म्याग्दीमा सलहले धान नष्ट
बेनी : हिमाली जिल्ला म्याग्दीमा पनि सलह किरा भित्रिएको छ । बेनी नगरपालिका अन्नपूर्ण गाउँपालिका र मंगला गाउँपालिकामा सलह किरा भेटिएको हो । मंगला गाउँपालिकाको सयमुरे फाँटमा भर्खरै रोपिएको धानको बिरुवा सलहले नष्ट पारेको स्थानीय श्रीराम पौडेलले जानकारी दिए । दुर्गादत्त सुवेदीको ४ रोपनी भन्दा बढी खेतमा करिब एक हप्ताअघि रोपिएको धानका बिरुवाको पात सलहले काटेर नष्ट गरेको छ ।
‘ठूलो संख्यामा नदेखिए पनि खेतमा लगाएको धान र मकैको पात खाएको छ,’ पौडेलले भने, ‘खेतमा मरेको अवस्थामा भेटिएको किरा सलह भएको पुष्टि भएको छ ।’ सोमबार साँझ अन्नपूर्ण गाउँपालिकाको घारमा पनि एक हुल सलह भेटिएको स्थानीय रवि बरुवालले बताए ।
बेनी बजारको विभिन्न ठाउँमा पनि छिटपुट रुपमा सलह किरा भेटिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले थोरै संख्यामा म्याग्दीमा पनि सलह देखिएको कृषकहरुले जानकारी गराएका बताए । रघुगंगा गाउँपालिकाले एक किलो सलह नियन्त्रणमा लिनेलाई पन्ध्र रुपैयाँका दरले ब्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
गाउँपालिकाभित्र सलह किरा देखिएमा खाडल पारी गाडेर प्रकोप बढ्नबाट जोगाउने कृषकलाई प्रतिकेजी १५ रुपैयाँका दरले ब्यवस्थापन खर्च उपलब्ध गराउने निर्णय भएको अधिकृत सुवेदीद्धारा जारी विज्ञप्तिमा उल्लेछ । सहल नियन्त्रणका लागि आगो फुक्ने, चर्को स्वर आउने बाध्ययन्त्रहरु बजाउने, रुख हल्लाउने, छोप्ने वा धपाउने गरेमा यसले क्षति पुर्याउन नपाउने कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत गोविन्द पाण्डेले बताए ।
म्याग्दीमा अहिले खेतको मकैबाली भित्र्याउन सुरु भएको छ । बारीमा लगाएको मकैबाली हुर्किंदै छ । बारीमा कोदो र खेतमा धान रोप्ने चटारो छ । व्यावसायिक रुपमा टनेलबाहिर लगाएको तरकारीबालीमा क्षति पुर्याउन सक्ने भएकाले कृषकलाई सचेत हुन आग्रह गरिएको छ । यो एकै ठाउँमा नबस्ने जातको किरा हो ।
प्रतिक्रिया दिनुहोस !