लकडाउनमा पानीको हाहाकार
तानसेन : तानसेनमा दिनहुँ वर्षा भइरहेको छ । पानीको श्रोत दिनहुँ बढिरहेको छ तर उपभोक्ताको घरमा भने दुई हप्ता हुँदासम्म धारामा पानी आएको छैन । कोरोनाको कारण लकडाउन भएपछि विधार्थी कर्मचारी तथा भाडामा बस्ने व्यक्तिहरु गाउँगाउँ जाँदा पानीको खपत कम हुँदासमेत उपभोक्ताको घरमा दुई हप्तामा एक घण्टा पानी नआउँदा तानसेनवासी समस्यामा परेका छन् ।
'दुई हप्तासम्म धारामा पानी आउँदैन, टंयाकरबाट पानी मगायो भने ५ दिनपछि मात्र आउँछ । यो अवस्थामा तानसेनमा कसरी बस्ने ?', तानसेन नगरपालिका वडा नं ३ का उपभोक्ता राजेन्द्र गोपाल सिंहले बताए । धारामा पानी नआएर अधिकांश तानसेनबासीहरु ढुङ्गेधारामा धाउन बाध्य छन् । तानसेन वडा नं ५ का जिवन थापाले ढुंगे धारामा पानी लिन जान पनि कोरोनाको संक्रमण हुने डर लाग्ने बताए । दुई हप्तामा पानीको धारा आउँदासमेत १ घण्टा मात्र पानी आउने गरेको तानसेन ४ का बुद्धबहादुर केसीले बताउँछन् । खानेपानी उपभोक्ता समिति जिम्मेवार नभएकै कारण खानेपानीको समस्या भएको केसीले बताए ।
कालीगण्डकी पानी माघभित्र आउने भनी तानसेनबासी तथा पत्रकारहरु माझ सार्वजनिक गरेको समितिले अहिलेसम्म कालीगण्डकीको पानी तानसेनसम्म ल्याउन सकेको छैन । तानसेनमा दैनिक २५ लाख लिटर पानीको आवश्यकता भए पनि हाल दैनिक रुपमा ५ लाख लिटर पानी मात्र पम्प हुँदै आएको छ । तानसेनमा भुल्के, सिस्ने, होलाङदी, तिनधारा क्षेत्रबाट लिफ्ट प्रणालीबाट पानी वितरण हुँदै आएको छ । तानसेन खानेपानी उपभोक्ता समितीले हालसम्म ३ हजार ५ सय निजीधारा वितरण गरेको छ भने नयाँ धाराको लागि करीव १ हजार ५ सय उपभोक्ताले निवेदन दिएका छन् । तानसेनको खानेपानी लिफ्टमा आधारित खानेपानी भएकोले विद्युत अवरुद्ध हुँदा समस्या हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !