बुटवलको एन्फा सेन्टरको आइसोलेसनमा १४ कोरोना संक्रमित भर्ना
रुपन्देही : बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसन सेन्टरमा १४ जना कोरोना भाइस संक्रमितलाई भर्ना गरिएको छ।उनीहरु नवलपरासी र कपिलवस्तुका स्थानीय हुन् ।
धागो कारखानामा रहेको कोरोना अस्पतालमा ठाउँ अभाव भएपछि फुटबल मैदानसहितको एन्फा एकेडेमीमा पाँच नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमण भएका बिरामी राख्ने आइसोलेसन कक्ष बनाइएको हो ।
'भवन, मैदान, धारा पानी फूलबारी सबै क्षेत्र आइसोलेसन कक्षको लागि प्रयोग गरेका छौं,' मन्त्रालयका चिकित्सा महासाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले भने। राष्ट्रिय तथा स्थानीय फुटबल प्रतियोगिता हुने मैदान रहेकाले त्यहाँ रहने संक्रमितको लागि वातावरण खुल्ला हुनेछ । आइसोलेसन कक्षमा ५० वटा शैया राखिएको छ ।
३६ शैया र आइसीयुतर्फ थप ८ शैया रहेको धागो कारखानामा रहेको कोरोना अस्पतालमा ठाउँ अभाव भएपछि भैरहवाको भिम अस्पतालको आइसोलेसन कक्षमा लगिएको थियो ।
२५ जना भर्ना भएपछि भिम अस्पतालमा पनि ठाउँ अभाव भएको थियो । ठाउँ अभाव भएपछि दाङको बेलझुण्डी पठाउने गरिएको थियो । पछिल्लो समय कपिलवस्तुका धेरै संक्रमितलाई दाङ पठाइएको छ । भने केहीलाई जिल्ला भित्रै व्यवस्थापन गरिएको छ । यस्तै बुटवलको धागो कारखानामा रहेको कोरोना अस्थायी अस्पताल विस्तारको गर्ने भनिएपनि विस्तारको काम अझै सुरु भएको छैन ।
अहिलेसम्म कोरोना अस्पतालमा ३६ वटा र आइसीयुमा थप ८ वटा नै शैया रहेको अस्पतालका कन्सल्टेण्ट डा. सुदर्शन थापाले बताए । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास महासाखाका प्रमुख डा. चौधरीले शैया थप गरेर विस्तार गर्ने काम प्रक्रियामै रहेको बताए । उनले छिट्टै कोरोना अस्पतालमा सय शैया थप गने जानकारी दिए ।