करिनाको कारुणिक कथा

करिनाको कारुणिक कथा

अनन्त वाग्लेमान्छेको जीवन सोचेजस्तो कहाँ हुन्छ र ? निमेषभरमा जीवनको गोरेटो कता अनि कसरी मोडिन्छ भन्ने अनुमान कसले पो लगाउन सक्छ र ? यस्तै अकल्पनीय घटनाको सिकार भइन् अहिले रिल जिन्दगीमा सपना बुनिरहेकी करिना शर्मा। अत्यन्तै बियोगान्त फिल्मको कथाझैं अघि बढ्यो उनको जीवनको कथा।

विमल शर्मा र करुणा थापाले अन्तरजातीय प्रेम विवाह गरे जुन उनीहरूका अभिभावकलाई स्वीकार्य थिएन। आफ्नो प्रेम विवाहलाई घरले स्वीकार नगरेपछि उनीहरूले नयाँ सेराबाट जीवन सुरु गरे। एकअर्काको प्रेममा हराउँदै उनीहरूले जीवन सुखमय तरिकाले कटाइरहेका थिए। दिन रमाइलोसँग बितिरहेका थिए। यसैबीच प्रेमको चिनोको रूपमा २०५० साल वैशाख १९ गते उनीहरूको घरमा करिनाले जन्म लिइन्। त्यतिबेला उनीहरूको खुसीको सीमा रहेन। ललितपुर सानेपाको घरका दीपावली भयो, करिनाको आगमनमा।

करिनाका बुवाआमा भविष्यमा उनलाई के बनाउने भन्ने योजना बुन्न थाले। तर दुवैको योजना लगभग उस्तै। आमा छोरीलाई गायिका भएको हेर्न चाहन्थिन् भने बुवा छोरी हिरोइन भएर पर्दामा नाचेको हेर्न चाहन्थे। अर्थात् दुवैजना छोरीलाई कलाकार बनाउन चाहन्थे। अलिअलि बुझ्ने भएदेखि नै करिना भने बुवा र आमा दुवैको सपना पूरा गर्ने अठोटमा थिइन्। दुईबाट तीन भएको यो परिवार हाँसीखुसी रमाइरहेको थियो।

तर अफसोच, उनीहरूको यो खुसी भगवान्लाई धेरै दिन सैह्य भएन। करिना सात वर्षकी भएकी थिइन्। त्यतिबेला करिनाकी आमा निकै बिरामी भइन्। करिनाका बुवा आमालाई अस्पताल लैजान घरबाट हिँडे। करिना भने आमा निको भएर फर्कने आशमा कुर्दै थिइन्। अस्पताल नपुग्दै बाटोमा कार दुर्घटनामा परेर उनका आमाबुवा दुवैको निधन भयो।

एकसाथ बुवाआमा गुमाउँदा करिनाको जीवनमा अन्धकार छायो। एकै पटक आकाश खस्यो। धर्ती भासियो। एक्ली सातवर्षे बालिका कता जाने के गर्ने अन्धकारमय भयो उनको जीवन। धन्न, अन्धकार उनको त्यो जीवनमा आशाको दियो बनेर उभिए उनकै बुवाआमाका साथी गोपाल र सुन्तली बयलकोटी। उनीहरूले करिनालाई छोरीकै स्नेहमा हुर्काउने भएपछि उनको जीवनले नयाँ मोड लियो।

करिना शर्माले आफ्नो थरको पछाडि उनै कर्म दिने बुवाआमाको थर ‘बयलकोटी’ जोडेर जीवनको नयाँ यात्रा प्रारम्भ गरिन् अनि जन्मदिने बुवाआमाको छोरीलाई कलाकार बनाउने सपना पूरा गर्नतिर लागिन्। गायिका बनेर आमाको अनि नायिका बनेर बुवाको इच्छा पूरा गर्नु थियो। उनी अहिले त्यसकै लागि संघर्ष गरिरहेकी छन्। ‘कहाँ पुग्छु थाहा छैन तर यही बाटोमा हिँड्ने प्रयास गरिरहेकी छु’, उनले भनिन्, ‘यहाँ स्थापित गराउन त्यति सजिलो त रहेनछ तर मैले हार मानेकी छैन।’

अभिनय यात्रा सुरु गरेको छोटो समयमा उनले आफ्नो उपस्थिति जनाएकी छन्। खुल्ला किताब नामक टेलिफिल्मबाट अभिनय यात्रा सुरु गरेकी उनले पल्पसा डंगोलले निर्माण तथा निर्देशन गरेको टेलिफिल्म ‘दृष्टि’को आठ भागसम्म लगातार अभिनय गरिन्। करिनाले फिल्म नैना रेशम तथा बिर्खेलाई चिन्छस्मा सामान्य रोलमा अभिनय गरिन्।

नेपालकी छोरी हँु म, मेरो पनि जिन्दगीको अधुरो नै कथा छ, मेरो दिलमा बस प्रिय, उडुँ उडँु भन्छ यो मन, तिमीलाई किन खेलवाड लाग्छलगायतका केही गीतमा उनको स्वर सुन्न पाइन्छ। उनले आफ्ना केही गीतका म्युजिक भिडियो पनि बनाइन् तर पहुँच नपुगेका कारण प्रचारमा भने आउन सकेनन्। उनलाई आफूले गाएका गीत अझै चित्त बुझेको छैन। अझ धेरै गाउन मन छ उनलाई। जुनसुकै आकारको भए पनि अहिले उनी गायिका र नायिका दुवै भएकी छन्, तर अफसोच उनलाई यो रूपमा हेर्न खोज्ने उनका आमाबुवा भने उनलाई छोडेर धेरै टाढा कतै विलीन भए।

भगवान् बनेर आफ्नो जीवनमा आएका बयलकोटी बुवाआमालाई करिना धेरै सम्मान गर्छिन्। मानिस ठूलो जातले होइन दिलले हुन्छ भन्ने कुरा उनीहरूले प्रमाणित नै गरिदिए। करिनाको वास्तविक जीवन कथा कुनै फिल्मका भन्दा कम छैन। सुन्दै धेरैका आँखा रसाउँछन् तर उनले भने हिम्मत हारेकी छैनन्। आमाबुवाको सपना पूरा गर शुभकामना।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.