पाल्पामा किट अभाव, भारतबाट आएकाहरुको कोरोना जाँच रोकियो
तानसेन : पाल्पामा कोरोना परीक्षण किट अभाव भएको छ । परीक्षण किट हुँदा सीमा नाकाबाट पाल्पा प्रवेश गरेको सयौं नागरिक परीक्षण नगरी गाउँगाउँका क्वारेन्टाइनमा पुगेका छन्।
केही दिनमा सीमानाकाबाट आएका पाल्पालीको दिनहुँ तानसेनमा परीक्षणका लागि स्वाब संकलन तथा आरडीटीहुँदै आएको थियो । केन्द्र सरकार र प्रदेश सरकारले पठाएका परीक्षण किट सकिएपछि पाल्पामा कोरोना संक्रमणको त्रास बढेको छ । प्रदेश र केन्द्र सरकारले पठाएका परीक्षण किट एक हप्तामै सकिएपछि भारतबाट आएका पाल्पालीको परीक्षणबिना क्वारेन्टाइनमा पठाइएको हो ।
पाल्पामा आपतकालीन परीक्षणका लागि मात्र किट भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । सिमानाकाबाट सजिलै तानसेन आएर परीक्षण गरेर गाउँ जाँदा ढुक्क हुन्थ्यो, गाउँ तथा परिवारलाई राम्रो हुन्थ्यो आफ्नो मन पनि ढुक्क हुन्थ्यो, पीर मानी मानी गाउँ जानुपरेको रैनादेवी छहरा गाउँपालिका ३ का डम्बर थापाले बताए ।
केही दिनसम्म सिमानाकाबाट आएका नागरिकको नियमितरुपमा परीक्षण गरिएको थियो।किट अभाव भएकाले केन्द्र तथा प्रदेश सरकारलाई जानकारी गराएका छौं आएपछि पालिकाको क्वारेन्टाइनमा पुगेर स्वाब संकलन गरिने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए।
जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले किट अभावमा नियमित स्वाब संकलन र आरडीटी परीक्षण रोकिएको जनाएको छ । अबका दिनमा कोरोना संक्रमणका लक्षण बाहेक साधारण व्यक्तिको स्वाब परीक्षण नगरिने प्रमुख जिल्ल अधिकारी यादव सुवेदीले बताए ।
प्रदेश सरकारबाट ३ वटा अवस्थामा मात्र स्वाब परीक्षण गरिने प्रजिअ सुवेदीले बताए । अस्पतालमा आएका बिरामीको लक्षणको आधारमा, संक्रमित व्यक्तिको नेगेटिभ नआउँदासम्म र संक्रमितको कन्ट्रयाक ट्रेसिङ्गका व्यक्तिको मात्र स्वाब परीक्षण गर्न प्रदेश सरकारबाट निर्देशन आएको प्रजिअ सुवेदीले बताए । हाल जिल्लामा परीक्षण किट अभाव भएकाले मन्त्रालय, विभाग तथा प्रदेश सरकारसँग किट माग गरिरहेको भएपनि देशभरी नै अभावको कारण जिल्ला आउन ढिलाई भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।
केहि दिनयता ६६४ जना सिमानाकाबाट पाल्पा आएकोमा २ सय जनाको मात्र स्वाब संकलन गरिएको र ४६४ जनाको परीक्षण बाँकी रहेको छ । पाल्पामा हालसम्म २६८ जनामा पीसीआर र ६ सय बढीमा आरडीटी परीक्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस !