क्षेत्रीय अस्पताल सुनसान
पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी प्रदेशकै रिफर अस्पताल हो। न्यून आय भएका नागरिकको समेत पहुँच भएको यो अस्पतालमा दैनिक १२ देखि १५ सयले उपचार गराउँदै आएका थिए। पछिल्लो समयमा कोरोना संक्रमण बढेसँगै सेवा लिन आउनेको संख्या घटेको अस्पताल प्रशासनले बताएको छ।
अस्पतालमा डायग्नोसिस गर्न पुगेको पोखरा २० का रेवतीविशाल शर्माले निकै डर मानेर अस्पताल आउने गरेको सुनाए। हप्ताको दुई पटक डायग्नोसिस गराउनुको विकल्प नरहेका उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएपछि छिमेकीले गर्ने व्यवहार फरक हुँदै गएको बताए।
अस्पतालमा एक सय जना नियमित डायग्नोसिस गर्न आउने गरेको अस्पताल प्रशासनले बताएको छ। नसासम्बन्धी समस्या लिएर उपचार गराउन आएकी कास्कीकोटकी सावित्रा सुवेदीले सबै अस्पताललाई कोरोना अस्पताल बनाए पछि आउनै त्रास भएको सुनाइन्।
सुरुमा छुट्टै भवनमा दस शैयामा कोरोना संक्रमितको उपचार हुँदै आएको थियो। भारतमा रहेका घर फर्किने बढेसँगै कोरोना संक्रमितको चाप बढेको निर्देशक अर्जुन आचार्यले जानकारी दिए।
सामान्य अवस्थामा दैनिक १२ सय देखि १५ सय बिरामी उपचार सेवा लिन पुग्ने अस्पतालमा अहिले दैनिक ५०/६० जना बिरामी मात्र आउने गरेको अस्पतालका सूचना अधिकारी नारायणप्रसाद आचार्य बताए। प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले सावधानी अपनाएर सामान्य बिरामीको पनि उपचार भइरहेको बताए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिरहेको स्याङ्जाका दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ३० जना कोरोना संक्रमीतको उपचार भइरहेको उनले जानकारी दिए।
अस्पतालमा ३ सय ७७ बेड छन्। दस बेड आईसीयू र ४ वटा भेन्टिलेटर अस्पतालमा रहेको पनि सूचना अधिकारी जानकारी दिए। तत्काल ५ वटा भेन्टिलेटर थप्ने योजनामा अस्पताल रहेको पनि उनले सुनाए।
उपचार गर्न आउनेका संख्या ज्यादै न्यून भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल आर्थिक संकटमा परेको छ। प्रतिष्ठानका ३ सय र नेपाल सरकारका ३ सय एक गरी ६ सय एक जना कर्मचारी रहेको अस्पतालमा आम्दानी घटेपछि तलब खुवाउन समस्या आचार्यले बताए। अस्पतालमा २ सय जना कर्मचारी करारमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस !