मुख्यमन्त्री गुरुङले गरे पुल निर्माणको अनुगमन
पोखरा : कोभिड-१९ कोरोना भाइरस नियन्त्रण गर्न सरकारले चैत ११ गते देखि लकडाउन लागू गरेको छ।मुलुकभर विकास निर्माणको काम ठप्प भएको छ। गण्डकी प्रदेशमा भने लकडाउनको कारण रोकिएका विकास निर्माणको कामले निरन्तरता पाएको छ।
यसै बीच पोखरा महानगरपालिका २२ को चिसापानीस्थित फुस्रे खोलामा निर्माण भइरहेको पक्की पुलको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनुगमन गरेका छन् ।
२०७५ फागुन ७ गते मुख्यमन्त्री गुरुङले शिलान्यास गरेको प्रदेश सरकारको बजेट र योजनामा बनेको पुलको बिहीबार ढलान भइरहेको थियो । मुख्यमन्त्री गुरुङले पुल निर्माणको अवलोकन गर्दै लकडाउनका कारण निर्माणमा पर्ने समस्या समाधान गर्ने बताए । गुणस्तरीयतामा कम्परमाइज नगरी निर्माण समयमै सक्न निर्माण कम्पनीका प्रतिनिधिलाई मुख्यमन्त्री गुरुङले सुझाए ।
लकडाउन लम्बिदै गएपछि गण्डकी प्रदेश सरकारले बिचैमा रोकिएका विकास निर्माणको कामलाई निरन्तरता दिनेगरी वैशाख पहिलो हप्तामै कार्यविधि तयार पारेर सुरु गरेको उनले सुनाए ।
गण्डकी प्रदेश प्रवेश गर्ने नाकामा कडाई गर्ने, मान्छेको आवातजावन रोकेर लकडाउनलाई कडाइ गरेर पनि विकास निर्माणका कामलाई सामाजिक दूरी कायम गरी निरन्तरता दिने निर्णयअनुसार काम भइरहेको उनले बताए ।
संघ सरकारले पनि विकास निर्माण, कृषि, उद्योग लगायतका उद्योग संचालन गर्ने निर्णय गरेकोले थप सहज भएको,' मुख्यमन्त्री गुरुङले सुनाए । ०७७ को असार मसान्तभित्र सक्ने समयसीमा रहेको पुल ३ करोड ९८ लाख रुपैयाँमा प्रदेश सरकारको लागनीमा निर्माण भइरहेको हो ।
पुल निर्माणको जिम्मा श्रीगीता सिम्रन जेवीले पाएको थियो । पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानीमा समस्या नभए तोकिएकै समयमा पुल निर्माण सम्पन्न हुने गरी काम अघि बढेको निर्माण कम्पनीका ठेकेदार दलबहादुर रानाले बताए। पुल निर्माणमा २० जना मजदुर दैनिक काम गरिरहेको पनि उनले जानकारी दिए ।
पुल निर्माणका लागि आवश्यक गिटी, बालुवालगायतका सामग्री ल्याउन पासको व्यवस्था भइरहेको र यसलाई लकडाउन थपिएअनुसार थप्नु पर्ने उनले बताए । तनहुँको कोत्रेबाट पनि निर्माण समाग्री ल्याउनु पर्ने भएकोले कास्की र कास्की बाहिरका जिल्लाबाट समाग्री ल्याउन सहज भए समयमै पुल निर्माण सम्पन्न हुने उनले सुनाए ।
गण्डकी प्रदेशका सांसद राजिव पहारीले निर्माण समाग्री ढुवानी लगायतका समस्या परे प्रदेश सरकारले समाधान गर्ने भएकोले गुणस्तरीयतामा ध्यान दिदै समयसिमा भित्रै निर्माण सम्पन गर्ने गरी काम गर्न सुझाए । पुल निर्माणपछि पोखराबाट सिदार्थ राजमार्गको कुविण्डेसम्म पुग्न ९ किलो मिटर दूरी छोटिने बताइएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखराको पोखरा औधोगिक क्षेत्रका ३१ उद्योग पनि लकडाउनको एक महिनापछि संचालनमा आएका छन् । अत्यावश्यक सेवा खाध्यान्न, पानी, डेरीलगायतका उद्योगहरु र यी उद्योगहरुका लागि चाहिने सिपोटीभ उद्योग संचालनमा आएका हुन् ।
पोखरामा निमार्णकै क्रममा रोकिएका निजी घर निर्माणको काम पनि सुरु भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !