म्याद सकिन लागेका खाद्यान्न आयात

म्याद सकिन लागेका खाद्यान्न आयात

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका १ स्थित निङ्गलाशैनी महारुद्र ट्रेडर्सका सञ्चालक केशव भट्टले १५ दिनअघि मात्रै पिठो खरीद गरेका थिए । गत साता अनुगमन टोलीले जाँच गर्दा पिठोको म्याद सकिएको पाइयो । उक्त खाद्य सामग्री अनुगमन टोलीले नष्ट गर्यो । ‘मैले पनि मिति हेरिनँ । म्याद सकिने बेला भएको रहेछ’, उनले भने, ‘अनुगमन टोलीले जाँच गर्दा मात्रै मैले पिठोको म्याद सकिएको थाहा पाएँ ।’

यो एउटा उदाहरण मात्रै हो बैतडीका धेरै जसो व्यापारीले तराईबाट भित्रिएको सामग्री खरीद गर्दा उत्पादन मिति हेर्ने गरेका छैनन् । जसका कारण बजारमा म्याद गुज्रिएको सामग्री पुगिरहेको हुन्छ । बजार अनुगमन समितिले जिल्लाका विभिन्न बजारमा अनुगमन गर्दा झण्डै ४ लाखको अखाद्य र म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको छ । ‘हामीले बजार अनुगमन गर्दा १५ दिनअघि मात्रै खरीद गरेको पिठो, सोयाबडीसमेत म्याद नाघेको पाइयो । तराईतिरबाटै म्याद सकिने बेला सामग्री आयत हुने गरेको देखियो’, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले भने, ‘खाद्य सामग्रीको उत्पादन मिति नहेर्ने र उपभोक्ता पनि सचेत नहुँदा यस्तो समस्या आइरहेको छ ।’

बजार अनुगमनका क्रममा धेरैजसो सामग्री लेबल नभएका पनि फेला परेका छन् । बिक्रीका लागि राखिएका सोयाबडी, चिसो पेय पदार्थ, बियर र रंगहरु लेबल नभएका पाइएका लेखकले बताए । उनले भने, ‘हामीले अनुगमनका क्रममा फेला पारेका लेवल नभएका सामग्रीहरुको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाएका छौं ।’

तराईबाट बिक्रीका लागि पहाड पुर्‍याएका सामग्री कतिपय उतै म्याद गुज्रेका भए पनि व्यापारीले बील नराख्दा कारवाहीका लागि समस्या भएको लेखकले सुनाए । उनले भने, ‘कतिपय बिस्कुट, चाउचाउ म्याद सकिएपछि तराईका व्यापारीले यताका व्यापारीलाई बेचेको पाइएको छ । तर उनीहरुले बील नराख्ने गरेकाले कारवाहीका लागि समस्या भएको छ । बील लिनेदिने गरेको पाइएको छैन।’ खाद्य सामग्रीको उपभोग्य मितिका विषयमा व्यापारी र उपभोक्ता दुवै सचेत नहुँदा म्याद गुज्रेका सामग्रीको अझै पनि बिक्रीवितरण भइरहेको पाइएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख मायादेवी जोशीले बताइन् । उनले भनिन्, ‘उपभोग्य वस्तुको मिति हेरर उपभोक्तामा खरीद गर्ने बानी नबस्दासम्म म्याद गुज्रेका सामग्री बिक्री भइरहन्छन् । यसले मान्छेको स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ ।’

जिल्लाका ५ स्थानीय तहका करिब १ दर्जन बजारमा अनुगमन गर्दा म्याद गुज्रेका, अखाद्य सामग्री फेला परेको अनुगमन टोलीले जनाएको छ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सुर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा पिठो, सोयाबडी, चिसो पेयपदार्थ, चाउचाउ, बिस्कुट लगायतका सामग्री म्याद गुज्रेका पाइएको र ती सबै नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.