भक्तपुरका चार युवाले बनाए सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन

भक्तपुरका चार युवाले बनाए सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच भक्तपुरका चार युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । भक्तपुरका दीपेश वेंजू, विकास प्रजापति, रत्नसुन्दर हाकुदुवाल र उमेश यादवले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् ।

चार युवामध्ये तीनजना त प्राविधिक हुन् । उमेश इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर, रत्नसुन्दर आईटी इञ्जिनियर र विकास अटोमोबाइल ओभरसियर हुन् । दीपेश टीभीएसको भक्तपुरस्थित सोरुम अटो टीभीएसका सञ्चालक छन् । चार लिटर क्षमताको कन्टेनर भएको उक्त सेन्सरयुक्त ह्याण्ड सेनिटाइजर मेसिनबाट प्रतिसेकेन्ड एक मिलिलिटर स्यानिटाइजर प्रवाह हुने दीपेशले जानकारी दिए । ‘सेन्सरयुक्त भएकाले मेसिनबाट हात नझिकेसम्म निरन्तर स्यानिटाइज भइरहन्छ’, उनले भने ।

उनका अनुसार उक्त मेसिनमा स्यानिटाइजरमात्रै होइन, स्याम्पु र झोल साबुनसमेत राखेर प्रयोग गर्न सकिन्छ । करिब एक फिट चौडाइ र डेढ फिट उचाइ भएको उक्त मेसिन आवश्यकता एवं ठाउँअनुसार भित्तामा झुन्ड्याउन र टेबलमा राख्न मिल्ने गरी बनाइएको विकास बताउँछन् । उनले आफूहरुले तयार गरेको सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन नेपालकै पहिलो भएकोसमेत दावी गरे ।

मेसिन बनाउने सोच कहाँबाट आयो ?

लकडाउनकै बीच एकदिन चारजना साथीहरुको भेटघाट हुँदा कोरोना भाइरसले सबै क्षेत्र लथालिंग छ, व्यापार घाटा चुलिँदो छ, के गर्ने भन्ने छलफल हुँदा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर बनाउने सोच आएको दीपेशले सुनाए ।

मेकानिकल इञ्जिनियर विकासले सुरुमा टनेल स्यानिटाइजर बनाउने प्रस्ताव गरेको बताउँछन् । तर टनेल स्यानिटाइजरको प्रयोग कममात्र हुने भएकाले बढी प्रयोग हुनसक्ने ह्याण्ड स्यानिटाइजर मेसिन बनाउने निष्कर्षमा पुगेको दीपेशले स्पष्ट पारे ।

ह्याण्ड स्यानिटाइजरमा पनि हातले छोइरहन नपर्ने सेन्सरयुक्त उपकरण बनाउनेमा चारैजना सहमत भएको इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियर उमेश सुनाउँछन् । ‘सर्वसाधारणको जनस्वास्थ्यलाई ख्याल गरेर छुन नपर्ने तथा कोरोना भाइरस संक्रमण हुनबाट बच्न र बचाउन ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छौं’, उनले भने । इञ्जिनियर उमेशले सेन्सरयुक्त टनेल स्यानिटाइजरसमेत निर्माण गर्ने कार्य पूरा भइसकेको जानकारी दिए ।

उनीहरुले उक्त ह्याण्ड स्यानिटाइजर परीक्षणको लागि हाललाई २० वटा बनाइसकेको आईटी इञ्जिनियर रत्नसुन्दरले बताए । ती सबै परीक्षणको रुपमा प्रयोग गर्नसमेत दिइएको उनको भनाइ थियो । उक्त परीक्षणपछि माग भए उद्योग नै स्थापना गरी व्यवसायिक रुपमा सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन उत्पादन गर्ने उनीहरुले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.