेत्र सेनेटाइज गर्नुपर्ने, सुटिङ युनिटका सबै सदस्यको तापक्रम जाँच हुनुपर्ने लगायतका विषयले बैठकमा प्राथमिकता पाएका थिए।

यसैगरी, युनिटका प्रत्येक सदस्यलाई १२ घण्टाको सुटिङ अवधि छ भने चारवटा मास्क उपलब्ध गराउनुपर्ने, ६० भन्दा बढी उमेरका कलाकार तथा प्राविधिक छन् भने सुरुआती तीन महिनासम्म सुटिङमा लागि नबोलाउने, सबैको बिमा अनिवार्य गराउनुपर्ने लगायतका विषय उठाइएको थियो। यसका अलावा अन्य पनि धेरै बुँदा छलफलमा उठेका थिए जसलाई अर्को बैठकले अनुमोदन गर्ने बताइएको छ।

यी नियममा उभिएर साना ब्यानर र टीभी सिरियलहरूको सुटिङ सुरु हुनेछ। अजय देवगनको मैदान, आलिया भट्टको गंगुबाई काठियावाडी, सलमान खानको राधे, आमिर खानको लालसिंह चड्डाजस्ता ठूलो ब्यानरका फिल्मको सुटिङ रोकिएका छन्। यदि ठूला स्टार काम गर्न राजी भए भने यी फिल्मको सुटिङ पनि सुरु गर्न सम्भव हुने गिल्डको आकलन छ। यसैबीच, कोरोना भाइरस फैलन सुरु भएको चीनमा बन्द रहेका ७० हजार फिल्म हलमध्ये लगभग पाँच सयको हाराहारीमा खुलाइएको छ। हल खुलाउन र फिल्मका गतिविधि सुचारु गर्नेतर्फ चीन सरकार र चिनियाँ फिल्म व्यवसायीहरू लागिपरेका छन्। हलिउडको गतिविध भने शून्य प्रायः छ।

नेपालमा भने फिल्मको गतिविधि कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा संस्थागत बहस खासै सुरु भएको छैन। संघसंस्थाहरू राहत जुटाउन र बाँड्नमै सीमित छन्। फिल्म सुटिङ गर्ने माहोल कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा कुनै पहल भएको छैन।

हालै नेपाल चलचित्र निर्माता संघले आगामी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक बजेटमा चलचित्र क्षेत्रलाई विभिन्न पक्षबाट समेट्न सरकार समक्ष सातबुँदे सुझाव भने पेस गरेको छ। निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री युवराज खतिवडामार्फत उक्त सुझाव पेस गरेका हुन्। राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा दर्ता रहेको चलचित्र निर्माण उद्योगअन्तर्गतको स्वदेशी चलचित्र उद्योगलाई विशेष मान्यता, संरक्षण दिँदै स्वदेशी चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई विशेष प्राथमिकता दिन आग्रह गरिएको छ।

साथै कोभिड– १९ बाट प्रत्यक्ष प्रभावित चलचित्र उद्योगलाई संरक्षण हुने गरी बजेटमा स्थान दिन सुझाव दिइएको छ। चलचित्र उद्योगमा बक्स अफिसलाई प्रभावकारी बनाउन, चलचित्र निर्माणका लागि बैंकिङ कर्जा उपलब्ध गराउन, चलचित्रका लागि प्रयोग हुने उपकरण आयातमा भन्सार छुट दिन, सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो बनाउन, नेपाली मौलिक चलचित्रलाई अनुदान दिन, दूतावासमार्फत विदेशी भूमिमा चलचित्र महोत्सव आयोजनाको लागि बजेट विनियोजन गर्न तथा पर्यटनलाई प्रवद्र्धन गर्न सिनेमा उद्योगलाई उपयोग गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष आग्रह गरिएको छ। तर, फिल्मी माहोल सुचारु गर्नेतर्फ भने कुनै कदम उठाइएको छैन।

उता चलचित्र विकास बोर्डले पनि विभिन्न विधामा बजेट माग्ने तयारी त गरेको छ तर फिल्म उद्योग कसरी चलायमान बनाउने भन्नेतर्फ कुनै पहल भएको छैन। एक त बोर्ड नै नेतृत्वविहीन छ त्यसमाथि सञ्चार मन्त्रालयले अध्यक्षका लागि आवेदन मागेपछि पद कसले हत्याउने भन्ने राजनीतिले नै फिल्मका एजेन्डा ओझेलमा परेका छन्।

–एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.