पर्यटकलाई लक्ष्य गरी तातोपानी पोखरी
बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजामा पर्यटकलाई लक्ष्य गरी तातोपानीले स्नान गर्न सकिने पोखरी निर्माण भएको छ। रघुगंगा नदीको किनारमा रहेको मुहानबाट निस्कने प्राकृतिक तातोपानी संकलन गरेर शरीरलाई डुबाएर स्नान गर्न मिल्ने दुई वटा पोखरी निर्माण गरिएको हो। जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा पोखरी बनाइएको उपभोक्ता समितिका अध्यक्ष बिप्रसाद पुनले बताए।
‘एउटा २० जना र अर्को दश जना बस्न सक्ने क्षमताको पक्की पोखरी बनाएका छौं’, उनले भने, ‘पोखरी बनाउन कार्यालयले ३५ लाख रुपैयाँ सहयोग गरेको थियो।’ कोरोनाको जोखिम र बन्दाबन्दीका बिच पनि स्थानीय मजदुरलाई परिचालन गरेर पोखरी बनाएको अध्यक्ष पुनले बताए।
दर्मिजा गाउँको फेदीमा रहेको सो ठाउँमा ५० डिग्री सेल्सियसभन्दा बढी तातोपानी निस्कने मुहान छ। मुहानको पानी संकलन गरिएको पोखरीमा स्नान गरेमा छालासम्बन्धी, चोटपटक लागेको, बज्रिएको, सुन्निनेजस्ता स्वास्थ्य समस्या निको हुने जनविश्वास छ।
यसअघि त्यहाँ एउटा मात्र पोखरी थियो। पर्यटकलाई लक्ष्य गरेर नयाँ पोखरी बनाएको स्थानीय युवा सुबिन शेरपुजा पुनले बताए। दर्मिजा आउने पाहुना र पर्यटकलाई तातोपानीको पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइने उनले बताए।
पोखरीको नजिकै आकर्षक झरना पनि छ। यसअघि रघुगंगा गाउँपालिकाको सहयोगमा दर्मिजादेखि तातोपानीसम्म पुग्ने पदमार्ग निर्माण भएको थियो। नदी किनारमा तटबन्ध गरेर कटान रोकथाम गरिएको छ।
मगर समुदायको बाहुल्य रहेको दर्मिजा धौलागिरि, सेन्चुरी र आइसफल पदमार्गमा समेटिएको छ।
प्रतिक्रिया दिनुहोस !