भन्सार छली ल्याएका सामग्रीसहित तीनजना नियन्त्रणमा
बैतडी : बैतडीमा भन्सार छलेर ल्याएको सामग्री प्रहरीले बरामद गरेको छ । करीब एक लाख ५० हजार बराबरको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा शनिबार राती खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका ८ स्थित जंगलको कम्पाउण्डमा रहेको एक घरबाट भन्सा छलेर ल्याएको सामग्री बरामद गरेको हो ।
प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीको नेतृत्वमा खटिएको टोलीले ३ पेटी बिडी, एक ट्युब र २ थान खुकुरी बरामद गरेको हो । सामग्रीसँगै उक्त घरमा सुतिरहेका शंकास्पद तीनजनालाई नियन्त्रणमा लिएको प्रहरीले नायव उपरीक्षक अधिकारीले बताए ।
दशरथचन्द नगरपालिका ८ का २२ वर्षीय आकाश चन्द, १९ वर्षीय दीपक भट्ट र २१ वर्षीय प्रकाश मार्कण्डलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।
उनले भने, 'महाकाली नदीबाट अवैध रुपमा ती सामग्री वारी ल्याएको बुझिएको छ । बराम सामान महाकाली भन्सार कार्यालयमा बुझाइएको छ।'