पाल्पामा भारतबाट आएका सबैको पिसिआर टेष्ट गरिने
तानसेन : पाल्पामा भारतबाट आएर क्वारेन्टाइमा बसेका सबैको पिसिआर टेष्ट हुँदैछ । पाल्पाका पालिकाहरुले आफैँ भिटिएम किट खरिद गरी क्वारेन्टाइमा बसेका सबै व्यक्तिको स्वाब संकलन सुरु गरेका छन् । समुदायमा कोरोना सक्रमण फैलिन नपाओस् भनी पाल्पाका पालिकाले आफैँ भिटिएम किट खरिद गरी क्वारेन्टाइमा बसेका सबै व्यक्तिको स्वाव संकलनमा जुटेका हुन् ।
पालिकाहरूले स्वाब संकलन गरी परीक्षणको लागि जिल्ला स्वास्थ्य कार्यालय मार्फत ५ नं प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाएको छ । पाल्पाको बगनासकाली गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, रामपुर नगरपालिका रैनादेवी छहरा गाउँपालिका, तिनाउँ गाउँपालिका र तानसेन नगरपालिकाले भिटिएम किट खरिद गरी परीक्षणको दायारा बढाएका हुन् । देश व्यापी रुपमा आरडिटी होइन, शत प्रतिशत पिसिआर परीक्षण गर भन्ने जनदवाव बढैसँगै पाल्पाका पालिकाहरुले आफैँ किट खरिद गरी परीक्षणको दायारा बढाएका हुन् ।
क्वारेन्टाइनबाट घर फर्कने दिनमा व्यक्तिको स्वास्थ्य अवस्था अनुसार स्थानीय तहले भिटीएम वा आरडीटी परीक्षण गर्ने गरी तयारीलाई अगाडि बढाएका छन् । कोरोनासँग मिल्दो लक्षण देखा परेमा समयमै स्वाब संकलन गरेर परीक्षणका लागि पठाउन सहज हुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । रम्भा गाउँपालिकाले पनि २ सय भिटिएम किट खरिद गरेको छ । गाउँपालिकाकै ल्याब असिस्टेन्टबाट क्वारेन्टाइनमा बसेका १ सय ५० जनाको स्वाब संकलन सुरु गरेको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
पालिकाले थप ४ सय किट किन्ने तयारीमा रहेको अध्यक्ष भण्डारीले बताए । माथागढी गाउँपालिकाले पहिलो चरणमा दुई सय भिटीएम किट किनेर पालिकाको ८ वटै वडामा स्वाव संकलन गरेको अध्यक्ष सन्तोष थापा मगरले बताए । केन्द्र र प्रदेशको भर परेर भएन,परीक्षण नै नगरी घर कसरी पठाउने भनेर आफैँ भिटीएम किट किनेर ल्याएको अध्यक्ष थापाले बताए । तिनाउँ गाउँपालिकाले ५ सय भिटिएम किट खरिद गरी २ सय जना क्वारेन्टाइमा रहेका व्यक्तिहरुको पिसिआर परीक्षण गर्ने अध्यक्ष ओमबहादुर थापाले बताए ।
रैनादेवी छहरा गाउँपालिकाले क्वारेन्टाइमा रहेका ४ सय ५० जना व्यक्तिको पिसिआर टेष्टको लागि वडा वडामा रहेका क्वारेन्टाइनमा स्वाब संकलन भइरहेको पालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । रैनादेवी छहरामा हालै गरिएको आरडिटी परीक्षणमा ६० जना व्यक्तिमा आरडिटी पोजिटिभ देखिएको स्वाब संकलन गरी परीक्षणको लागि पठाएको अध्यक्ष कार्कीले बताए ।
पाल्पामा कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने एक जनाको मृत्यु भएको छ । रैनादेवी छहरा र रिव्दीकोट गाउँपालिकाले लुम्विनी मेडिकल कलेजसँग मिली पब्लिक प्राइभेट पार्टनरसिप अन्तरगत संयुक्त रुपमा २८ बेडको आइसोलेसन संचालन गर्ने सहमती भएको छ । दुबै गाउँपालिका भित्रबाट संक्रमित भएमा बिरामीलाई कलेको आइसोलेसनमा राखिने छ ।
प्रतिक्रिया दिनुहोस !