ठेक्का लिँदै, अलपत्र पार्दै

ठेक्का लिँदै, अलपत्र पार्दै

गोरखा : ठेकेदारले निर्धारित समयभित्र काम नगर्दा १० वर्षअघि सम्झौता भएकासहित सातवटा पुल अलपत्र छन्। २०६८ असारमा सम्झौता गरिएको सोतीखोला पुलको निर्माण अहिलेसम्म ७० प्रतिशत मात्र भएको छ।

२५ मिटर लामो सो पुल निर्माण गर्न दुई करोड ३६ लाखमा रायमाझी इशान जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। बारकिलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजना कार्यालयका इञ्जिनियर राजेश यादवले भने, ‘पुलको दुवैतिरको जीप तयार भइसकेको छ, तर स्ल्याब राख्न बाँकी छ।’ आठ वर्षदेखि रोकिएको काम गत वर्षबाट सुरु भएर अहिले जीप तयार भएको उनले बताए। चीनको तिब्बतसँगको सीमा जोड्ने बेनिघाट, आरुघाट, लार्के सडकमा पर्ने सो पुललाई रणनीतिक महत्वको मान्ने गरिन्छ।

सोही सडकको अजुवाखोलामा निर्माणाधीन पुलको पनि अहिलेसम्म ४० प्रतिशत मात्र प्रगति भएको छ। कन्काइ गोरखा जेभीसँग आर्थिक वर्ष २०७३÷०७४ मा सम्झौता भएको थियो। सो पुल सोही वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिलेसम्म काम अघि नबढेको गोरखास्थित सडक योजना कार्यालयका इञ्जिनियर यादवले जानकारी दिए।

पाँच वर्षमा १२ प्रतिशत मात्रै प्रगति

पप्पु कन्स्ट्रक्सनले ६ वर्षअघि ठेक्का सम्झौता गरेको बुटार पुलको काम अहिलेसम्म १२ प्रतिशत मात्र सकिएको छ। २०७१ असार २९ मा ठेक्का सम्झौता भएको सो पुलको जग पनि तयार नभएको छैन।

विगतमा जे जति काम भए पनि यो वर्ष केही प्रगति नभएको इञ्जिनियर यादवले बताए। ‘त्रिशुलीपारि जीपको १८ मिटर जग खन्ने क्रममा १० मिटर खनेपछि धेरै ठूलो र कडा चट्टान भेटियो। त्यसलाई फुटाउने मेसिन त्यहाँ पुर्‍याउन नसकेपछि काम हुन सकेको छैन’, उनले भने, ‘सो चट्टान फुटाउन सरकारले पप्पु कन्स्ट्रक्सनलाई बेलिब्रिज दिने निर्णय गरेको थियो तर कार्यान्वयन हुन सकेन।’ सो कन्स्ट्रक्सनले २०७४ मङ्सिर ३० भित्र निर्माण सम्पन्न गर्ने गरी १७ करोड ४६ लाख ३३ हजार दुई सय ८६ रुपियाँमा सम्झौता गरेको थियो। ठेकेदार हरिनारायण रौनियारले पेश्कीस्वरुप एक करोड ४९ लाख रुपियाँ भुक्तानी लगिसकेका कार्यालयले जनाएको छ।

२०७६ असोजभित्र निर्माण सम्पन्न हुनुपर्ने पालुङ्टार नगरपालिकाको बडहरेखोला पुल पनि अलपत्र छ। ‘गत असोज मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी अधिकारी निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो’, इञ्जिनियर यादवले भने, ‘अहिले ९० प्रतिशत काम सम्पन्न भएर रोकिएको छ।’ काम अलपत्र पार्ने सबै ठेकेदारलाई सचेत गराइएको उनले बताए। सोतीखोला र अजुवाखोला पुल संघीय मन्त्रालयअन्तर्गतका हुन्।

प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय लम्जुङले २०७३ मा निर्माण सुरु गरेको १० किलोस्थित दरौंदी खोला पुल पनि अहिलेसम्म अलपत्र छ। गोरखा नगरपालिका र पालुङ्टार नगरपालिका जोड्ने सो पुल तीन वर्षमा जम्मा ३५ प्रतिशत मात्र प्रगति भएको कार्यालय प्रमुख राम पराजुलीले जानकारी दिए। धनथान एड्भेञ्चर कम्पनी प्रालिले एकातर्फको जग मात्र तयार गरेको उनले बताए। गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदीखोला पुलको अवस्था पनि अलपत्र छ। म्याद सकिँदा पनि पुलको प्रगति ७५ प्रतिशत मात्रै भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। गत असोजभित्र निर्माण सम्पन्न गर्ने गरी निलगिरी, अधिकारी जेभीले २०७४ मा सो पुल निर्माण गर्ने ठेक्का लिएको थियो।

पालुङ्टार नगरपालिकाको लकामखोला पुल पनि निर्धारित समयमा निर्माण भएको छैन। गत असोजसम्म निर्माण भइसक्नु पर्ने पुल जम्मा ८५ प्रतिशत मात्र तयार भएको कार्यालय प्रमुख पराजुलीले जानकारी दिए। सो पुल निर्माणको ठेक्का पनि अधिकारी निर्माण सेवाले लिएको थियो।काम गर्ने भन्दा पनि दलका नेतालाई अघिपछि लगाएर हिड्ने ठेकेदार भएपछि काम अलपत्र हुने गरेको इञ्जिनियर यादव बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.