घारखोला जलविद्युत आयोजनामा प्रभावितको अवरोध
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत आयोजनामा प्रभावितले अवरोध गरेका छन् । म्याग्दी हाईड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले ९ बुदे माग राख्दै मंगलबारदेखि निर्माण कार्य रोकेका हुन् ।
आयोजना निर्माण स्थलमा जाने मुल सडकमा पर्खाल लगाएर अवरोध गरिएको प्रभावित राधेश्याम खड्काले जानकारी दिए ।‘केही दिनअघि आयोजना, वडा कार्यालय र प्रशासनमा बुझाएको ध्यानाकर्षणपत्रको सुनुवाइ भएन,’ उनले भने, ‘काम रोकेर आन्दोलनमा उत्रिएका छौँ ।’
स्थानीयको अवरोधका कारण बाँध, सुरुङ र विद्युतगृह निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको पहुँचमार्गलाई सुरक्षित र व्यवस्थित बनाउने तथा सडक छेउछाउका बस्ति संरक्षणका लागि यसअघि गरेको प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने, बिस्फोट गराउँदा घरहरु चर्किएकाले मूल्याङ्कन गरी क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट पारदर्शी रुपमा परिचालन गर्नुपर्ने लगायतका माग राखेका छन् । २०७४ चैत महिनादेखि पूर्वाधार निर्माण सुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नम्बर वडाको सिमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध, पोखरेबगरमा विद्युतगृह र तीन किलोमिटर सुरुङ निर्माण गरिरहेको छ ।
कोरोना (भाइरस)को त्रास र बन्दाबन्दीका समयमा घर नगएका मजदुरहरु परिचालन गरेर सामाजिक दुरि कायम गरी सुरक्षा सतर्कता अपनाएर आयोजना निर्माणको काम भैरहेको थियो ।
आयोजनाका सामाजिक क्षेत्र हेर्न सम्पर्क व्यक्ति प्रकाशचन्द्र पौडेलले प्रभावितसँग भएको सहमति अनुसारको काम भैरहेको अवस्थामा बन्दाबन्दी भएपछि रोकिएको बताए । ‘काम गर्न खोज्दा खोज्दै पनि बन्दाबन्दीको परिस्थितिले नसकिएको हो,’ उनले भने, ‘यस्तो परिस्थितिमा भने अनुसार काम गर्न गाह्रो भएको स्थानीयले बुझुनुपर्ने हो ।’
प्रभावित क्षेत्रका बासिन्दा र आयोजनाका पदाधीकारीहरुबीच छलफल गराउन खोजे पनि बन्दाबन्दीका कारण नसकेको घारका वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । ‘बिवाद समाधान गर्न सहजीकरणको प्रयास गरे पनि आयोजनाका प्रर्वद्धक काठमाडौंमा भएकाले सकिएको छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस !