दुम्सीलाई थापेको पासोमा चितुवा परेपछि...
तानसेन : पाल्पाको रैनादेवी छहरा गाउँपालिका - भुवनपोखरी छचुवामा दुम्सीको पासोमा चितुवा परेको छ । दुम्सीले खेतबारीमा लगाएको अन्नपात खान थालेपछि बाटोमा पासो थापेको थियो। सोही पासोमा चितुवा परेको डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख मोहन पौडेलले बताए ।
चितुवा पासोमा अल्झिएको देखेपछि स्थानीयवासीले जनप्रतिनिधिलाई खबर गरेका थिए । चितुवा पासोमा परेको वडा अध्यक्ष लाल बहादुर दर्लामीले प्रहरी तथा डिभिजन वन कार्यालय पाल्पामा खबर गरेका थिए । डिभिजन वन कार्यालय पाल्पाका रेञ्जर यमलाल पोखरेलको नेतृत्वमा गएको इलाका प्रहरी कार्यालय मुझङको प्रहरी, रिव्दीकोट सब डिभिजन वन कार्यालयको टोली र स्थानीयवासीले ४ घण्टासम्म जोखिम मोलेर चितुवालाई खोरमा हाल्न सफल भएका थिए ।
बेहोस बनाई उद्धार गर्नुपर्ने भएपनि चितवन राष्ट्रिय निकुञ्जमा सम्पर्क गर्दा लकडाउनको कारण आउन नसकिने जानकारी भएपछि टिमले जोखिम मोलेरै चितुवाको उद्धार गरेको डिभिजन प्रमुख पौडेलले बताए ।
जेसिवी डोजरको बोकरले छोपेर चितुवालाई खोरमा हाली जालीले बन्द गरियोको थियो। उद्धार गरिएको चितुवा सदरमुकाम तानसेन ल्याइएको थियो । चितुवा हेर्न वन कार्यालयमा केही सर्वसाधरणसहित कर्मचारी पुगेका थिए । करिब डेढ/दुई वर्षको भाले चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाएको डिभिजन प्रमुख पौडेलले बताए । डिभिजन वन कार्यालयले यसअघि पनि विभिन्न स्थानमा जंगली जनावरको उद्धार गरेको थियो। 
रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी छचुवामा पासोमा परेको चितुवा ।तस्बिर : रेञ्जर यमलाल पोखरेल
प्रतिक्रिया दिनुहोस !