म्याद सकिन लाग्दा परीक्षण
बेनी : बेनी–पाखापानी सडक अन्र्तगत बेनी–६ को आँपरुख–देउराली सडकमा एक महिनाअघि सात सय ३५ मिटर नाली निर्माण भयो। बेनी नगरपालिकाले खुसीहोम प्रालिसँग एक किलोमिटर सडक कालोपत्रे, एक सय ३० मिटर ढलान र नाली बनाउन ८८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
एक करोड ३० लाख रुपैयाँ लागत अनुमान गरिएको योजना ४२ लाख रुपैयाँ घटेर ठेक्का लिएको ठेकेदारले अहिलेसम्म नाली मात्र बनाएको छ। सम्झौताको म्याद यही असारमा सकिदैछ। बनेको नालीको आधा भागमा गरिएको कंक्रिट पनि तोकिएको गुणस्तर अनुसार नभएको पाइएको नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए। उनका अनुसार रिबाउण्ड ह्याम्बर प्रयोग गरेर योजनाको गुणस्तर परीक्षण गरिएको छ।
कार्कीले भने, ‘आँपरुखदेखि अर्थुङ्गे देउराली सडकमा निर्मित नाली र जामुनाखर्क मावि जाने सडकमा गरिएको ढलानको गुणस्तर परीक्षण गरिएको छ, सात सय ३५ मिटर नाली मध्ये करिब तीन सय मिटर मात्र गुणस्तर परीक्षणमा सफल भएको छ।’
२८ दिनअघि ढलान गरिएको नालीले २० न्यूतन १२ मिलिमिटर स्क्वायर क्षमताको चाप धान्नुपर्नेमा सो नभएपछि गुणस्तर नपुगेको पहिचान भएको हो। मापदण्ड र गुणस्तर नपुगेको नाली भत्काएर पुनः बनाउन लगाइने कार्कीले बताए। उपभोक्ता समितिमार्फत जामुनाखर्क मावि जोड्ने सडकमा गरिएको ढलान भने तोकिएको गुणस्तर अनुसार पाइएको छ।
नगरपालिकाले रिबाउण्ड ह्याम्बरको प्रयोग गरेर विकास आयोजनामा प्रयोग भएका सिमेन्ट, बालुवा र गिटीको गुणस्तर परीक्षण सुरु गरेको छ।
यसअघि आँखाले नियालेर विश्वासको भरमा योजनाको अनुगमन हुने गरेको थियो। नाली, सडक ढलान, भवनको पिलर, ढलान लगायत रड राखेर सिमेन्ट, बालुवा र गिटी मिसाएर गरिएका कंक्रिटको गुणस्तर चाँच गर्न थालिएको छ। कार्यक्षेत्रमै लैजान सकिने रिबाउण्ड ह्याम्बरले कंक्रिटको बकेटलाई सक दिदाँ उसले गर्ने रिफक्लेट गर्ने स्थ्रेन्टको आधारमा तोकिएको गुणस्तर अनुसार भए नभएको पहिचान गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए।
तोकिएको गुणस्तर अनुसार निर्माण सामग्रीको मात्रा र अनुपात मिलाएर यथोचित तरिकाले प्रयोग गरे नगरेको पहिचान गर्न उपकरणको प्रयोग गरिएको हो। उपभोक्ता समिति र निर्माण व्यवसायीले कमसल सामग्रीको प्रयोग गर्दा योजनाहरुको दिगोपनामा असर परेको गुनासो छ। प्राविधिक ज्ञान, दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्री अभावका कारण मापदण्ड पुरा गर्न कठिनाई भएको खुसीहोम प्रालिका सञ्चालक मनोज कार्कीले बताए। उपभोक्ता, निर्माण व्यवसायी र प्राविधिक तथा अनुगमन समितिलाई सचेत र जवाफदेही बनाउन र विकास योजनामा भएको लगानीलाई उपलब्धिमुलक बनाउन गुणस्तर परीक्षणका उपकरणको प्रयोग गरेको नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !